
चैत २१ । नेपाल टेलिकमले एनटीप्रो सेवा उपलब्ध गराउने भएको छ । एनटीप्रो प्रयोग गरी नेपाल वा विदेशबाट समेत जीएसएम नेटवर्क बाहिर भएको तर कुनै इन्टरनेट जोन भित्र रहेको अवस्थामा आफ्नै पोस्टपेड मोबाइलमार्फत विश्वभर कल गर्न वा कल प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । यो सुविधा उपभोग गर्नका लागि पहिले इन्टरनेटको प्रयोग गरी आफ्नो जीएसएम पोस्टपेड मोबाइल मार्फत एनटीप्रो एकाउन्ट खोल्नु पर्छ । यसका लागि एप्पल एप स्टोर र गुगल प्ले स्टोरबाट एनटीप्रो एप डाउनलोड गर्नुपर्छ । सव एनटीप्रो टाईप गरी १४२८ मा एसएमएस गरेपछि प्राप्त युजर नेम र पासवर्ड प्रयोग गरी यो सेवा उपयोग गर्न सकिने टेलिकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विदेशमा जाँदा रोमिङ सुविधा नलिइकन नै नेपालमा कल गर्नका लागि समेत यसको प्रयोग गर्न सकिन्छ । यो सेवा रोमिङ सेवाको सजिलो बिकल्पको रुपमा रहेको छ । एनटीप्रोबाट एनटीप्रोमा निःशुल्क कल गर्न सकिन्छ भने एनटीप्रो बाट कल गर्दा वा रिसिभ गर्दा नेपाल टेलिकमको जीएसएम पोष्टपेड नम्बर नै कायम रहने छ । यसबाट कम्पनीको नेटवर्कमा कल गर्दा र कम्पनीको नेटवर्कबाट एनटीप्रोमा कल प्राप्त गर्दा प्रतिमिनेट रु. ६– शुल्क लाग्छ । त्यसैगरी यसबाट अन्तर्राष्ट्रिय कल गर्दा कम्पनीको विद्यमान अन्तर्राष्ट्रिय महसुल दर भन्दा रु. ६ बढी शुल्क लाग्छ ।
Social Buttons