Latest News

प्रचण्डको भैंसी पूजा र शशांकको राजा ल्याउने कुरा उस्तै हुन् !!!

विधि र प्रक्रिया पूरा हुँदा पनि नेपालको राजनीतिमा भनेजस्तो गर्न नसकिने अवस्था सिर्जना भइसक्यो । तर नेपालका नेताहरु कुन निद्रामा छन् बुझ्न सकेको छैन । महाधिवेशनको मुखमा नेपाली कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य, हालका महामन्त्री शशांक कोइरालाले धर्मनिरपेक्षता, संघीयता र राजतन्त्रबारे पुनर्विचार गर्नुपर्छ भनिदिए । कुन नैतिकताले उनले यसो भने थाहा छैन । यसो भन्नुको कुनै आधार उनले खुलाएका पनि छैनन् । आधार खुलाएको भए यस विषयमा छलफल बहस गर्नुको पनि अर्थ हुन्थ्यो । धर्म निरपेक्षता, संघीयता र गणतन्त्र नेपाली कांग्रेसकै नेतृत्वमा नेपालमा लागु भएका हुन् । अब कांग्रेसकै नेता अहिले आएर पुनर्विचार गर्नुपर्छ भन्छन भने कसको के लाग्छ ?
बोल्ने बेला अनर्गल, जे मन लाग्यो त्यही बोल्दै हिँडने अनि अन्त्यमा व्यक्तिगत भनिदिने नेपाली नेताहरुको दुःखलाग्दो बानी हो । एमाओवादी आफै सरकारमा छ, त्यही पार्टीका अध्यक्ष प्रचण्ड राष्ट्रिय सरकार हुनुपर्छ भन्दै हिँडेका छन्, । आफनै पार्टीले सरकारको नेतृत्व गरेको छ । तर माधवकुमार नेपाल पनि राष्ट्रिय सरकारको कुरा गर्दै हिँडेका छन् । नेपालका नेताहरुलाई जे मनमा आयो बोलिदिन्छन् । बोल्दा जवाफदेही हुनुपर्छ भन्ने नै छैन । प्रजातन्त्र भनेको जवाफदेहीता पनि हो भन्ने कुरा कसले र कसरी यीनीहरुलाई बुझाउने हो म भन्न सक्दिन् ।
Dr.-Surendra-KCशशांकले बोलेकै कुरामा विचार गर्ने हो भने यी विषयमा पुनर्विचार चाहीँ कसरी गर्ने ? यो कसरी सम्भव छ ? बोल्नु एउटा कुरा हो, ग्राउन्ड रियालिटी अर्को छ । जातीय र क्षेत्रीय प्रभाव यति धेरै बढीसक्यो कि नेपालमा अब कुनै एक दल र नेताले बोलेर मात्रै हुनेवाला केही पनि छैन । यसको जवाफ केपी ओलीले दिए । यसका लागि प्रक्रिया पूरा गर्न चुनौती दिए । हुन त यस्ता बेतुकका कुरामा जवाफ फर्काइरहनु पर्ने थिएन । उनले फर्काए । नेपालमा यस्तै लेभलका मान्छे नेता भएका छन् । यसैगरी चलेको छ । चलिरहन्छ ।
बोली र व्यवहारमा कतिसम्म फरक छ भने कहि नभएका क्रान्तिकारी कम्युनिस्ट प्रचण्डले भैसी पुजा गरे । विद्या भण्डारी पनि आफूलाई सच्चा कम्यूनिस्ट नै भन्थिन तर धुपबात्तीमै दिन बिताइरहेकी छिन् । सामन्तवादको अवशेष पूर्वराजा ज्ञानेन्द्र पनि पूजापाठमै व्यस्त हुने र गणतन्त्र नेपालका क्रान्तिकारी कम्युनिस्ट राष्ट्रपति पनि पूजापाठमै व्यस्त हुने भएपछि यी दुई बीच फरक चाहीँ के त ? यो छुट्टयाउन बडो मुस्किल भएको छ । यहाँ मन्दिरको दर्शन गर्नेदेखि दिल्लीको दर्शन गर्ने पनि छन् ।
कांग्रेसकै प्रशंगमा आउँदा अब सभापतिमा शेरबहादुर देउवा आएका छन् । उनी कांग्रेसको सभापति हुँदैमा संविधानका मूलभूत विषयमा खास परिवर्तन हुन सक्दैन । किनभने कांग्रेस एक्लैले केही गर्न सक्दैन । अरु पनि मिल्नु पर्छ । मूलकुरा गणित मिल्नु पर्छ ।
देउवा सभापति भएपछि कांग्रेसमै पनि खासै परिवर्तन आउँछ जस्तो लाग्दैन । चुनाव अघि कोइरालाले अन्याय गरेको प्रचार गरे पनि देउवा आफैले अन्यायमा परेको होइन भनिसके । डडेल्धुराको एउटा गाउँमा जन्मेको मान्छे नेपाली कांग्रेसबाट तीन पटक प्रधानमन्त्री भइसकेपछि कोइरालाहरुले देउवालाई अन्याय गरे भन्न मिल्दैन ।
मुलुकमा बेथिति र विकृतिको त कुरा गरेर साध्यै छैन । नेपालको प्रजातन्त्रमा बल्लतल्ल एक सिट ल्याएको पार्टीको नेता दोहोर्याइ÷तेहेर्याई मन्त्री हुन्छ । पदीय वरियता पनि चाहिँदैन । मन्त्री भइसकेको व्यक्ति टिम्बर कर्पोरेसनको अध्यक्ष हुन जान्छ । मन्त्री भइसकेको व्यक्ति राजदूत हुन खोज्छ । यो देश भनेको लुट्नका लागि राखिएको हो, सकेसम्म मिलेसम्म लुटौं भन्ने जसरी रवैया देखाउँछन् हाम्रा नेताहरु । यसको ज्वलन्त उदाहरण सभामुख र प्रधानन्यायाधीशको झगडाले कुुकुर विरालोको झगडा दर्शाइरहेको छ । (डा. केसीसँग भएको कुराकानीमा आधारित)
Loading...