Latest News

दही बेचेर पढाएको छोरा बेलायतमा कृषि वैज्ञानिक


काठमाडौं, जेठ २९ – ‘ल आउनुहोस् आउनुहोस् कस्तो मिठो छ, एकपटक चाखेर त जानुस्, अर्कोपटक आउँदा बोलाउनै पर्दैन’ भक्तपुरको सानोठिमीमा दही बेच्दै गरेका ५३ वर्षका गौतम श्रेष्ठ ग्राहक बोलाउँदै गर्दा भेटिनुभयो ।
भक्तपुरकै बोडे घर भएका उहाँले सानोठिमीमा दही बेच्न थालेको १५ वर्ष भइसकेको छ । उहाँले  एक दिनमा २  सय कतरा दही बेच्नुहुन्छ । एउटा कतराको ३० रुपैयाँ पर्छ । दिनमा ६ हजारको दही बेच्दा मासिक एक लाख ८० हजार रुपैयाँ कमाई हुन्छ । भाडा, दूध र मसला किनेर बचेको रकम सबै उहाँको चोखो आम्दानी हो । ‘गर्मी बढिरहेको बेला दही खान कसलाई पो मन नपर्ला र’ उहाँ भन्नुहुन्छ ।
भक्तपुरको जुजु धौ भन्ने बित्तिकै सबैको जिब्रो रसाउँछ । दूध किनेर राम्ररी उमालेपछि भाँडाभाँडामा राखेर जमाउने गरिन्छ । दही बनाउन प्रयोग गरिने उच्च गुण भएको कालो माटोको भाँडा, दहीमा राख्ने मसला र धानको भूसमाथि कतरामा दूध राखेर दही जमाउने प्रक्रिया हो । प्लास्टिकको भाँडामा राखे घाममा तातो हुन्छ, माटोको भाँडा त नेपाली फ्रिज जस्तै हो । माटोको कतरामा जमाएको दही जति स्वादिलो हुन्छ, प्लास्टिकमा जमाएको दहीमा त्यस्तो हुँदैन । 
श्रेष्ठले भन्नुभयो ‘कतिपय दौँतरी कामको लागि खाडी मुलुक गएँ । म भने आफ्नो पुर्ख्यौली पेसा दही व्यापार गरेरै घरपरिवार पालेको छु ।’ बिहानै उठेर घरको काम सकेपछि दहीको खर्पन बोकेर सानोठिमी पुग्ने उहाँका छोरा अहिले बेलायतमा कृषि वैज्ञानिक छन् । ‘दही बेचेरै पढाएको छोरो बाहिर छ, अब यहाँ पढेर काम गर्न लाज हुन्छ तर मैले दही बेचेर आएको कमाईले घरखर्च चलाएको छु’ गर्वका साथ उहाँले भन्नुभयो ‘बाटोमै बसेर दही बेचेपनि म खुसी छु ।’

उहाँले यहि काम गरेको ३८ वर्ष भयो । दसकौंदेखि ‘जुजु धौ’ को नामले ख्याती कमाएको भक्तपुरको दहीको व्यापार अहिले बढेकोे छ । भक्तपुर घुम्न आउने पर्यटकलाई पनि जुजु धौले आकर्षित गर्ने गरेको उहाँ सुनाउनुहुन्छ । त्यसो त दही शाकाहारी र मांसहारी दुवैले मन पराउँछन् । दही स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायी मानिन्छ । गर्मी मौसममा शरीरमा गर्मी बढ्न नदिन चिसो दहीको आफ्नै महत्व छ । दहीले पचाउने, रगत शुद्ध गर्ने, कलेजालाई बलियो बनाउने, कब्जियत हुनबाट बचाउने डाक्टरको भनाई छ । 
Loading...