Latest News

आलो घाउ लिएर महिला भेलामा

binita-limbu फुङलिङ बस्तै आएकी विनीता लिम्बू निधारको आलो घाउ लिएर सोमबार जिल्ला प्रहरी कार्यालय पुगिन्। दिदीको सहारामा पुगेकी उनले व्यथा सुनाउँदै भनिन्, ‘माघमा विवाह गरेयता तीनपटक यस्तै कुटाइ खाइसकें, कसरी बाचूँ?
आइतबार कुटाइ खाएपछि आफन्तको सहयोगमा जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएकी उनी घाउकेस फाराम भर्न प्रहरी कार्यालय आएकी थिइन्। त्यहीबेला अन्तरक्रिया हुँदै गरेको सुनेपछि हलमा प्रवेश गरिन्, पीडा देखाइन् र सुनाइन्। छ महिनाअघि मात्रै विवाह गरेको बताउने उनले पहिला छाती र मुटुमा कुट्ने गरेको र पछिल्लो पटक निधारमा हानिएको बताइन्। श्रीमान् दिनेश श्रेष्ठ
पक्राउ नपरेकोमा उनको प्रहरीप्रति आक्रोश थियो।
सदरमुकाम फुङलिङबाट एक दिनको पैदलमा रहेको साँवा गाविस ५ की फुपु डोमा शेर्पाले बाँकी उपचार गर्नै नसक्ने अवस्था रहेको बताइन। घरायसी विवादपछि जेठाजु वाङदी शेर्पाको प्रहारबाट गम्भीर घाइते उनको एउटा हात पुरै चल्दैन। मुठी परेको पञ्जा फुक्दैन।
उपचारका लागि हाङदेवा गाविसको बुङकुलुङ माइतीबाट चार लाख बढी खर्च गरिसकेको बताउने उनको पछिल्लो पटकको अप्रेसन खर्च माइतीगाउँका दुर्गा पतंवाले बेहोरेका छन्। शरीरमा ४५ टाँका सिलाइ गरेको पीडा सुनाउँदै भनिन्, ‘जेठाजु (अभियुक्त) भारत सिक्किममा छन् रे, जेठानी र उसका छोराहरू यतै छन् अहिलेसम्म कोही भेट्न आएको छैन।’
पीडितको गुनासो सुन्नकै लागि जिल्ला प्रहरी कार्यालयले पहिलो पटक आयोजना गरेको ‘पीडितसँग प्रहरी’ अन्तरक्रियामा सहभागी हुन सदरमुकाम फुङलिङबाट दुई दिन टाढाको गाविसदेखिका
आएका थिए। पापुङ, साँवा, मेहेले, सुरुमखिम गाविसका पीडितहरू आएका थिए।
खुला रूपमा प्रहरीका कमजोरी औंल्याइदिन र गर्नुपर्ने काम र आफ्नो समस्या खुलेर राखिदिन गरिएको आग्रहमा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइराला र सरकारी वकिल जुद्धबहादुर आले मगर छलफलमा थिए। उनीहरूले पीडितको मुद्दाको अवस्था र त्यसको प्रक्रियाबारे जानकारी गराएका थिए।
दल, नागरिक समाजका प्रतिनिधि, कानुन व्यवसायी एवं सञ्चारकर्मी समेत उपस्थित कार्यक्रममा अधिकांशले पक्राउपछि छोडिएका व्यक्तिले समाजमा फर्किएर फेरि हिंसा मच्चाउने र त्यसैका कारण आफूहरू असुरक्षित रहेको गुनासो गरेका थिए। २०६६ सालमा नै व्यक्ति हत्या गरेर गाउँमै रहेका मण्डेला नामले परिचित व्यक्तिलाई पक्राउ गर्न नसक्दा
गाउँमा त्रासको अवस्था रहेको गुनासो गरेका थिए।
कोइरालाले हालसम्म पक्राउ नपरेकालाई देश विदेश जहाँ भए पनि हरसम्भव छिटो पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

 
Loading...