Latest News

वीरगन्ज नाकाबाट इन्धन आयात ठप्प

वीरगन्जः भारतको बरौनीबाट वीरगन्ज नाका हुँदै नेपालका लागि आयात हुने इन्धन ढुवानी बिहीबारदेखि ठप्प भएको छ ।

रक्सौलमा भारतीय प्रहरीले नेपाली टयाङ्करका चालकलाई कुटेको विरोधमा चालकहरुले बिहीबारदेखि इन्धन ढुवानी ठप्प पारेका हुन् । 


भारतीय प्रहरीले नेपाली ट्याङकर चालकलाई कुटपिट गरेको विरोधमा चालकहरुले इन्धनको ढुवानी गर्न नमानेपछि बरौनीबाट वीरगन्ज नाका हँुदै नेपाल भित्रिने इन्धनको ढुवानी ठप्प भएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्ज डिप्पोका प्रमुख खिलेन्द्र कार्कीले बताए ।

चालकहरुले ढुवानी ठप्प पारेका कारण बिहीबार बरौनीबाट वीरगन्ज नाका हुँदै एक टयाङ्कर पनि इन्धन नभित्रिएको खिलेन्द्र कार्कीले जानकारी दिए ।

‘बिहीबार भारतको बरौनीबाट एउटा टयाङ्कर पनि नेपाल भित्रिएन’, उनले भने, ‘यताबाट पनि खाली टयाङ्करहरु बरौनी गएनन् ।’ 

भारतीय प्रहरीको कुटाइ खाने डरले बिहीबार टयाङ्कर चालकहरुले वीरगन्ज रक्सौलको सीमावर्ती क्षेत्रमा रहेको शंकराचार्य प्रवेशद्वारमा टयाङ्करहरु थन्काएर बसेको उनले बताए । 

भारतीय इन्स्पेक्टर साहले लगातर तीन दिन देखी नेपाली ट्याङकर चालकलाई कुटपिट गर्दै आएकाले चालकहरुले सुरक्षाको माग गर्दै इन्धन ढुवानी ठप्प पारेको कार्कीले बताए ।  

रक्सौलमा रहेको भारतीय प्रहरी थानाका इन्चार्ज प्रहरी निरिक्षक (इन्स्पेक्टर) राजेश्वर प्रसाद साहले गत म्ङगलबार एकजना र बुधबार चारजना नेपाली टयाङ्कर चालकहरुलाई मरणासन्न हुने गरि कुटेको कार्कीले बताए । 

इन्स्पेक्टर साहले मङगलवार ४ ख २८०६ नम्बरको ट्याङ्करका चालक बाबु तामाङलाई र बुधबार अरु चारजना चालकलाई कुटेको कार्कीले जानकारी दिए । 

रक्सौलका इन्स्पेक्टर साहले घूस बापत मागेको रकम नदिएपछि त्यसैको निहुँमा नेपाली टयाङ्कर चालकलाई कुटेको कार्कीले बताए । 

‘पैसा खान नपाएको झोंकमा भारतीय पुलिसले कुटेको हो’, उनले भने, ‘यसबारेमा नेपाल प्रहरीको समन्वयमा भारतीय प्रहरीसँग कुराकानी भइरहेको छ ।

आयल निगमका अनुसार बाराको अमलेखगन्ज र काठमाडौंका लागि भारतको बरौनीबाट वीरगन्ज नाका हुँदै दैनिक ४२ देखि ४५ ट्याङ्कर डिजल, पेट्रोल र हवाई इन्धन नेपाल भित्रिने गरेको छ ।

बरौनीबाट नेपालका लागि इन्धन लिएर आउने ट्याङ्कर चाकलसँग रक्सौल प्रहरी थानाका इन्चार्जले प्रतिट्याङ्कर तीन सयदेखि पाँच सय भारु रुपैयाँ असुल्दै आएका छन् । 

अहिलेका इन्स्पेक्टर साह केही दिनअघि मात्र अन्यत्रबाट सरुवा भएर रक्सौल प्रहरी थानामा आएका हुन् । 

भारतीय प्रहरीले नेपाली ट्याङ्कर चालकसँग असुल्दै आएको रकम बढाउन दबाब दिँदा चालकहरुले नमानेपछि कुटपिट गरेको नेपाल पेट्रोलिय ढुवानी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष मनोज दासले बताए । 

‘भारतीय इन्स्पेक्टरले घूसकै लागि नेपाली चाकलहरुलाई कुटेका हुन्, ‘दासले भने, ‘जब जब नयाँ इन्स्पेक्टर आउँछन्,  तब तब शुरुमा यस्तै कुटपिट हुन्छ । रकम बढाइदएपछि फेरि पहिलेको जस्तै सबै सामान्य हुन्छ ।’ 

भारतीय प्रहरीबाट कुटिएका चालक र पेट्रोलियम ढुवानी व्यवसायीहरुले बिहीबार पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठलाई भेटेर घटनाबारे जानकारी गराएको पेट्रोलिय ढुवानी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष दासले बताए ।

घटनाबारे जानकारी पाएपछि प्रहरी उपरीक्षक श्रेष्ठले रक्सौलका डिएसपी राकेश कुमारसँग छलफल गरेका थिए । 

‘भारतीय डिएसपीले दोषी इन्स्पेक्टर साहलाई त्यहाँबाट तत्काल हटाउने आश्वासन दिएका छन्’, दासले भने, ‘तर हामीलाई उसको कुरामा विश्वास लागेको छैन ।’ 
- See more at: http://annapurnapost.com/News.aspx/story/48889#sthash.2smXwlCI.dpuf
Loading...