मधेसी मोर्चाले सरकारबाट ४० लाख रकम लिने
काठमाडौं, २९ फागुन । मधेस केन्द्रीत दलहरुको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च बापत सरकारले ४० लाख रकम दिने भएको छ । शुक्रबार बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीचको वार्तामा ४० लाख दिने सहमति भएको सद्भावना महासचिव मनिष सुमनले बताए । मधेस केन्द्रीत दलहरुको आन्दोलनका क्रममा सयौ घाइते भएका थिए । ति घाइतेहरुको उपचार खर्च बापतको रकम तत्काल उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रालयलाई निर्देशन दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कानुनमन्त्री अग्नी खरेलले उपचार खर्च बापत ३१ लाख रकम दिने प्रस्ताव गरेका थिए । तर मधेसी मोर्चाका नेताहरुले औषधी उपचारका ३१ लख खर्च भएको र घाइतेको उपचारमा रहेका कुरुवाको खानामा ९ लाख जति खर्च भएको विवरण पेश गरेका थिए । मधेसी मोर्चाको मागलाई पुरा गर्दै प्रधानमन्त्री ओलीले ४० लाख दिने निर्णय गरेका हुन् ।
Social Buttons