Latest News

मुस्ताङमा चौरी गाईको आलो रगत पिउने मेला शुरु !!!


म्याग्दी – मुस्ताङ जिल्लाको कोवाङ गाविसमा पर्ने बोक्सीखोलामा सञ्चालन भएको चौरीगाईको आलो रगत पिउने मेलामा सर्वसाधारणको घुईँचो लागेको छ ।

यार्सागुम्बा, जटामसी, पाँचऔले लगायतका जडिवुटीयुक्त चरन क्षेत्र (बुकी)मा पालीएका चौरीगाईको आलो रगत पिएमा ग्यास्ट्रिक लगायत पेट सम्बन्धि रोग निको हुने र शारीरिक स्फुर्ती बढ्ने विश्वास रहेको छ ।

धौलागिरी चौरीपालक कृषक समितिले सोमबारदेखि बैशाख २५ गतेसम्मका लागि आयोजना गरेको मेलामा मुस्ताङको विभिन्न गाविसका साथै म्याग्दी, बागलुङ, कास्की, चितवन, राजधानी काठमाडौ लगायतका ठाउँबाट आएका संयौ सर्वसाधारणको भिड लागेको हो ।

रगत पिउन, मेला हेर्न र चौरीगाईको अवलोकन गर्न दैनिक पाँच सय जनाको अनुपातमा सर्वसाधारणहरु मेला स्थलमा आउन गरेका आयोजक समितिका अध्यक्ष सकेन्द्र गौचनले जानकारी दिए । मेलामा यस वर्ष तिन हजार जना सहभागि हुने र ३५ लाख रुपैया बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
Charui Mela Ko File Photo (1)
मेला सञ्चालनका लागि मुस्ताङका २५ जना कृषकहरुले पालेका एक हजार भन्दा बढी चौरीगाईलाई लेकको बुकीबाट बोक्सीखोलामा ल्याइएको छ । प्रतिगिलास रगत दुई सय रुपैयाका दरले बिक्री हुन्छ । रगतको साथै याक र चौरीगाईको मासुलाई सुकुटी बनाएर ब्यापार गर्ने गरिन्छ । बिशेष प्रकारको चक्कुले अनुभवी व्यक्तिले चौरीगाईको घाँटीमा सानो प्वाल पारेर २५ गिलाससम्म रगत निकाल्ने गर्छन् ।

यसरी रगत निकाल्दा चौरीगाईको स्वास्थ्यमा कुनै असर गर्दैन् । म्याग्दी र मुस्ताङमा बर्षको दुई पटक सञ्चालन हुने चौरीगाईको आलो रगत पिउने मेलामा सर्वसाधारणको आकर्षण बढ्दै गएपनि स्वास्थ्यकर्मी तथा पशु अधिकारकर्मीहरुले आलो रगत पिउन मानव स्वास्थ्यका हिसावले उपयुक्त नहुने भन्दै मेलाको बिरोध गर्दै आएका छन् । 
Loading...