Loading...
भारतको केरलास्थित त्रिवेन्द्रममा नेपालले आज चीरपरिचित प्रतिद्वन्द्वी भारतसँग स्पष्ट जितको नतिजा निकाल्न आवश्यक छ । समूह ‘ए’का तीन टोलीमध्ये नेपाल मात्र अङ्कविहीन छ । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ०–१ गोल अन्तरले पराजित हुँदै उसलाई तीन अङ्क सुम्पियो ।
त्यस्तै भारतले श्रीलङ्कामाथि २–० को स्पष्ट नतिजा निकाल्दै समान तीन अङ्क जोडेर गोल अन्तरका आधारमा समूहको शीर्षस्थानमा छ । भारतसँगको हारका बाबजुद श्रीलङ्काको सेमिफाइनल पुग्ने सम्भावना भने जीवित छ । अर्कोतिर, पहिलो हारले नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ तर सकिएको छैन । अब नेपालले भारतलाई हराउँदा मात्र सेमिफाइनल यात्रा सुरक्षित छ । तर प्रतियोगिताकै दाबेदार मानिएको टोली भारतलाई उसकै मैदानमा हराउन नेपाली खेलाडीले पुराना गल्ती सुधार्दै शतप्रतिशत तागत लगाएर खेल्न जरुरी छ ।
यसअघि, श्रीलङ्कासँग अधिकांश समय खेल नियन्त्रणमा लिनका बाबजुद नेपालले अतिरिक्त समयमा आफ्नै गल्तीमा गोल खाएको थियो । गल्ती सुधार्दै नेपालले भारतविरुद्धको अन्तिम खेल जितेमा तीनै टोलीको समान तीन अङ्क हुनेछ । त्यस्तो अवस्थामा गोल अन्तरका आधारमा सेमिफाइनल पुग्ने दुई टोलीको टुङ्गो लाग्नेछ । रासस
Loading...
Social Buttons