Loading...
राप्रपा नेपालका अध्यक्ष तथा परराष्ट्र मन्त्री कमल थापाले राजधानीमा एक लाख मानिस उतार्न सके हिन्दू राष्ट्र फर्किने बताएका छन्।
सुनसरीको इटहरीमा शनिबार आयोजित हिन्दूत्व जागरण वृहत सभामा उनले राजधानीमा पाँच लाख मानिस उतार्ने लक्ष्यका साथ अभियान थालिएको बताए।
हिन्दू राष्ट्र फर्काउनका लागि दुई वटा उपाय भएको बताउँदै उनले दुवै उपाय प्रयोग गरेर अघि बढ्ने बताए। ‘सडकमा लाखौं जनता उत्रियो भने हुन्छ,’ उनले भने, ‘त्यो हुन सकेन भने चुनावबाट बहुमत ल्याएर भएपनि लागु गर्ने उपाय पनि छ।’ उनले कानुन मान्दिनँ भन्न नपाइने तर असहमत भने हुन पाइने भन्दै अभियानलाई शशक्त बनाएर अघि बढाउने बताए।
थापाले हिन्दूत्वको संरक्षण नभई राष्ट्र विकास नहुने बताए। भारतीय जनता पार्टीको उदाहरण दिँदै उनले हिन्दूत्वप्रति आस्था राख्ने पार्टीले जनताको मन जित्ने दावी गरे। उनले देश बनाउनको लागि पुराना सबै कुरा भत्काउनै पर्ने जरुरी नभएको जिकिर गरे। ‘पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेर पनि विकास गर्न सकिन्छ,’ उनले भने। उनले केही स्वार्थी नेताको कारण हिन्दू राष्ट्र नेपालको परिचय संकटमा परेको बताउँदै जनताको मनबाट हिन्दूत्व हटाएर देखाउन चुनौतिसमेत दिए।
उनले धर्म बलियो बनाउन त्यसभित्रका कुरीती र कमिकमजोरीलाई समेत हटाउनुपर्ने बताए। थापाले कुनै पनि धर्मले जातिय विभेद गर्न नभनेको बताउँदै कुरीति, अन्धविश्वासलाई समय सापेक्ष हटाउनु पर्ने बताए।
थापाले विकास र समृद्धिमा समेत जोड दिएका छन्। उनले नेपालको आवश्यकता आर्थिक संमृद्धि भएको बताउँदै त्यसको लागि विशेष अभियान थाल्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै सन्त कृष्णदासजी महाराजले राप्रपा नेपाल हिन्दू राज्यको पक्षमा रहेकोले आफूहरुले समेत अभियानलाई साथ दिएको बताए। उनले आफूहरु कुुनै पार्टीमा नरहेको बताउँदै हिन्दूत्वको लागि भने सधैँ सहयोग गर्ने बताए।
बिचैमा उठेर हिडे श्रीनिवासाचार्यका समर्थक
सभालाई सम्बोधनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले मञ्चमै रहेका श्रीनिवासाचार्यलाई तिखो व्यंग्य प्रहार गरेपछि श्रीनिवासाचार्यका समर्थकहरु उठेर हिँडेका थिए।
कार्यक्रम चलिरहँदा श्रीनिवासाचार्य आफ्नो छुट्टै ¥यालीसहित कार्यक्रमस्थल पुगेका थिए। उनलाई आयोजकले मञ्चमा लगेर राखेका थिए।
केही महिनाअघि इटहरीलाई आधार बनाएर खुमबहादुर खड्काको अभियानलाई तताउन भूमिका खेलेका श्रीनिवासाचार्यतिर हेर्दै थापाले जोगिहरुले झै आफूले बोलेर मात्र नहुने बताउँदै होस नगुमाउन भनेका थिए।
‘उहाँ स्वामी मात्र हुनुहुन्न, उहाँको रगतमा युवा जोश पनि छ, त्यसको म सम्मान गर्छु,’ उनले भने, ‘तर जोशको साथसाथै होस पनि चाहिन्छ।’ जोगी र सन्तलाई कुनै कुराको पीर नहुने बताउँदै भने, ‘भए होस्, नभए नहोस् भनेर वहाँजस्तो जोगी भएर बस्न हामीलाई मिल्दैन। हामी त आफ्नो लक्ष्यमा हिड्नुपर्ने भएको हुँदा रणनीति बनाउनुपर्यो, योजना बनाउनुपर्यो। बोलेर मात्र हुँदैन।’
थापाले यति भनिरहँदा कार्यक्रमको अग्रपंक्तिमा रहेका महिलाहरुको एउटा समुह उठेर हिडेको थियो। ‘लाठी खाने बेलामा खायौं, अहिले त्यसो भनेको मन परेन,’ एक सहभागिले भनिन्, ‘हामीलाई भाषण मन परेन।’ सहभागिहरु हिड्न थालेपछि थापा आफैले बस्न आग्रह गरेका थिए। तर महिलाहरुको एउटा समुहले कार्यक्रम छाडेर हिड्यो। यता श्रीनिवासाचार्य भने केही नबोलि बसिरहेका थिए।
केही महिनाअघि इटहरीमा श्रीनिवासाचार्यको नेतृत्वमा भएको सडक संघर्षका क्रममा प्रहरीले हस्तक्षेप गर्दा दर्जनौं इटहरीवासी र उनका समर्थकहरु घाइते भएका थिए। इटहरीबाट सहभागि लिएर काठमाडौसम्म पुगेका श्रीनिवासाचार्यले आन्दोलनकै क्रममा अन्य सन्त र गुरुहरुलाई गाली गरेपछि एक्लिएका थिए।
Loading...
Social Buttons