Latest News

मैदान खाली गरेर मधेसी नेता जति सबै दिल्लीतिर

delhiकाठमाण्डु, २० मंसिर– मधेस केन्द्रीत दलका सबैजसो शीर्ष नेताहरु दिल्ली गएका छन् । नेपालमा आन्दोलन गरिरहेका मधेस केन्द्रीत दलका नेताहरु आफ्ना माग सुनाउन र भारतको संकेत बुझ्न दिल्लीतर्फ गएका हुन् ।
आइतबार बिहान संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर  नेपाल एअरलाईन्सको विमानबाट दिल्ली जाँदैछन् । यसअघि नै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पटना हुँदै शनिबार नै दिल्ली पुगिसकेका छन् ।
तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठी, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, अभिषेकप्रताप साह पनि दिल्ली पुगिसकेका छन् ।
यी दलहरुले शुक्रबार एक विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक घटनाक्रमबारे विचार आदानप्रदानका लागि दिल्ली जान लागेको जानकारी दिएका थिए ।
तराईमा तीन महिना भन्दा बढी समयदेखि जारी आन्दोलन र मधेसी मोर्चाको मागबारे प्रमुख तीन दलले बनाएको साझा धारणा मोर्चाले अस्वीकार गरिसकेको छ । प्रमुख तीन दलले बनाएको साझा धारणा भारतले दिएको सुझावका आधारमा तय भएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।
दिल्ली गएका नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलकी नेतृ सोनिया गान्धीलगायतसँग भेट्ने बुझिएको छ । यद्यपि भारतीय प्रधानमन्त्री मोदीसँग भेट्ने कार्यतालिका अझै मिलिसकेको छैन । दिल्लीस्थित नेपाली दूतावासमा पनि नेपाली नेताहरु आउने विषयमा औपचारिक जानकारी नभएको बुझिएको छ ।
Loading...