Loading...
पूर्वराजा ज्ञानेन्द्र यसै साता बैंकक पुगेर फर्कँदै छन् । पूर्वबडामहारानी कोमलका साथ ७ माघमा बैंकक प्रस्थान गरेका उनी २०५८ मा भएको दरबार हत्याकाण्डमा गोली लागी घाइते पूर्वरानी कोमललाई गोली लागेको अङ्गमा मौसमी असर भई दुख्न थालेकोले उपचारको लागि थाइल्यान्ड गएको बताइएको छ । उपचारमा दुई साताभन्दा बढी समय लाग्नसक्ने बुझिएको छ ।
घटना र विचार साप्ताहिकका अनुसार, यसरी पूर्वरानीको उपचारका निम्ति थाइल्यान्ड पुगेको भनिए पनि यो भ्रमण राजनीतिक उद्देश्य प्रेरित रहेको जानकारहरूको भनाइ छ । ३ असोजमा संविधानासभाबाट संविधान जारी भई गणतन्त्र संस्थागत गरिएको दाबी राजनीतिक दलका नेताहरूले गरेका भए पनि ‘दरबारले राजसंस्था पुनःस्थापनाको सम्भावना देख्न छोडेको छैन । नेपाली राजनीतिमा प्रभाव पार्ने क्षमता भएका उत्तरी तथा दक्षिणी छिमेकी राष्ट्रसम्बद्ध अनौपचारिक ‘दूत’हरूसँग विशेष छलफल गर्ने योजनाका साथ पूर्वराजाको बैंकक भ्रमण भएको बताइन्छ । उनले बैंककमा चीन र भारतका कुन स्तरका ‘दूत’सँग भेट गर्न लागेको हो होइन स्पष्ट हुन सकेको छैन ।
नेपालमा संविधान जारी भइसकेपछि पनि देशको स्थिति सामान्य बनाउन दलका नेताहरू असफल भएकोले छिमेकी राष्ट्रहरू चिन्तित बनेका छन् । यसअघि पनि बैंककमा पूर्वराजा ज्ञानेन्द्रको चीन र भारतका अनौपचारिक ‘दूत’हरूसँग परामर्श भएको समाचार सार्वजनिक भएको थियो । तर, नेपालमा संविधान जारी भइसकेपछि भने पूर्वराजाको यो पहिलो बैंकक भ्रमण हो । यो भ्रमणले पूर्वरानीको स्वास्थ्यस्थिति मात्र ठीक बनाउने हो या देशकै स्वास्थ्यमा परिवर्तन ल्याउनेस्तरको योगदान पुर्याउने हो प्रतीक्षाको विषय बनेको छ ।
बैंककबाट आवश्यक परे पूर्वराजा ज्ञानेन्द्र नयाँदिल्लीसम्म जाने बताइएको छ । बाल्यकालमै राजा बनेका ज्ञानेन्द्र वीरेन्द्रको वंशविनासपछि दोस्रोपटक राजा बने । उनकै शासनमा बहुदलीय व्यवस्था पनि मासिएर गएन मात्र राजतन्त्र पनि अन्त्य भयो र गणतन्त्र आयो । तर दरबारमा अझै पनि राजतन्त्र फर्कने र तेस्रोपटक राजा हुने मोहमा ज्ञानेन्द्र शाहका भलाकुसारी देखिने गरी र नदेखिने गरी भइरहेकै छन् ।
Loading...
Social Buttons