Loading...
काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका सुरक्षाका लागि अहोरात्र खटिने सुरक्षा दस्तामाथि साङ्घातिक हमला गर्ने र सुरक्षामा तैनाथ जवानको निर्मम हत्या गर्ने सङ्गठित अपराधीलाई कसैले पनि संरक्षण गर्न नहुने बताउनुभएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले ‘सबैको घर घरमा मानवअधिकार, विकास र शान्तिको आधार’ भन्ने नाराका साथ आयोजना गरेको अन्तर्राष्ट्रिय मानवअधिकार दिवस समारोहलाई यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले निहत्था र असङ्गठित समूहलाई बलजफतीपूर्ण हत्या गर्ने सङ्गठित अपराधीको पहिचान बताउन कसैले जिब्रो चपाउन नहुने समेत बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो-“आफ्नो अधिकारका लागि लड्नेले अर्काको अधिकार हनन गर्नु हुँदैन । त्यस्ता अपराधीलाई कुनै हालतमा छाड्दिन् ।’
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जनताका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित नभएसम्म मानवअधिकारको सुनिश्चितता हुन नसक्ने बताउनुभयो । आयोगका प्रवक्ता मोहना अन्सारीले मधेस घटना हिंसात्मक बन्दै गएको, दलको खिंचातानीले सुशासनको प्रत्यायभूति नभएको, सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन संशोधन हुन नसकेको र जीवन रक्षाको अधिकार सुनिश्चित नभएकामा चिन्ता व्यक्त गर्नुभयो ।
सो अवसरमा आयोगले स्थापना गरेको ‘दयाराम परियार स्मृति सम्मान’ मातृका देवकोटा र विद्यालक्ष्मी राजभण्डारीलाई दिइयो । स्व परियार आयोगका कर्मचारी थिए । मानवअधिकारका क्षेत्रमा कार्य गर्दागर्दै उनको जनकपुरमा मृत्यु भएको थियो । मृतक परियारका सम्झनामा स्थापित उक्त सम्मान यस वर्ष मानसिक सन्तुलन गुमेकाको पुनःस्थापनामा सहयोग गरेबापत देवकोटालाई र अपाङ्गको पुनःस्थापनामा योगदान पु¥याएबापत राजभण्डारीलाई दिइएको हो ।
नेपाल मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धनको पक्ष राष्ट्र हो । यस क्रममा संसद्को पहल, दबाबमूलक शान्तिपूर्ण आन्दोलन, अन्तर्राष्ट्रिय समुदायको चासो र सर्वोच्च अदालतको आदेशपछि विसं २०५७ जेठ १३ गते आयोगको स्थापना भएको हो । रासस
Loading...
Social Buttons