Latest News

आफन्तलाई गुमाउँदा आँशु झार्न नपाई श्रीपेच लगाउनु मेरो बाध्यता थियो : पूर्वराजा ज्ञानेन्द्र


काठमाडौं । वि.स. २०६५ जेठ २९ गते । दुई साता अघि बसेको संविधानसभाको बैठकले राजसंस्थाको अन्त्य गर्दै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक घोषणा गरेको थियो । यसपश्चात राजसंस्था इतिहासमा सिमित बन्न पुग्यो । आफ्नो पालामा साढे दुई शताब्दीकोे इतिहासको विरासत बोकेको राजसंस्थाको अन्त्यले दुखितत बनेका पूर्वराजा ज्ञानेन्द्र शाहको पत्रकार सम्मेलन मुलुकमा जति चासो थियो त्यत्तिकै बाहिरी मुलुकले पनि महत्वको साथ हेरिरहेका थिए । राजदरबार छाड्न संविधानसभाले दिएको १५ दिनको समय सकिनै लाग्दा पूर्व राजा ज्ञानेन्द्र शाहले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार आयोजनाको सूचना सञ्चारगृहमा दरबारबाट दिइएको थियो ।

राजसंस्था अन्त्यसँगै धेरैले अड्कल गर्थे– अब पूर्वराजा ज्ञानेन्द्र विदेश जाने छन् । कोही भन्थे होइन मुलुकभित्रै रहेर राजनीतिक गतिविधि गर्छन । अब ज्ञानेन्द्रले व्यापार गर्छन भन्नेहरुको जमात पनि भेटिन्थ्यो । यही बीचमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई निकै चासो र महत्वका साथ हेरिएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी राजदबारमा पत्रकार सम्मेलन गर्ने भएपछि म र अर्का एक जना साथी दरबार तर्फ लाग्यौं । राजदरबारको पश्चिम गेट पुग्दा एकाध जना पत्रकार र केही सर्वसाधारण जम्मा भएका थिए । हामी दरबार भित्र छिरिहालेनौं । विस्तारै दरबार अगाडि भीड बढ्दै गयो । भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे परिरहेको थियो । कहिले चर्काे घाम त कहिले बाक्लो बादल लागेर पानी पर्ला जस्तो मौसम थियो । चर्काे घामको प्रवाह नगरि राजदबार अगाडि सर्वसाधारणहरुको भीड निकै बढ्यो ।

बाहिरको वातावरण केहीबेर नियालेर हामी दरबारभित्र छिर्न गेटमा पुग्यौं । परिचय पत्र देखाउँदै आगन्तुक पुस्तिकामा नाम लेखेर हामी दरबार भित्र छिर्यौं । दरबारभित्र छिर्दै गर्दा पूर्वराजा ज्ञानेन्द्रको पत्रकार सम्मेलनको जति चासो थियो त्यत्तिकै दरबार हत्याकाण्डको स्मरण भयो । दरबारको मुख्य मोहडामा अवस्थित निकै अग्लो गौरीशङ्कर नाम दिइएको प्रवेशद्वारबाट भित्र प्रवेश गरेपछि कास्की बैठकमा पुगिन्छ । सोही कास्की बैठक पत्रकार सम्मेलनको आयोजनास्थल थियो ।

यसअघि सो कास्की बैठकमा राजकीय भ्रमणमा नेपाल आएका विदेशी राष्ट्राध्यक्षहरूको स्वागत, प्रधानमन्त्री, संवैधानिक अङ्गका प्रमुखहरूको सपथ ग्रहण समारोह, पूर्वराजामा राजदूतहरूले ओहोदाको प्रमाणपत्र चढाउनेजस्ता महत्वपूर्ण समारोहहरू हुन्थे । तर, त्यस दिन पूर्वराजा ज्ञानेन्द्र शाहले पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

हामी पुग्दा केही टेलिभिजनका बाहेक अरु पत्रकारहरु आइसकेका थिएनन् । बरु सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति थियो । उनीहरुको हाउभाउ र बोलीचालीले मुलुकबाट राजसंस्था नहटेको झल्को दिन्थ्यो । केही समयपछि पत्रकारहरु आउने क्रम बढ्न थाल्यो । देशविदेशका पत्रकारहरुको संख्या निकै बढ्यो, जसले गर्दा कास्की बैठक साघुँरो महसुस भयो । र पनि तत्काल स्थान परिवर्तनको सम्भावना थिइन या गरिएन ।

पत्रकारहरुको हो–हल्ला बढ्दै गयो कास्की बैठकमा । कुर्सीको संख्याभन्दा निकै धेरै पत्रकाहरु भएपछि कोही उभिए, कोही कुर्सीमा बसे त कोही भुइँमै बसेर समाचार सम्प्रेषण गर्ने तयारी गरे । पत्रकारहरु जम्मा भइसकेपछि कास्की बैठकको पूर्वी साइटबाट पूर्वराजा ज्ञानेन्द्र सुरक्षाकर्मीको घेरामा रहेर पत्रकार सम्मेलन स्थल आए । पत्रकार सम्मेलनस्थलमा आउँदा उनको अनुहार निकै प्रफुल्लित देखिन्थो । पछिल्लो राजनीतिक घटनाक्रम र भएको परिवर्तनले उनलाई कुनै असर पारेकै छैन जस्तो भाव ज्ञानेन्द्रको अनुहारमा झल्किन्थो ।

पत्रकार सम्मेलनमा उनको लागि राखिएको कुर्सीमा आएर बसेका ज्ञानेन्द्रले केहीबेर सहभागी पत्रकारहरुको भीडलाई नियाले । अनि आफ्नो कोटको खल्तीबाट पे्रस वक्तव्यका लागि तयार गरिएको पत्र झिके । निकै गम्भीर तर सचेतका साथ प्रेस विज्ञप्तिको पत्र वाचन गर्न थाले ।
मुलुकको एकतामा राजसंस्थाको अहम भूमिका रहेको र मियोको रुपमा काम गर्दै आएको बताएका उनले आफूले पनि मुलुकै लागि काम गर्दा विभिन्न आरोप खेप्नु परेको दुखेसो पोखे ।

‘तत्कालीन हिन्दू अधिराज्य एवं बुद्धको जन्मभूमि नेपालमा शान्ति आओस् भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो, त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको कुरा मैले स्वीकार गरिसकेको छु’, आफ्नो असफलतालाई उनले स्वीकारे ।
राजदरबार हत्याकाण्ड पछि गुमेका आफन्तको शोकमा आँशु बगाउन नपाउँदा त्यसबेला आफ्नो परिवारमाथि लगाइएको विभिन्न आरोप सहनुको विकल्प नरहेको उनले पत्रकार सम्मेलनमा भने ।

दरबार हत्याकाण्ड र त्यसपछि आफूले भोगेको पीडाका बारेमा पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले भनेका थिए, ‘२०५८ साल जेठ १९ गते राति दोस्रोपटक फेरि एउटा अकल्पनीय त्रासदीपूर्ण घटना राजदरबारमा घट्दा मेरो पूजनीय दाजु–भाउज्यू लगायत आफ्ना आत्मीय परिवारको वीभत्स विनाश भएको र ती प्रिय आदरणीय परिवारजनका शवमा आँसु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन नसक्ने परम्परा र कर्तव्यको जञ्जीरमा बाँधिन विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिन।

यसै अवस्था र घटनालाई लिएर केही र कतिले अत्यन्त निर्विवेक र निर्दयतापूर्वक म र मेरो परिवारमाथि लगाएका कठोर आरोप र लाञ्छनालाई हामीले सहनुबाहेक न कुनै उपाय नै थियो, नत हाम्रो तर्फबाट बोलिदिने नै कोही थिए ।’आफू र आफ्नो परिवारको बद्नाम गर्ने कार्य निरन्तर रुपमा भइरहेको भन्दै ज्ञानेन्द्र शाहले भने, ‘तत्कालीन परिस्थिति र घटनाबाट फाइदा उठाउन म र मेरो परिवारप्रति पूर्वाग्रही भई विभिन्न माध्यमबाट म र मेरो परिवारलाई बदनाम गर्ने काम निरन्तर रूपमा भइरह्यो, जुन मेरोलागि अति दुःखदायी थियो र छ पनि।’ दरबार हत्याकाण्डमा लागेको गोली हाल सम्म पूर्वरानी कोमलको शरीरमा रहेको पनि बताए ।

वितेका घटनाको स्मरण र आरोपको खण्डन गरिरहेका ज्ञानेन्द्रले आगामी दिनको विषयमा कतिखेर मुख खोल्लान् भने सबैको कौतुहलको विषय बनेको थियो । २०६२÷०६३ सालको जनआन्दोलन पश्चात राजसंस्था र राजाको भूमिका कटौती गरेको थियो भने संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते मुलुकबाट राजसंस्था अन्त्य भएको घोषणा गर्दै १५ दिन भित्र शाह परिवारलाई दरबार छाड्न निर्देशन पनि दिएको थियो । ज्ञानेन्द्रले दरबार छाड्छन् भने जानकारी भएपनि उनले औपचारिक रुपमा यसबारे केही बोलेका थिएन र त पत्रकार सम्मेलन मलाई मात्रै होइन सबैका लागि चासोको विषय बनेको थियो ।

सबैको चासो र जिज्ञासाको अन्त्य गर्दै घुमाउरो शब्द प्रयोग गरि ज्ञानेन्द्रले आफूले संविधानसभाको निर्णयलाई स्वीकारेको बताए । आफू देश भित्रै रहने र मुलुकको वृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहेको बताए । पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘जनताको चाहना र इच्छालाई नै सर्वोपरि मान्ने राजपरम्पराअनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु। मैले देश छाडेर जाने सोच बनाएको पनि छैन।

म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु ।’ दरबार छाड्ने र मुलुकमै बस्ने बताएका उनलाई चिन्ताको विषय बनेको थियो – श्रीपेच र राजदण्डको सुरक्षाको । उनले भने, परम्परागत रूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भई शाहवंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षित रूपमा राख्नेगरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहनेगरी मैले हस्तान्तरण गरेको छु।’

चार पेजको आफ्नो लिखित धारणा राखिसकेपछि पूर्वराजा ज्ञानेन्द्रले पत्रकारहरुसँग गफिन चाहेको संकेत दिएका थिए । उनले पत्रकारहरुको सवालको जवाफ दिने तयारी पनि गरेको देखिन्थ्यो । आफ्नो लिखित धारणा पश्चात पत्रकारहरु तर्फ हँसिलो अनुहारले हेरिरहेका थिए । तत् पश्चात पत्रकारहरुको हो–हल्ला बढ्यो । केही पत्रकारहरुले अपशब्दहरु प्रयोग गरि जिज्ञासा राख्न थाले । त्यसपछि ज्ञानेन्द्र आफ्नो कुर्सीबाट उठे । उनलाई जताबाट जसरी सुरक्षाकर्मीले ल्याएका थिए उतै लगे ।

जसरी पत्रकार सम्मेलनस्थलमा आएका थिए उनी उसैगरी दुई हात जोडेर नमस्कार गर्दै विदा भए । उनी विदा भएसँगै आफ्नो पेशागत मर्यादा विपरित पत्रकारहरुको हो–हल्ला मात्रै भएन केही पत्रकारहरुले कुर्सीहरु भाँचे । ज्ञानेन्द्र बसेको कुर्सीमा बसेर आफूलाई महान सम्झने पत्रकारहरु पनि देखिए । कोही दरबार भित्र सजाइएका सजावटमा उभिएर तस्विर लिन थाले । कोही समाचार सम्प्रेषण गरिरहेका थिए । पत्रकार सम्मेलन सकिँदा निकै ठूलो पानी परिरहेको थियो । यसर्थ पत्रकारहरु बाहिरिन पाएनन् । झनै केही पत्रकारका गलत हर्कत बढ्यो । तर, यि सबै गतिविधि नियालिरहेका सुरक्षाकर्मीले कुनै प्रतिक्रिया देखाएनन् ।

पानी रह्यो । पत्रकारहरु बाहिरिए । दरबारको दक्षिण गेटमा पानीमा भिजेर सर्वसाधारणहरु दरबार भित्र हेरिरहेका थिए । अपरान्ह पत्रकार सम्मेलन सकिएपनि पूर्वराजा ज्ञानेन्द्रको दरबार बर्हिगमन पनि सोही दिन थियो । जसले गर्दा हामी दरबार आसपास बसिरह्यौं । पानी पर्ने र रोकिने क्रम चलिरहेको थियो । साँझ पर्न खोज्दै गर्दा पश्चिम गेटमा मानिसहरुको भीड बढ्दै गयो ।

२०६५ साल जेठ २९ गते साँझ नारायणहिटी राजदरबारको पश्चिम गेटबाट परिवारका साथ हात हल्लाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो तीन चार पुस्ताले मुलुकको शासन चलाएको दरबार छाडेर बाहिरिए । पूर्वराजा ज्ञानेन्द्रले राजदरबार छाडेको आज आठ वर्ष पूरा भएको छ । उनले दरबार छाड्दै गर्दा के भने भन्ने जति चासो थियो त्यत्तिखेर दलका नेताहरुले देखाएको आश्वासन पनि उत्तिकै महत्वपूर्ण थियो ।

त्यतिखेर देखाइएको आश्वासनहरु मध्ये मुलुकको विकास समृद्धिका र जनताका अधिकार, महङ्गी, रोजागारीको सृजना दलहरुले के कति गरे त्यो हामी माझ छर्लङ्गै छ । साथै आठ वर्षको अन्तरालमा पूर्वराजा ज्ञानेन्द्रले गुमाउरो पारामा राजनीतिक दलका नेताहरुलाई बेला–बेलामा औंला ठड्याउने काम भने गरिरहेका छन् ।


Loading...