Loading...
काठमाण्डु, १ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एवं विदेश सचिव जयशंकरको नेपाल भ्रमण समय सान्दर्भिक नभएको बताएका छन् ।
आफूलाई भेट्न लाजिम्पाटस्थित निवास पुगेका जयशंकरलाई उनले भ्रमणका लागि अहिलेको समय गलत भएको बताए ।
स्रोतका अनुसार प्रचण्डले भ्रमण दुई साताअघि वा संविधान भएको दुई सातापछि भएको भए स्वभाविक हुने धारणा राखेका थिए ।
‘तपार्ईंको भ्रमणको समय मिलेन’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कि दुई साताअघि नै आएको भए हुन्थ्यो, कि दुई सातापछि आउनुपथ्र्यो ।’
भेटमा जयशंकरले सकेसम्म आन्दोलनरत मधेस केन्द्रित दलका माग संविधानमा समेटेर जान सुझाव दिएका थिए ।
अध्यक्ष प्रचण्डले संविधानको टुंगो लागिसकेकाले मधेस केन्द्रित दलका माग तत्काल सम्बोधन गर्न नसकिने स्पष्ट गर्दै तत्काल राजनीतिक प्रतिबद्धता जनाउने र केही समयपछि तराईसहित थरुहट र जनजाति आन्दोलनका माग संशोधन मार्फत मिलाउन सकिने जवाफ दिएको उनका स्वकीय सचिव चुडामणि खड्काले काठमाण्डु टुडेलाई बताए ।
खड्काका अनुसार जयशंकरले तराई–मधेसमा जारी आन्दोलन लम्बिँदा सिमा क्षेत्रमा सुरक्षा चुनौती बढेको उल्लेख गरेका थिए ।
प्रचण्डले भने तराई र सिमा क्षेत्रको मात्र नभई समग्र नेपालको हितमा सोच्न आग्रह गरेका थिए । साँझ ५ बजेबाट सुरु भएको भेटवार्ता करिब ४५ मिनेटसम्म चलेको छ ।
भारतले मधेस केन्द्रित दललाई समेत सहमतिमा ल्याएर संविधान जारी गर्न दिएको दबाब अस्वीकार गर्दै दलहरुले संविधानको विधेयक पारित गरेपछि मोदीले नेपालको अवस्था बुझ्न जयशंकरलाई काठमाण्डु पठाएका हुन् ।
दुई दिने भ्रमणमा आएका जयशंकर शुक्रबार दिनभर राजनीतिक भेटवार्तामा व्यस्त रहे ।
Loading...
Social Buttons