Loading...
केही दिनअघि पर्यटनमन्त्री आनन्द पोख्रेलले दोलखास्थित शाहकै गाउँ पुगेर उनलाई सद्भावना राजदूत बनाइदिने आश्वासन दिएलगत्तै उनले आफ्नो फेसबुक स्टाटस्मार्फत ब्यंग्य गरेका हुन् ।
पर्यटनमन्त्री पोख्रेलले यो वर्षको पर्यटन सदभावना राजदुत बनाउने प्रस्ताव राख्दा उनले अर्को कुनै व्यक्तिलाई बनाउन आग्रह गर्दै प्रस्ताव अस्वीकार गरेका थिए ।
सन् १९९८ मा साइकलमार्फत संसार घुम्न निस्कँदा र फर्केर आएपछि पनि नेपाल सरकारले वास्ता नगरेका प्रसंगहरु अवगत गराउदै शाहले सो प्रस्ताव राखेकोप्रति पर्यटनमन्त्रीलाई धन्यवाद समेत दिएका छन् ।
पर्यटनमन्त्रीले प्रस्ताव राख्दा आफ्नो जन्मभूमिमा आमा र गाउँले दाजुभाईले हर्षले ताली ठोकेका र आफ्नो यात्रामा जीवन मरणको संघर्ष गरेर साथ दिएकी आफ्नी ममतामयी आमालाई सम्झाउन समेत नसकेको उनले तस्बीरसहित स्मरण गरेका छन् । प्रस्तुत छ, विश्वसाइकल यात्री पुस्कर शाहद्धारा लेखिएको फेसबुक स्टाटस्को पूर्ण विवरण :
एकदिन,
पर्यटन मन्त्रि माननीय आनन्द प्रसाद पोखरेल हाम्रो गाउँ आउनु भो र भन्नु भो।
'पुस्कर शाहले देशको लागि गरेको योगदानलाई कदर गर्दै म उनलाई पर्यटन सदभावना राजदुत बनाउछु "
गाउँलेहरु गदगद भए र हात चिलाउनेगरि तालि बजाए ।
एकदिन ,
पर्यटन मन्त्रि ज्युलाई भेटेर भने 'माननीय ज्यु, भोको पेटलाई गुलाफले कुनै अर्थ राख्दैन।
म पर्यटन सदभावना राजदुत नभईकन संसार घुमेको , अरु कसैलाई अवसर दिनुस ।'
एकदिन ,
आमालाई सोधें 'कतिवटा चकटी बुनिसकेउरु'
स्कुलमा केटाकेटीले फालेका चकलेट र चाउचाउका खोलहरु पुन प्रयोग गरेर मेरी आमा चकटी बुन्छिन। म उनले बुनेको चकटी ३०० रुपियाँ म किनिदिन्छु र बिदेशी साथीहरुलाई बेच्छु ।
आमाले भनिन 'भो कान्छा अब त चकटी बुन्दिन'
'किन नबुन्ने रु' मैले सोधें। उनि महिनामा १० वटा चकटी बुनेर ३००० कमाउछिन।
'अस्ति मन्त्रिले तलाई राजदुत बनाउछु भनेको हैन रु अब त लाज हुन्छ गाँठे, राजदुतकि आमा स्कुलको चौरतिर चाउचाउको खोल टिपी हिड्न ।'
एकदिन ,
आमालाई कसले बुझाई देला सदभावना राजदुत र महामहिम राजदुत फरक हुन् ।
अनि, सन् १९९८ मा देशले पर्यटन वर्ष मनाउदा म देशको झन्डा बोकेर देश चिनाउदै संसार घुम्छु भन्दा पर्यटन वर्षको सचिबालयले विश्वास गरेन। सन् २००९ मा संसारका १५० देश घुमेर फर्केपछी, सन् २०१० मा संसार भरिका झन्डा सगरमाथामा फहराएर आएपछी, देशले सन् २०११ मा पर्यटन वर्ष मनायो । त्यतिबेला पनि देशले साइकलमा डुल्नेहरुलाई डुलुवा नै ठान्यो।
धन्यबाद पर्यटन मन्त्रि माननीय आनन्द प्रसाद पोखरेलज्यु मेरो साइकलको पांग्रालाई सम्मान गरिदिन भएकोमा।
आमालाई पो कसरि सम्झाउने ? हैट।
Loading...
Social Buttons