Latest News

बिहारमा मदिरा बन्द, नेपाली बजारमा अाेइरिए भारतीय !!!

रौतहट–भारतसँगसीमा जोडिएका नेपालका ग्रामीण क्षेत्रमा हरेक साँझ मदिरा सेवन गर्न भारतीयको ओइरो लाग्न थालेको छ। 



बिहार सरकारले अप्रिल एक तारिखदेखि रक्सीको उत्पादन, ओसारपसार, बिक्री-वितरण तथा सेवनमा पूर्ण रोक लगाएपछि सीमावर्ती गाउँबाट मदिरा सेवनकर्ता दिनहुँ सीमावर्ती छाप्रे होटेलमा आउन थालेका हुन्। 

भारतीय ग्राहक सीमावर्ती गाउँका छाप्रे होटेलमा आउन थालेपछि नयाँ छाप्रे होटेलपनि थपिएका छन् । अवैध लोकल मदिरा तथा सस्तो खालको सोफी उपभोक्तालाई दृष्टिगत गरी नयाँ छाप्रे होटेल थपिएका छन्। रौतहटका सीमावर्ती गाउँहरु बन्जरहा, मठिया, लक्ष्मीपुर, महादेवपटी, ब्रहमपुरी, बेलबिछवा, बंकुल, रामपुरखाप, मन्सरी, नरकटियालगायतका दर्जनौँ गाउँमा धमाधम होटेलहरु खुलेका छन्। कतिपय होटेलमा भारतीयको लगानीसमेत रहेको छ। 

दैनिक श्रमिक तथा ज्यालादारी गर्ने एका विहान आएर रक्सी सेवन गरेर फर्किन्छन्। दिनभरी काम गरेर फेरि साँझ छाप्रे होटेलमा रक्सी सेवन गरी घर फर्किने गरेकाले सीमावर्ती गाउँमा रक्सी सेवनकर्ता निकै बढेका छन्। 'एउटै पनि छाप्रे होटल नभएको महादेवपटिमा एक सप्तामै पाँचवटा होटल खुलेका छन्,' महादेवपटिका किशोरी यादवले भने, 'छाप्रे होटेलमा श्रमिकस्तरका रक्सी सेवनकर्ताहरु बढेकाले सामाजिक समस्या आउने सम्भावना पनि बढेको छ ।' 

नेपाल भारत सीमा क्षेत्रको रुपमा रहेको दशगजासँगै धमाधम खुलिरहेका छन्। नेपाल प्रहरीले अवैध मदिराको ओसारपसार तथा घरेलु मदिराको उत्पादनमा निकै कडाइ गरेको भए पनि छाप्रे होटेलहरुमा भने अवैध मदिरा छयाप्छ्याप्ती पाइनुले भारतीय ग्राहकहरु छाप्रे होटेलतिर आकर्षित भएको जुद्ध उच्च माध्यमिक विद्यालय गौरका शिक्षक तेज नारायण साह तेली बताउँछन् । 

आइतबार सरकारी विदा हुने भएकोले शनिबारदेखि नै सदरमुकाम गौरका सम्पूर्ण होटेल तथा लजहरु भारतीय ग्राहकले भरिभराउ छन्। बिहारमा सबै किसिमको मदिरामाथि प्रतिबन्ध लागेपछि युवा तथा कर्मचारीहरु विदा मनाउने बहानामा खुल्ला किसिमले रक्सी सेवन गर्न नेपाल भित्रिएको एक होटेल सञ्चालक बताउँछन् । गत एक सातादेखि रक्सीको कारोबारमा दोब्बरभन्दा बढीले वृद्धि भएको उनले बताए । 

भारतीय ग्राहकहरु ह्वात्तै बढेपछि कारोबारीले अवैध घरेलु मदिराको मूल्य पनि बढाएका छन् । चुरे क्षेत्रमा उत्पादन भएका घरेलु मदिरा भारतीयहरुले मन पराउने भएकोले कारोबारीले मूल्य बढाएका हुन् । प्रहरीले सार्वजनिक यातायातका साधनमा कडाइ गरेपछि काठमाडौँबाट सीमावर्ती क्षेत्रतिर जाने रात्रीसेवा बसहरु, टेक्टर, मोटरसाइकल, साइकल लगायतका साधनहरुमा घरेलु मदिराको ओसार पसार बढेको छ । 

चुरेक्षेत्रमा उत्पादन भएको घरेलु मदिराप्रति भारतीय उपभोक्ताको आकर्षण बढेकाले कारोबारीहरु मालामाल भइरहेको बन्जरहाका बिबेक सिंह बताउँछन् । 
Loading...