Loading...
काठमाडौं, १५ साउन–नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न वालुवाटार पुग्नु भएको छ । सहमतिको सरकारका लागि राष्ट्रपतिले दिएको समयसीमा सहिनु एकदिन अघि पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई लिएर शनिवार वालुवाटार पुग्नु भएको हो ।
ओली नेतृत्वको सरकारबाट हठात बाहिरिएपछि कांग्रेसको समर्थनमा बहुमतीय सरकार गठनको तयारीमा रहनु भएका प्रचण्डले प्रधानमन्त्री ओलीसँगको भेटमा ‘धर्म निर्वाहका लागि मात्रै’ कुरा गर्न आएको जानकारी गराउनु भएको थियो ।
भेटमा एमालेका तर्फबाट पार्टी उपाध्यक्ष, रक्षा तथा गृहमन्त्री भीम रावल पनि सहभागि हुनुहुन्थ्यो । भेटको सुरुमै प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई प्रश्न गर्नु भएको थियो– राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको म्याद सकिनै लागेका बेला कुरा गर्न आउनु भयो । तपाईंहरुसँग गठबन्धन बनाएको कांग्रेसले ठूला दल मध्ये एउटा दल प्रतिपक्षमा रहनु पर्छ भनेर संसदमै घोषणा गरेको छ । त्यही पार्टीसँग बहुमतीय सरकारका लागि गोप्य सहमति गरेर सहमतिको सरकार भन्दै आउनु भएको छ । कांग्रेसको अडान परिवर्तन भएको हो कि तपाईंहरु देखाउनका लागि मात्रै भेट्न आउनु भएको हो ?’
प्रधानमन्त्रीको यस्तो प्रश्नपछि माओवादी अध्यक्ष प्रचण्डले आफूहरु बहुमतीय सरकार गठनकै तयारीमा रहेको र धर्म निर्वाह गर्नका लागि मात्रै कुरा गर्न आएको वताउनु भयो । ‘कांग्रेसले नै दिंदैन सहमतीय सरकार गठन गर्न त्यसमा हामी बाँधिएका छौं, आज त धर्म निर्वाहका लागि मात्रै आएका हौं’ प्रचण्डको भनाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो ।
फेरि प्रधानमन्त्री ओलीले माओवादी नेतृत्वलाई स्पष्ट हुन आग्रह गर्नु भयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तपाईंहरु धर्म निर्वाहका लागि मात्रै आएको हो भने हामी सहमतीय सरकारलाई कार्यसूची नै ठान्दैनौं, जनतालाई एउटा कुरा सुनाएर अर्काे काम गर्ने आदत हामीसँग छैन ।’
एमाले अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले मंसिरमै स्थानीय निकायको चुनाव गर्ने माओवादी समेतको सरकारले बनाएको कार्यसूची बदलेर चैतमा चुनाव गर्ने निर्णय सुनाइएको प्रति आपत्ती जनाउनु भएको थियो । ‘मंसिरमा स्थानीय निकायको चुनाव गर्ने कार्यसूची तपाईंहरु समेत भएर बनेको हो, फेरि कांग्रैससँग बसेर चैतमा स्थानीय चुनाव भन्ने निर्णय गर्नु भयो भन्ने सुनिन्छ । कोसँग सल्लाह गरेर निर्णय गर्नु भयो ?’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमाले तपाईंहरुको निर्णय सुन्ने पार्टी होइन, आफ्नो निर्णयको औचित्य सावित गर्नुस् हामी राष्ट्रको हितमा आफ्नो भूमिका निर्वाह गर्छाैं ।’
प्रधानमन्त्री ओलीले विकासमा आफ्नो सरकारले थालेका कार्यक्रम कसरी सूचारु हुन्छन् भन्ने पनि प्रचण्डसँग सोध्नु भएको थियो । ‘तपाईंले थालेका काम दूरगामी महत्वका छन्, हामी त्यसलाई निरन्तरता दिन्छौं, द्रूतमार्ग नेपालकै लगानीमा बनाउँछौं, पेट्रोलियम पदार्थको उत्खनन् पनि अघि बढाउँछौं, रेलमार्ग बनाउने काम पनि रोक्दैनौं’ प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । जवाफमा प्रधानमन्त्री ओलीले आफूले थालेका कामप्रति नयाँ बन्ने सरकारको ब्यवहार हेरेर आफूल्े भूमिका तय गर्ने वताउनु भएको थियो ।
Loading...
Social Buttons