Latest News

नेपालमा सरकार परिवर्तन हुँदा छिमेकीबाट भोजभतेरको तमाशा किन ? : प्रम ओली


काठमाडौं, ३० असार – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सरकार बन्दा वा परिवर्तन हुँदा छिमेकीले भोज गर्नु आवश्यक नभएको बताएका छन् । रक्षा मन्त्रालय र सुरक्षा परिषद्ले बिहीवार राजधानीमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अहिले नेपालमा सरकार परिवर्तनको चर्चा चलेको र त्यो सुन्नासाथ छिमेकीले भोजभतेर गरिरहेको बताए । ‘सरकार नयाँ बन्छ पनि, परिवर्तन हुन्छ पनि,’ कार्यक्रममा ओलीले भने, ‘सरकार परिवर्तनको जुन चर्चा अहिले छ, यसमा विदेशीले तमाशा गर्ने, भोजभतेर गर्ने किन ? यो भोजभतेरको तमाशा बुझिनसक्नु छ ।’ आफू नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएकै दिन दुई दिनअघि मधेशी मोर्चाका नेता र नेपाली काँग्रेस केही नेतासँग नेपालका लागि भारतीय राजदूत रणजीत रायले भेट गरी सँगै डिनर खाएको तर्फ संकेत गर्दै प्रधानमन्त्रीले उक्त धारणा राखेका हुन् । नेपालमा संविधान बनेपछि भारतले नाकाबन्दी लगाएको र नाकाबन्दी लगाउँदा पनि सरकारले राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनै काम नगरेको उनले उल्लेख गरे । ‘राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिन सरकारले जे भूमिका निर्वाह ग—यो, भारत अहिले त्यसको बदला लिन खोज्दैछ,’ ओलीले भने । प्रधानमन्त्री ओलीले माओवादी सरकारबाट बाहिरिनुका पछाडि पनि भारतकै हात रहेको उल्लेख गरे । सरकार परिवर्तनका लागि दलहरूबीचका बैठक स्वचालित नभई रिमोट कन्ट्रोल र ब्याट्रीचार्जबाट भएको ओलीले उल्लेख गरे । प्रधानमन्त्रीले कार्यक्रममा राजनीति झुटको खेती नभएको धारणा राखे । आफूले सन्तुलित परराष्ट्र नीति अपनाएको दाबी गरे । कुनै पनि छिमेकी नेपालसँग डराउन वा आत्तिनपर्ने अवस्था नरहेको उनले उल्लेख गरे । 
Loading...