Latest News

भारतीय पत्रिकामा सीके राउतको सनसनीपूर्ण अन्तर्वार्ता (पढ्नुस् मधेस हड्प्ने योजना)

काठमाडौं, १३ माघ । मधेसलाई नेपालबाट टुक्राउन आवाज उठाइरहेका पृथकतावादी सीके राउतले एक भारतीय पत्रिकामा सनसनीपूर्ण बयान दिएका छन् ।
‘स्वतन्त्र मधेस अभियान’को नाममा पृथकतावादी गतिविधी गरिरहेका राउतले भारतको चर्चित पत्रिका हिन्दुस्तान टाइम्सलाई मंगलबार अन्तरर्वार्ता दिँदै मधेसलाई नेपालबाट अलग गर्ने योजना र कारण सुनाएका छन् ।
उनले सन् २००० को डिसेम्बरमा राजधानीमा भएको ऋतिक रोशन काण्डपछि नेपालीबाट मधेसी बनेको बताए । बलिउड अभिनेता ऋतिकले नेपालविरुद्ध अभिव्यक्ति दिएको भन्दै त्यो बेला ठुलै काण्ड मच्चिएको थियो ।
आफूलाई सच्चा नेपाली ठान्ने राउतले अन्तर्वार्तामा त्यस घटनापछि भने आफ्नो विचार बदलिएको बताए । ‘ऋतिक रोशन काण्डअघि म आफूलाई सच्चा नेपाली ठान्थे । तर, त्यो घटनाले भने मलाई नेपालीबाट मधेसी बनायो,’ उनले भने- ‘ऋतिक रोशनले दिएको कथित नेपालविरोधी अभिव्यक्तिपछि नेपालमा दंगा शुरु भयो जसमा मधेसीलाई निशाना बनाइयो । (पछि ऋतिकले आफूले त्यस्तो अभिव्यक्ति नदिएको स्पष्टिकरण दिए) म त्यतिबेला काठमाडौंमा इन्जिनियरिङको विद्यार्थी थिएँ र जाडो बिदामा बसिरहेको थिएँ ।’
राउतले उक्त घटनामा मधेसीहरुलाई कुटिएको र घरसमेत जलाइएको देखेको बताए । ‘यसमा म पनि मेरो एकजना नजिकको साथीहरुबाटै पीडित बनेँ,’ उनले भने, ‘सो घटनाले मलाई मेरो पहिचान र राष्ट्रियता खोज्न बाध्य बनायो । म आफूलाई नेपालको लागि मर्न तयार रहेको ठान्थें जबकी म नेपाली नै रहेनछु ।’
उनले अगाडि भने- ‘यो मेरो जीवनको निर्णायक मोड थियो, त्यसपछि म स्वतन्त्रताको वकालत गर्ने भएँ ।’ राउतले मधेसी जनताको दुःख र पीडाका कारण नै क्यामब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरेर अमेरिकामा हजारौं डलर कमाउन सक्ने हुँदाहुँदै पनि नेपाल फर्किएको कारण खुलाए ।
अन्तर्वार्तामा उनले अधिकांश मधेसी जनता अब स्वतन्त्र मधेसको पक्षमा रहेको दाबी गर्दै यसका लागि जनमत संग्रह हुनुपर्ने माग राखे । जनमत संग्रहमा जनताले स्वतन्त्र मधेसको अवधारणालाई अस्वीकार गरे त्यसलाई आफूले स्वीकार गर्ने स्पष्ट पार्दै उनले २५ वर्षको अन्तरालमा ३० वटा देश स्वतन्त्र बनेको इतिहास रहेको र नेपालबाट मधेस स्वतन्त्र हुनु असम्भव नरहेको दाबी गरे ।
अन्तर्वार्ताको अन्तिममा उनले अब आफू नेपाली नरहेको भन्दै मधेसी भएकाले मधेस स्वतन्त्र भएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

Loading...