Loading...
काठमाडौं, १६ साउन । पूर्वमन्त्री लालबाबु पण्डितले मधेसवादी दलका केही नेतालाई ‘विदेशी गुलाम’ भनेका छन् ।
सप्तरीको तिलाठीमा दशगजामा भारतको बाँध भत्काउदा भारतीयको आक्रमणबाट घाइते भएकालाई भेट्न मनमोहन अस्पताल पुगेका पण्डितले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नामै लिएर उनलाई ‘विदेशी गुलाम’ भनेका हुन् ।
एक टेलिभिजन अन्तर्वार्तामा महतोले दशगजामा भारतले बाँध बनाउनु स्वभाविक कुरा हो भन्दै तिलाठी घटनालाई राष्ट्रियतासँग जोड्न नहुने बताएका थिए ।
यो बयानबाट महतोले मधेशी समुदायको खिल्ली उडाएको लालबाबुको विश्लेषण छ । ‘महतो लगायतका केही नेताहरु अरुका गुलाम हुन् भन्ने स्पष्ट छ । उनीहरु नेपाली नागरिकता बोकेका बिदेशी गुलाम हुन् भन्ने तिलाठी घटनामा दिएको प्रतिक्रियाले प्रष्ट हुन्छ,’ लालबाबुले भने ।
भारतीय पक्षसँग लड्दा घाइते भएका देवनारायण यादव र दुर्गानन्द झाको काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुलाई भेट्न लालबाबु आइतबार दिउँसो मनमोहन अस्पताल पुगेका थिए ।
भेटमा लालबाबुले राष्ट्र र राष्ट्रिता बचाउन गरेको बलिदानको प्रशंसा गर्दै आफू सधै राष्ट्र, राष्ट्रियता र स्वाभिमानी नेपालीको पक्षमा रहेको बताए । उनले कसैका अगाडि नेपाली आजसम्म नझुकेको भन्दै देशको निम्ति कहिल्यै पनि झुक्न नहुने बताए ।
Loading...
Social Buttons