Loading...
काठमाण्डु, २३ साउन– फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफूलाई जसरी पनि मन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दबाब दिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार प्रधानमन्त्रीसँग भेटेका गच्छदारले मन्त्री बनाउन दबाब दिएका हुन् । गच्छदारले अन्तिम समयमा केपी ओली सरकारबाट फिर्ता भएर प्रचण्डको पक्षमा मतदान गरेका थिए ।
ओली सरकारमा उनी उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार करिब आधा घण्टा भएको कुराकानीमा गच्छदारले प्रधानमन्त्रीमा निसर्त सहयोग गरेको भन्दै सरकारमा आफ्नो पार्टीलाई सम्मानजनक स्थान दिन माग गरेका थिए ।
‘मैले तपाईंलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको छु’, गच्छदारको भनाइ उद्धत गर्दै स्रोतले भन्यो, ‘कसरी हुन्छ मन्त्री बनाउनुस्, म सरकारमै आएर तपाईंलाई सफल पार्न सहयोग गर्न चाहन्छु ।’
जवाफमा प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासँग समेत सल्लाह गर्नुपर्ने भन्दै केही दिन कुर्न आग्रह गरेका थिए ।
केही दिनअघि सार्वजिनक रुपमै गच्छदारले आफूलाई मन्त्री बन्नबाट कसैले रोक्न नसक्ने अभिव्यक्ति दिएका थिए ।
तर मधेसी मोर्चा बिच्किने डरले प्रधानमन्त्री गच्छदारलाई मन्त्री बनाउन हच्किएका हुन् ।
आफूहरु आन्दोलनमा हुँदा सरमारमा बसेर दमनकारी भूमिका खेलेका गच्छदारलाई मन्त्री बनाए सत्ता गठबन्धनबाट अलग्गिने चेतावनी मोर्चाको छ ।
काँग्रेस र माओवादी केन्द्रसँग तीन बुँदे सहमति गरेर मोर्चाले प्रचण्डलाई प्रधानमन्त्रीमा भोट दिएको थियो ।
तीन बुँदे सहमति कार्यान्यवनको सुरुआत गरेर सरकारले सकारात्मक वातावरण निर्माण गरेको भन्दै मोर्चा सरकारमा जाने तयारीमा छ ।
Loading...
Social Buttons