Latest News

डेढ महिनाकी सुत्केरी छाडेर श्रीमान् बेपत्ता भएपछि; ‘भूकम्पले अरुका घर भत्कायो, मेरो त घरबारै भत्कायो’




भूकम्पले ध्वस्त सिंगटी बजारको पुछारमा टीनको एउटा सानो छाप्रो छ  । त्यही टिनले छाएको छाप्रोमा हिँउदको ठन्डी सहिन् सुत्केरी संगीता नेपालीले । अहिले ६ महिनाकी नानीसहित टिन तातेपछि हुने गर्मी झेलिरहेकी छिन् ।
संगीता आफूले त जसोतसो भूकम्पपछि ओत लाग्ने ठाउँ बनेको छाप्रोको ठन्डीगर्मी सहिन् तर उनकी छोरीको कलिलो ज्यानले कहिलेकाहिँ सहँदैन । ‘नानी बिरामी परिरहन्छे’, संगीता भन्छिन् ।
भूकम्प जाँदा तीन महिनाकी गर्भवती थिइन् उनी । भूकम्प गयो, सिंगटी बजारका मै हँु भन्नेको बिजोग भयो । ६५ वर्ष उमेरका मानबहादुर नेपालीको सिलाईको भरमा चलेको यो परिवारको हालत के भयो होला भन्ने अनुमान ससजिलै लगाउन सकिन्छ र त्यसैमाथि सुत्केरी संगीताले सम्झिँदा पनि कष्ट हुने सास्ति भोगिन् गर्भवती अवस्थामा ।
सुत्केरी भएपछि कम्ता सकस भएन  । मन्दिरकै छेउमा टिन जोरजाम गरेर उनको परिवार ओत लागेको थियो । सुत्केरी अवस्थामा त्यहाँ बस्दा देउता रिसाउँछन् भन्ने सामाजिक मान्यताले उनलाई लखेट्यो ।
त्यसपछि भूकम्पले चर्काएको घरको सहारा लिन पुगिन् त्यो पनि एक कोठाको महिनाको दुई हजार भाडामा । पराकम्प आएको आयै हुन्थे । सानी नानी सहित बसिरहेकी संगीताको मन आतिन्थ्यो । नानीलाई काखमा च्याप्थिन् र बस्थिन् । ‘एक्लै भए भाग्नु, नानीसँग कसरी भाग्नु ? जति डर लागेपनि आँखा चिम्लेर बस्थें,’ उनी भन्छिन् । त्यसैमाथि सुत्केरी हुँदा कमजोर भएको ज्यान उनलाई उठ्नबस्नै गाह्रो हुन्थ्यो त्यो बेला ।
अरु सिंगटीबासीको जीवनमा एकपल्ट भूइँचालो गयो । संगीताले त वैशाख १२ को भन्दा ठूलो भुइँचालो झेलिन् सुत्केरी भएको डेढ महिनापछि  ।
सिंगटी बजारमा आफैं तंग्रिन सकेको थिएन, संगीताको श्रीमान्लाई कसले काम देओस् । लागे काम खोज्न काठमाडौं । संगीताले पनि सहमति जनाइन् । ‘काठमाडौंमा श्रीमान्ले काम खोजेर उतै लैजालान् वा घरखर्च पठाउलान् भन्ने लागेको थियो,’ संगीता भन्छिन् । तर, काठमाडौं पुगेका उनका श्रीमान् त्यसपछि न सिंगटी फर्के, न त सम्झे संगीतालाई । भूकम्प आउँदा बिचलित नभएकी संगीता त्यतिबेला बिचलित भइन्, जब उनका श्रीमान् काठमाडौं पुगेपछि बेखबर भए । त्यसपछि सिंगटी बजारमा समाचार आयो– संगीताको बुढोले त रामेछापतिरकै अर्कै केटी बिहे गरेर काठमाडौंमा बस्या छ ।

हामीले भूकम्पको कुरा उप्काउँदा उनले भनिन्, ‘त्यो भूकम्पले छाप्रो मात्रै लडाएको थियो, त्यसपछि गएको भूकम्पले घरबारै लडायो ।’
भूकम्पले सबथोक लिएपनि दुःखसुखमा साथ दिने श्रीमान् छन् भन्ने लागेको थियो उनलाई । उनी भावुक भइन् । ‘नानी बिरामी भइरहन्छे । अस्पताल लिन पनि पैसा हुँदैन,’ उनले भनिन् ।
दोलखा बाबरे उनका श्रीमान्को स्थायी ठेगाना हो । तर, उनी श्रमिान् सहित सिंगटीमै बसेकी थिइन् । ६ कक्षा मात्रै पढेकी उनले सानै उमेरमा विवाह गरिन् । २० वर्षको उमेरमा त उनले नानी जन्माइसकिन् । श्रीमान्ले सिंगटी बजारमै टेलरिङको काम गर्थे । जिन्दगीका जसोतसो चलेकै थियो । भूकम्पले सबका घरबारी भत्कायो तर संगीताको घरबार भत्काइदियो ।
संगीताका बुवा मानबहादुर नेपाली
अहिले माइतीले भत्केको घरनजिकै हालेको टीनको छाप्रोमा ओत लाग्न आइपुगेकी छिन् । माइतीमा पनि उस्तै छ अवस्था । ६५ वर्ष काटेका मानबहादुर नेपालीको भरमा छ ५ जनाको परिवार  । मानबहादुर सिंगटी बजारको एउटा कपडापसल बाहिर लुगा सिलाउने काम गर्छन् । उनी दिनभरि लुगा सिलाएर जति कमाउँछन्, त्यसैले परिवारको गुजारा चलाइरहेका छन् ।
संगीतालाई लाग्छ– श्रीमान्ले आफूलाई नसम्झेपनि छोरीलाई त सम्झिनुपर्ने । आफ्नी हंशमुख छोरीको नाम सन्ध्या राखेकी छिन् । आश मारेकी छैनन्, श्रीमान् आफू र छोरीलाई सम्झेर फर्किने । आफ्ना लागि नभएपनि ८ महिनाकी सन्ध्याको जीवनमा उज्यालो दिन ल्याउन आउलान् भन्ने आशा गरेकी छिन् ।
-
Loading...