Loading...
सरस्वती सुब्बा ।
म एकजना सुकुम्बासी परिवारको सदस्य, १३ वर्षदेखि भूमि अधिकारको आन्दोलनमा लागिरहेकी छु । हामीजस्ता गरिब सुकुम्बासीहरू मुलुकमा झण्डै एकलाख परिवार छौँ । अहिले मसँग मात्र १० धुर जमिन छ । अहिले पनि हाम्रो देशमा वर्षको दुइ मुरी मकैका लागि मात्रै पनि हलिया बसेका नागरिकहरू छन् ।
Captureतर यहाँ कुराचाहिँ वर्गको हुँदैन, जातको हुन्छ । राजेन्द्र महतो, जो जिन्दगीभर मन्त्री भए उनैले जातको कुरा गर्ने ? धेरैपटक मन्त्री बनेका महेन्द्र यादवले जातको कुरा गर्न सुहाउँछ ? महन्थ ठाकुर कांग्रेसमा रहुन्जेल पटक–पटक मन्त्री भए । मन्त्री हुन्जेल खान नपुग्नेका लागि बोल्न नपर्ने, गाँसवास नहुनेका लागि आवाज उठाउन नपर्ने तर पदबाट मुक्त भएपछि चाहिँ जातको कुरा गर्ने ? मान्छे उरालेर काम गर्न नदिने र उल्टै अशान्ति मच्चाउने । त्यो देखेर अति नै असह्य भएर सामाजिक आन्दोलनमा पनि लागेँ ।
म त्यति धेरै पढेलेखेको मान्छे होइन, सामान्य एसएलसी पास गरेकी छु । त्यस बेलासम्म मैले ट्विटर चलाउँदैनथे, फेसबुक मात्र चलाउँथे । गत तीन वर्षदेखि ट्विटरमा लेख्न थालेँ । मधेसका गरिब एकातिर छन्, धनीहरूको आन्दोलन अर्कातिर छ । जातीय आन्दोलनले वर्गको मुक्ति हुँदैन, जातको मात्र मुक्ति हुन्छ ।
सुवास नेम्वाङ पनि लिम्बू हो । सरस्वती सुब्बा पनि लिम्बू हो । सुवास नेम्वाङ र मलाई एक ठाउँमा जोड्न मिल्दैन नि । त्यस कारणले म जातीय आन्दोलनको विपक्षमा आफ्नो मत राख्दै आएकी छु । गत वर्ष भूकम्पले ठप्प बनाएको देशलाई आन्दोलनको नाममा बन्धक बनाइयो, अहिले फेरि मधेसबाट सर्वसाधारण ल्याएर सिंहदरबार, बालुवाटारमा तमासा भइराखेको छ ।
मैले केही दिन पहिले एउटा ट्विट लेखेकी थिएँ, जातीयताको विरोधमा । ६० वर्ष पुगेका मानिसले अहिले पनि हामीलाइ भेट भयो भने तिमी कुन जातकी, कुन थरकी, कहाँ बस्छ्यौ ? भनेर सोध्नुहुन्छ । तर अहिले तपाईं–हाम्रो उमेरका मानिसले कसैको जात र थर सोध्दैनौँ किनभने अहिलेको आधुनिक समाजमा जातीय कुराको कुनै औचित्य छैन ।
नेपाल साँच्चिकै राम्रो देश बनाउने हो भने अब जातीय कुरा बन्द गर्नुपर्छ, जातीय कुराले सर्वसाधारण गरिबलाई केही दिने होइन । बरू जनतालाई गरिबीबाट कसरी मुक्त गर्ने हो ? कुषिलाइ कसरी आधुनिक बनाउने हो ? यतातर्फ बहस प्रारम्भ गरौं ।
अहिले पनि नेपालमा एउटा गरिखाने वर्ग छ, अर्को बसीखाने वर्ग छ । एउटा वर्ग बिहान उठेदेखि बेलुकीसम्म खेतीपाती गर्ने तर आधापेट खाने र कुपोषण भएर बस्ने वर्ग छ । अर्को चाहिँ खेतीपातीमा पनि काम नगर्ने र भएको जमिन पनि बाँझो राख्ने वर्ग छ ।
साँच्चिकै जनताको मुक्तिको कुरा गर्ने हो भने गरिब, सुकुम्बासीलाई घर ठड्याउने ठाउँ र जोतेर खाने जग्गा जहिलेसम्म दिइँदैन, तबसम्म देशमा शान्ति हुँदैन । खेतीपाती गर्न जान्ने मान्छेलाई जग्गा दिने हो, कोही खेतीपाती गर्न जान्दैन भने त्यस्तालाई जग्गा दिनुपर्दैन ।
कृषि उत्पादन बढ्नेगरी जग्गाको मालिक बनाउने, किसानका छोराछोरीलाई शिक्षा, स्वास्थ्य र रोजगारी दिनसक्यो भने बल्ल नयाँ नेपाल बन्छ । होइन भने उही कुराका मात्र खेल हुन्छन्, काम हँदैन ।
यो देश कस्तो भइसक्यो भने, गत वैशाखको २३ गते बर्दियामा लालबाबु दर्जी भन्ने व्यक्ति जिल्ला वन अधिकारीबाट कुटिएर रक्ताम्मे हुनुप¥यो, वनको जग्गा कब्जा गरेर बसेको आरोपमा । ६५ वर्षभन्दा माथिको व्यक्तिलाई त्यसरी कुटियो । यस्तो अन्याय रहेसम्म देशमा शान्ति हुन्छ ?
मधेसको आन्दोलन त्यो व्यक्तिको मुक्तिको लागि हुनुपर्ने होइन ? अहिले सिंहदरबार, माइतीघर मण्डला अगाडि हामी मन्त्री सांसद हुन पाएनौँ भनेर आन्दोलन हुन्छ । तपाईं हामीले बल्ल–बल्ल ल्याएको संविधानको विरोधमा हाम्रो जनजाति दाजुभाइ पनि लागेको देख्दा चिन्ता लाग्छ क्या ।
मैले गर्न सक्ने त खास केही होइन, सामाजिक सञ्जालमा लेख्छु । अहिंसात्मक आन्दोलनमा विश्वास गर्न सक्ने व्यक्ति भएकीले जातीय राज्यको कुराले गरिबको मुक्ति हुँदैन भनेर लागेकी हुँ ।
सैयौं काँडाका बीचमा एउटा सुन्दर गुलाफ फुलेको हुन्छ, हाम्रो समुदायका पनि कतिपय मान्छेहरू जातीय आन्दोलनमा लागेका छन् जाने र या नजानेर । म लिम्बूकी छोरी, छोरा होइन छोरी । जातीय राज्य चाहिँदैन भनेर जातीय राज्यको विरुद्धमा लागेकी छु ।
दर्शन मण्डल तराईका दलित तीन पुस्तादेखि भूमिहीन हुनुहुन्छ, जातीय राज्यले उहाँको पेट पनि भरिँदैन र घरमा छानो पनि लाग्दैन । बच्चाले पढ्न पाउँदैन र जाहान बिरामी भएको बेलामा निःशुल्क उपचार पनि पाउँदिनन् । त्यो देखेर आएको र भोगेर आएको हुनाले ९९ जना लिम्बू एकातिर हुँदा पनि म एक्ली एकातिर छु ।
तपाईंले लेखेर राख्नुस् नेपालमा जातीय राज्यको संभावना पनि छैन र त्यो आवश्यक पनि होइन । म अहिले मात्र होइन, जतिन्जेल बाँच्छु जातीयताको विरोध गरिहनेछु । मन्त्री सांसद बन्ने लोभले जातीय कुराको समर्थन गर्न सक्दिनँ ।
मजस्ता गरिब जनताले दुइछाक खान पाउँछन् कि पाउँदैनन् ? घाम पानीबाट ओत लाग्ने एउटा घर पाउँछन् कि पाउँदैनन्, मेरो लागि त्यो महत्वपूर्ण कुरा हो । अहिले जातीय राज्यको चर्का कुरा गरेपनि भोलि सम्झौता भएपछि त्यही उपेन्द्र यादव मन्त्री बन्ने हो, राजेन्द्र महतो र महेन्द्र यादव नै मन्त्री बन्ने हो । तिनीहरू मन्त्री बनेर मधेसी र जनजातिका समस्या समाधान हुने होइन ।
हामी एकपटक काठमाडौंमा आएका थियां, त्यही क्रममा शान्ता चौधरी दिदीले भूमिहीनका समस्या समाधानका लागि सिंहदरबार बोलाउनु भएको थियो । त्यहाँ गएको त केही सांसदले यस्तो सुकिला कपडा लगाउने पनि सुकुम्बासी हुन्छन्, सुकुम्बासीले पनि मोबाइल बोक्छन् भनेर पो भने !
त्यस कुराले हामीलाई ज्यादै निराश बनायो, त्यो सुनेर शान्ता दिदी समितिको बैठकमै रुनुभयो । गरिबले सफा लुगा लाउन नहुने ? यस्तो अन्याय पनि हुन्छ ? देशका नीति निर्माण गर्न बस्नेको सोचाइको स्तर त्यस्तो छ ।
नेपालमा खेतीपाती गर्ने को, खेतीपाती नगर्ने को भनेर छुट्टिनुपर्छ । खेतीपाती नगर्नेसँग सयौँ बिघा जमीन छ, खेती गर्नेसँग एकधुर पनि छैन । सरकारले निश्चित गर्नुप¥यो कि हदबन्दीभन्दा माथिको जग्गा विना क्षतिपूर्ति राज्यले लिने र बेच्न नपाउने गरी सुकुम्बासीलाई खेती किसानीका लागि दिनुप¥यो । यसले मात्र देशमा समानता ल्याउँछ ।
सुरक्षित घरवास पूर्वराजा ज्ञानेन्द्रलाई पनि चाहिन्छ, हामीलाई पनि चाहिन्छ । एउटा हलीको छोरो पनि भोलि डाक्टर बन्न सक्ला । सरकारले भूमिहीन गरिबलाई सुरक्षित आवास र शिक्षा स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्छ ।
नेपालमा अझै पनि वर्गीय राजनीति बाँकी नै छ, लालबहादुर दर्जीजस्ता राज्यबाट उपेक्षित नागरिकलाई जातीय राजनीतिले होइन वर्गीय राजनीतिले नै हित गर्छ । दलका नेताहरूले वर्गीय राजनीति सकियो भनिरहेका छन् यो उनीहरूको गलत विश्लेषण हो ।
अहिलेसम्म पनि राजनीतिक दललाई वर्गीय राजनीतिको कुरा लिएर चुनावमा गीत गाउन सजिलो भयो । तर सुकुम्बासीका समस्या समाधानमा सरकार यस्तै गैरजिम्मेवार रहिरह्यो भने अर्कोपटक सुकुम्बासीले भोट नहाल्न सक्छन्, त्यस अर्थमा हामीलाई विप्लव भनेपनि वैद्य भनेपनि फरक पर्दैन ।
जातीय राज्यको विरोध गर्दा धम्की त कति आए–आए । मार्नेसम्मका धम्की आए । मोबाइल खोल्दा म्यासेन्जरमा धम्की आएर हैरान हुन्थ्यो – ‘तँ कहिले घर आउँछेस् भनेर’ । त्यस्ता धम्कीसँग म कहिलै डराइनँ, बरू धम्की दिनेलाई बोलाएर सम्झाएँ, जातीय आन्दोलनले कसैको हित गर्दैन भनेर ।
दुःख त यति दिए, घर घेरेर मार्छु सम्म भने । तर सत्य कुरा गर्न कहिले डर मान्नु हुँदैन । मेरो बुबाको पुख्र्यौली घर पाँचथर हो, अहिले म तराईमा बस्छु । त्यहाँ भएका मेरा आफन्तले अहिले पनि मलाई सोध्छन् किन विरोध गछ्र्यौ भनेर । मैले जवाफमा वर्गलाइ हेर्ने गर्नुस् भन्ने गरेकी छु । बरू आफ्ना छोराछोरीलाई विदेशमा पढ्न पठाउनेले जातीय राज्यको नारा लगाउन लाज मान्नुपर्ने हो ।
आफ्ना छोराछोरीलाई विदेशमा पढ्न पठाएका जनजातिका केही अगुवाहरुले जातको मुक्ति भएपछि हावामा उडिन्छ भनेर सोझा सिधालाई भड्काएका छन् । जातीय आन्दोलन अवसर लुट्नेका लागि रहेछ । सर्वसाधारणलाई केही फाइदा गर्दैन, उनै नेता र मन्त्री हुने हुन् । तराईमा आन्दोलन भयो भने पनि उनीहरू काठमाडौंमै बसेका हुन्छन् । फोनबाट निर्देशन दिने मात्र न हुन् ।
म के कुरामा सचेत छु भने आफ्नो अधिकारको कुरा गर्दा अरूलाई आक्षेप लगाएर माग पूरा हँदैनन् । म सरस्वती लिम्बूले जातीय राज्यको विरोध गरेपनि अर्की रीता वा सीता लिम्बूले जातीय राज्यको माग गर्छन् भने पनि म उनीहरूलाई गाली गर्दिनँ किनभने उनीहरूलाई जातीय राज्यले सबै रोग निवारण गर्छ भन्ने भ्रम छ ।
हामी सुकुम्बासी हौँ भन्दैमा जमिन्दारको जग्गा आफैं खोस्ने होइन । हामीले राज्यसँग संघर्ष गरेको हो । जातका नाममा भिडलाई भड्काउन त सजिलो छ, तर जातीय राज्य स्थापना हुने संभावना भने छँदैछैन र त्यस्तो आवश्यक पनि होइन । जातीय राज्यको कुरा गर्नेहरू हिजो पाँच सय जना थिए, अहिले ५० जना भएछन्, भोलि त्यो सके पाँच जनामा झर्नेछ ।
(राष्ट्रिय भूमिअधिकार मञ्चकी महासचिव एवं सामाजिक अभियन्ता सरस्वती सुब्बासँग लोकान्तरले गरेको कुराकानीमा आधारित)
Loading...
Social Buttons