Loading...
भक्तपुर । पूर्वउद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई युगपुरुषको सङ्ज्ञा दिनुभएको छ ।
आज युवा सङ्घ नेपाल भक्तपुर नगर कमिटीले आयोजना गरेको बृहत् युवा भेला एवम् युवा पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले जनताको नजरमा प्रधानमन्त्री ओली युगपुरुष भएको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सरकार छाड्ने बेलासम्म पनि नेपालको राष्ट्रियतालाई विदेशीसामु झुक्न नदिएको र छोटो अवधिमा पनि जनताको पक्षमा कार्यक्रम ल्याएको भन्दै युग पुरुषको सङ्ज्ञा दिनुभएको हो ।
उहाँले भन्नुभयो–“भारतीय नाकाबन्दीको सामना गर्दैै आमनागरिकको मनमनमा राष्ट्रियताको भावना जागृत गराउने वर्तमान सरकारले जनमुखी बजेट र कार्यक्रम ल्याउँदै चीनसँगको उपलब्धिमूलक सम्झौता गर्न सफल व्यक्ति प्रधानमन्त्री ओली अहिलेका युगपुरुष हुन् ।”
निर्वाचन र संविधान कार्यान्वयनमा अग्रसरता लिएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार छाडेर अविश्वास प्रस्ताव दर्ता गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई इतिहासले माफ नगर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो – “माओवादीप्रतिको जनताको झिनो विश्वास पनि अब चुँडिएको छ, अबको निर्वाचनमा जनताले त्यसलाई सावित गरिदिनेछन् ।”
मनमोहन अधिकारीको नौ महिने शासनकाललाई जनताले आजसम्म पनि स्मरण गरेको चर्चा गर्दै उहाँले ओली नेतृत्व सरकारलाई पनि आमनागरिकले कहिल्यै नभुल्ने उहाँको जिकिर थियो ।
कार्यक्रममा उहाँले अमेरिकी गृह मन्त्रालयले यसवर्षको मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित गर्दै हालै प्रदान गरेकोे पुरस्कार प्राप्त गरेर देशकै नाम उच्च राखेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई ताम्रपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।
त्यस अवसरमा युवा सङ्घ केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, महासचिव किरण पौडेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष बच्चन देउजालगायतले एमालेले अब आगामी निर्वाचनलाई लक्षित गरेर देशव्यापी कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । रासस
Loading...
Social Buttons