Latest News

जुनसुकै बेला गोली हान्न पाउने विशेष टोली परिचालित गर्दै त्रिभुवन विमानस्थलमा सुरक्षा सतर्कता उच्च

काठमाडौं ५ साउन । गत असार २५ गते साँझ एक भारतीय महिला आत्तिँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको प्रहरीमा पुगिन् । उनले आफनो २ लाख रुपैयाँ भारु चोरी भएको कुरा एक्कै सासमा सुनाइन् । प्रहरी पनि चकित पर्‍यो र सोध्यो कहाँ थियो पैसा कसरी हरायो त ? आफ्नो ब्यागेजमा भएको पैसा होटलमा पुगेर हेर्दा नभेटिएको ति महिलाले प्रहरीलाई बताइन् ।

ड्युटीमा भएका प्रहरीले भारतीय महिला सुनन्दा अंकितालाई एउटा उजुरी दिन भने । भारतबाट धार्मिक भ्रमणका लागि नेपाल आइपुगेकी पर्यटकको पैसा विमानस्थलमै चोरी भएको उजुरी परे पछि प्रहरीको पनि बेचैनी बढ्यो ।


विमानस्थलमा खटिएको प्रहरी टोलिले तत्काल अनुसन्धान अगाडि बढायो तर केहि पत्ता लागेन । विमानस्थलको निगरानीका लागि राखिएका सिसि टिभी क्यामेराले आगमन कक्षमा देखिएका तीन जनाको हर्कतलाई शंकास्पद देखायो । तर मान्छे भेटिने सम्भावना थिएन ।

ति शंकास्पद भनिएका मान्छे फेरि पनि देखिन सक्ने तर्फ सचेत हुँदै प्रहरीले निगरानी बढाइरहेको थियो । भोलिपल्ट अर्थात २६ गते बिहानै शंकाको घेरामा रहेका तिनै तीन जना फेरि विमानस्थलमै देखिए, लगतै पक्राउ पनि परे । उनीहरु थिए पेरुबाट चोरी गर्दै नेपालसम्म आइपुगेका तीन जना कुख्यात चोरहरु ।

विमानस्थलको क्यामेराले कैद गरेको दृष्य अनुसार ति चोरहरुको निगरानी र शैली चानचुने छैन । जुन ठाउँबाट ति भारतीय महिलाको पैसा चोरी भएको छ त्यहि ठाउँमा प्रहरीहरु ओहोर-दोहोर गरिरहेका हुन्छन् । अन्य यात्रुहरुको संख्या पनि बाक्लो हुन्छ । तर सबैको आँखा छलेर उनीहरु ब्यागेजबाट नगद चोर्न सफल भएका छन् ।
विमानस्थलमा हतियारधारी प्रहरी परिचालन

एकातिर पेरुदेखि आएको चोरले प्रहरीलाई छक्यायो, अर्कोतिर विभिन्न देशहरुमा आतंककारी आक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले विषेश सुरक्षा सतर्कता अपनाएको छ ।

विषेश गरेर बंगलादेशमा भएको आतंककारी आक्रमण पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीको विषेश टोलि परिचालन भैरहेको डिआइजी निरौलाले बताए ।

एसपीको कमाण्डमा त्रिभुवन विमानस्थलको सुरक्षाको पूर्णरुपमा हतियारले सजिएका प्रहरीको विषेश टोलि परिचालन भैरहेका छन् । डिआइजी निरौलाले भने ‘विमानस्थलमा सुरक्षा चुनौति बढेको छ । चेकिङमा विषेश टोलि परिचालन भएका छन् । उनीहरु जुनसुकै बेलामा फायर गर्न सक्छन् ।’

पोशाकमा खटिएको टोलिले हतियारसहित विमानस्थलमा गस्ती गर्छन् भने भित्र चेकिङमा खटिने अधिकृतहरुसमेत हतियारसहित तयारी अवस्थामा परिचालन भैरहेको उनले बताए ।

त्यसो त विमानस्थलको प्रवेशद्वार (गोल्डेन गेट)देखि भित्री भागसम्म सादा पोशाकका टोलि पनि उत्तिकै परिचालन भैरहेको प्रहरीको दाबी छ । बिहानदेखि हतियार तथा विष्फोटक पदार्थ पत्ता लगाउन सक्ने कुकुर पनि परिचालन हुन्छन् । त्योसँगै सेना र अन्य सुरक्षा निकायले पनि निगरानी बढाइरहेको डिआइजी निरौलाले बताए ।

साभार अनलाइन खबर बाट
Loading...