Loading...
काठमाडौं, साउन १९ । जयप्रकाश प्रसाद गुप्ताको नेतृत्वमा रहेको तराई मधेस राष्ट्रिय अभियानले मधेसी मोर्चाको भण्डाफोर गरेको छ ।
मंगलार अभियानका तर्फबाट जारी गरिएको विज्ञप्तिमा मधेसी मोर्चाले घोर अनैतिक, अतार्किक र जनताप्रति कृतघ्न कार्य गरेको उल्लेख छ ।
मधेसी मोर्चाले सत्तामा जानका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रसँग सम्झौता गरेको भन्दै अभियानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो सत्ता समर्पण र मुद्दा विसर्जनवादी सोचका मधेसी मोर्चामा रहेका सत्तालम्पट पार्टीहरुको घोर अनैनिक, अतार्किक र मधेसी जनताप्रतिको घोर कृतघ्न कार्य हो ।’
तराई मधेस राष्ट्रिय अभियानले यसलाई मधेसी जनताको आत्मसम्मान समाप्त पार्ने घोर अनैतिक कार्य मानेको छ । ‘मोर्चाको यस कुकार्यले मधेस आन्दोलनमा शहीद भएका र घाइते पीडितहरुको तेजोबध गरिएको ठान्दछ, तराई मधेस राष्ट्रिय अभियान मधेसी मोर्चाको यस दुष्कार्यका प्रति अफसोच व्यक्त गर्दछ ।’
संविधान जलाउनु, संविधानको पुनर्लेखनको माग गर्नु अनि सोही संविधानको अक्षरसः कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ प्रधानमन्त्रीको उम्मेदवार भएका सुशील कोइरालालाई भोट हाल्नु, फेरि प्रधानमन्त्री केपी ओली सरकारको विरुद्ध अविश्वास प्रस्तावमा सहीछाप गरी भोट हाल्नु, सर्वत्रको आलोचनालाई बेवास्ता गरी अर्को सरकारका प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डको लिखित प्रस्तावको समर्थक बन्नु र उनका लागि मतदान गर्ने निर्णय गर्नुले मधेसी मोर्चा आजको दिनको सत्ता पक्ष भएको प्रष्ट भएको पनि अभियानद्वारा विज्ञप्तिमा जिकिर गरिएको छ ।
‘यति हुँदाहुँदै मधेसी मोर्चाले आफूलाई मधेसी जनताका लागि संघर्ष गरिरहेको भन्नु पानीमाथिको ओभानो भन्ठान्नु हो,’ विज्ञप्तिमा भनिएको छ ।
मधेसी मोर्चाको अरु थप कुकृत्य र विभत्स अवसरवादी चरित्र आउन बाँकी नै रहेको भन्दै अभियानले यी सब तथ्यहरुको मधेसी जनताले सही मूल्यांकन गर्नुपर्ने खाँचो औंल्याएको छ ।
Loading...
Social Buttons