Loading...
जनकपुर, २ साउन । मधेसवादी दलको आन्दोलनपछि तराईमा पहिलोपटक युवाहरु स्वस्फूर्त रुपमा वर्तमान सरकारको पक्षमा प्रदर्शनमा उत्रिएका छन् ।
आइतबार मुसलधारे वर्षाको प्रवाह नगर्दै युवाहरुले तराईको धनुषा जिल्लामा केपी शर्मा ओली नेतृत्वको सरकारका पक्षमा प्रदर्शन गरेका हुन् । मधेसवादी दलको किल्ला मानिने जनकपुरमा स्वतन्त्र युवाहरुले ‘केपी ओली जिन्दावाद’ भन्दै सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।
युवाहरुले ‘निकम्मा संसद विघटन गर, नयाँ निर्वाचन घोषणा गर’, ‘केपी ओली सरकार जिन्दावाद’ भन्दै नारा लगाएका थिए ।
र्यालीसहितको प्रदर्शनमा सहभागी एकजना युवा विमल साहले ओली सरकारले ल्याएको मधेसमुखी विकास बजेटलाई रोक्न भारतले सरकार ढाल्न खोजेको भन्दै त्यसको विरुद्धमा आफूहरु सडकमा उत्रिएको बताए । उनले भने– ‘इतिहासमा पहिलोपटक मधेसमुखी विकास बजेट आएको छ । सुनकोसी डाइभर्सन, हुलाकी राजमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट्र ट्रयाकजस्ता विकास परियोजना निर्माण हुने वातावरण बनेकोमा नयाँ सरकार बनाएर त्यसलाई रोक्ने खेल भइरहेको हामीलाई शंका लागेको छ । मधेसको विकासका लागि ओली सरकारलाई नै निरन्तरता दिनुपर्छ ।’
साहले ओली सरकारले ल्याएका विकासका योजना भारतले लागु नहुन भन्ने चाँहेको र त्यसैका लागि ओली सरकार गिराउने खेलमा लागेको आरोप लगाए ।
जनकपुरदेखि शीतचोकसम्म जागरुक युवाहरुले संसद विघटन गर, मध्यावधिक चुनाव गर भन्दै संसद विघटन गर्न चर्काे दबाब दिएका थिए ।
Loading...
Social Buttons