Latest News

यी हुन् भारतको देहरादुनमा ज्यान गुमाउने दश जना नेपाली (एक–एकको नामसहित) -


मुम्बई, १० जेठ । भारतको देहरादुनमा पहिरोमा पुरिएर ज्यान गुमाएका १० जना नेपालीहरुको सनाखत भएको छ ।
उनीहरु नेपालको सल्यान जिल्लास्थित सौगाउ, कापडीचौरका रहेको र देहरादुन नजिकैको चित्रा भिलेजमा सडक निर्माणको काम गर्न आएको खुलेको छ ।
स्थानीय प्रहरीका अनुसार अचानक बस्ने कोठामा ठूलो पहिरो खसेपछि उनीहरु पुरिएको र घटनास्थलमै ज्यान गएको हो । पहिरोले कोठामा बसेका सबै १६ जना नै पुरिएका थिए ।

मृतकको शवलाई डोजरको सहायतामा बाहिर निकालिएको छ । स्थानीय प्रशासन, राजस्व प्रहरी र स्थानीयबासीहरुको सक्रियतामा जुटेपछि ६ जनालाई घाइते अवस्थामा उद्वार गरिएको थियो ।
घाइते अवस्थामा रहेकामध्ये पाँच जनालाई टुयनीमा पठाइएको छ भने एकको देहरादुनमा उपचार भइरहेको छ ।
को-को मरे ?
पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा दिपक बहादुर, उनकी पत्नी कुमारी र छोरा भुपेन्द्र रहेका छन् । त्यसैगरी विनिता, कुमारी श्रद्वाना, जीवन, तारा कुमारी, धनबहादुर, धनकुमारी र भरत बहादुर रहेका छन् । उनीहरु सबैजना एकै गाउँका भएको हिन्दूस्तान टाइम्स पत्रिकाले छापेको छ ।
देहरादुनका जिल्ला अधिकारी रविनाथ रमणले पहिरोमा परि मरेकाहरुको परिवारजनलाई जनही चार-चार लाख आर्थिक सहायता दिइने घोषणा गरेका छन् । मृतकको त्यही अन्त्येष्टि गरिने बताइएको छ । घटना देहरादुनको हेडक्वाटरबाट करिव १५० किलोमिटरमा पर्ने चित्रा भिलेजको हो ।
-
Loading...