Loading...
काठमाण्डु, ९ असोज– एकीृकत माओवादी परित्यागको घोषणा गर्न शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बाबुराम भट्टराईले प्रचण्डमाथि शालिन शैलीमा केही गम्भीर आरोप लगाए ।
भट्टराईले ३० वर्षे राजनीतिक सहयात्रा तोड्दै प्रचण्ड संविधानसभा र पछिल्लो राजनीतिक परिवर्तनको विरोधमा रहेको मात्र आरोप लगाएनन्, आफ्नै जोडबलले प्रचण्ड यो बाटोमा आएको दाबीसमेत गरे ।
संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको नारा दिँदा आफूलाई पार्टीले कारबाही गरेको चर्चा गर्दै उनले अन्ततः आफ्नै राजनीतिक लाइनमा मुलुक हिँडेको उल्लेख गरे ।
प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तितर्फ संकेत गर्दै उनले आफू टुकी बाल्ने र साइकल चढ्ने राष्ट्रवादको पक्षमा नभई बिजुलीबाट चल्ने गाडी र बिजुलीबाट चल्ने बत्ती बाल्ने प्रगतिशील राष्ट्रवादको पक्षमा रहेको बताए ।
हेर्नुस् पत्रकार सम्मेलनमा बाबुरामले प्रचण्डमाथि लगाएका आरोप
१. २०४६ सालको आन्दोलनका क्रममा संयुक्त राष्ट्रिय जनआन्दोलनको प्रवक्ता र संयोजकका हैयियतले मैले १० सूत्रीय माग प्रस्तुत गरेर संविधानसभाबाट संविधान बन्नुपर्छ भन्ने माग राखेको थिएँ । तर त्यतिबेला दुःखका साथ भन्नुपर्छ हाम्रै मोर्चाको एउटा घटक तत्कालिन मोटो मसाल जसको महासचिव हुनुहुन्थ्यो । अहिले हाम्रो अध्यक्ष कमरेड प्रचण्ड, उहाँले त्यसको घोषित रुपमै विरोध गर्नभयो । लेखै लेखेर यो संसोधनवादी नारा हो भन्नुभयो । त्यही कारणले गर्दा संयुक्त जनआन्दोलन विघटनसमेत हुनुपुग्यो । त्यो पार्टीको आधिकारिक नारा बन्न सकेन । फेरि पनि हामीले त्यसलाई निरन्तर उठाइराख्यौं ।
२. ०५२ साल फागुन १ गते महान जनयुद्ध सुरु हुँदा म तत्कालिन जनमोर्चाको अध्यक्षको हैसियतले ४० सूत्रीय माग प्रस्तुत गर्दा त्यसको १० औं बुँदामा नेपाली जनताका चुनिएका प्रतिनिधिमार्फत जनगणतन्त्रात्मक संविधान बनाउनुपर्छ भन्ने घुमाउरो भाषामा संविधानसभा नभनिकन (किनकी पार्टीमा कमरेड प्रचण्डहरु त्यो शब्द प्रयोग गर्न रुचाउनुहुन्न्थ्यो) त्यसैले घुमाएर नै जनताका प्रतिनिधिमार्फत संविधान बनाउने भन्ने शब्द मैले त्यहाँ राखेको थिएँ । पछि जनयुद्ध अगाडि बढ्दै गएपछि पार्टीभित्र एउटा बहस चल्दै गयो र ०५७ सालमा तत्कालिन माओवादी पार्टीको आधिकारिक दस्तावेजमा संविधानसभा राख्न हामी सफल भयौं ।
३. २०६० सालमा म दोश्रो वार्ताको नेतृत्व गरेर आउने क्रममा पहिलोपटक संविधानसभा के हो ? यसले कस्तो संविधान बनाउँछ ? त्यो संविधानका अन्तरवस्तु के हुन्छन् ? भन्ने कुरा खुला ढंगले राख्यौं । अहिले पनि अभिलेखमा त्यो प्राप्त छ । त्यही क्रममा अगाडि बढेर मैले लोकतान्त्रिक गणतन्त्रलाई तत्कालिन माग बनाउनुपर्छ भन्ने माग पार्टीभित्र राखें । पार्टीभित्र फेरि त्यसलाई संशोधनवादी, सुधारवादी भन्ने ठहर गरियो ।
२०६० साल पुसमा कान्तिपुर दैनिकमा त्यही आसयको लेख लेखेबापत नै त्यही सालको माघमा कमरेड प्रचण्डलगायतले मलाई कारबाही गर्नुभयो । त्यसको दुई दिनपछि राजा ज्ञानेन्द्रले ‘कू’ गरेर सत्ता हातमा लिए । त्यसको लगत्तै पार्टीमा मेले अगाडि सारेको लोकतान्त्रिक गणतन्त्रको धारणा नै सही रहेछ भन्ने बोध भयो र त्यसलाई पार्टीले फेरि ग्रहण गरेर पार्टीको चर्चित चुनवाङ बैठकले लोकतान्त्रिक गणतन्त्रको नारा स्विकार ग¥यो । त्यसैका आधारमा हामीले २०६२ साल मंसिर ७ गते १२ बुँदे समझदारी ग¥यौं ।
नेपालको इतिहासमा २०१४ सालपछि पहिलोचोटि सात दल र माओवादीका तर्फबाट संविधानसभाको नारा स्विकार गरियो । त्यसैमा आधारित भएर २०६२÷०६३ को आन्दोलन भयो । ०६३ साल मंसिर ५ गते वृहत शान्ति सम्झौता भयो त्यमसा हामीले विधिवत संविधानसभालाई संस्थागत ग¥यौं । त्यही आधारमा नै अन्तरिम संविधान बन्यो र अन्तरिम संविधानमा संविधानसभाको कुरा उठ्यो र अहिले संविधानसभाको दोश्रो निर्वाचनपछि बनेको संविधानसभाले संविधान घोषणा ग¥यो ।
मलाई अर्को एउटा खुसी के लाग्छ भने यो १२ बुँदे समझदारीदेखि वृहत शान्ति सम्झौता, अन्तरिम संविधान हुँदै र यो संविधानको पनि अन्तिम परिमार्जित मस्यौदा तयार गर्ने कामसम्ममा पार्टीले मलाई जिम्मेवारी दियो । इतिहासले पनि मलाई जिम्मेवारी दियो । मलाई एउटा मस्यौदाकार बन्न पाएकोमा अत्यन्त गर्वको अनुभूति हुन्छ ।
४. बाहिर देखिने गरी खुला मञ्चहरुबाट कड्किने र फेरि राति गएर लत्रक्क परेर उसका पाखुरा समार्ने नक्कली राष्ट्रवाद एउटा हुन्छ भने अर्को नेपालको विशेषता बुझेर सुगौलि सन्धि यताको जुन असमान सम्बन्धको यधार्थता छ त्यसलाई मध्यनगर गर्दै सम्पूर्ण नेपालीलाई लोकतान्त्रिक माध्यमबाट राष्ट्रिय एकता बलियो पार्ने र आर्थिक रुपमा भारतमाथिको परनिर्भरता अन्त्य गर्नका निम्ति आत्मनिर्भर हुने प्रगतीशील राष्ट्रवाद हो ।
एउटा टुकी बाल्ने र साइकल चढ्ने राष्ट्रवादकी साँच्चै नै विद्युतीय मोटर चढ्ने राष्ट्रवाद प्रगतिशील राष्ट्रवाद प्रश्न यहाँनेर हो । टुकी र साइकलको राष्ट्रवाद कि बिजुलीबाट चल्ने गाडी र बिजुलीबाट चल्ने बत्तीको राष्ट्रवाद, त्यसको चयन हामीले गर्नुछ । म चाहिं प्रगतिशील राष्ट्रवाद बिजुलीले चल्ने गाडी र बिजुलीले चल्ने बत्तिको पक्षपोषण गर्छु ।
५. आदरणी नेताहरुका जुन अभिव्यक्ति आइरहेका छन् । म अत्यन्त प्रसन्न छु । अत्यन्त खुसी छु । उहाँहरु त्यसमा दृढ रहनुहोस् । नेताहरुले नै त्यस्तो अडान लिइदिए भने धेरै राम्रो हुन्छ । आगामी दिनबाट कुनै पनि नेताहरुले चुनावी खर्च बेहोर्न अथवा सांसद खरिद बिक्री गर्न विदेशी दूतावासमा रकम माग्ने काम हाम्रो यहाँ रोकिने छ । म त्यो अपेक्षा गर्न चाहन्छु ।
हामीमध्ये कुनै पनि नेताले आफ्नो देशमा कुनै पनि पदको प्राप्ति गर्नको निम्ति विदेशी दूतावास धाउने प्रचलनको अन्त्य हुनेछ । आफ्ना सेकेण्ड डिजिभन, थर्ड डिभिजन उल्याउने छोराछोरीका निमित्त विदेशी दूतावासमा गएर छात्रवृत्ति माग्ने प्रवृत्तिको अन्त्य हुनेछ । आफू बिरामी हुँदा लाखौं करोडौंको खर्च विदेशीहरुबाट गराउने प्रचलनको पनि अन्त्य हुनेछ । आफ्ना दूतावस छाडेर विदेशीको आतिथ्य लिएर फाइभ स्टार सेभेन स्टार होटलमा बस्ने परम्पराको अन्त्य हुनेछ । त्यसो हुनसक्यो भने साँचै नै हामं्रो राष्ट्रवाद बलियो हुनेछ म त्यो अपेक्षा गर्छु । त्यसमा होस्टेमा हैंसे गर्न म तयार छु ।
Loading...
Social Buttons