Latest News

विधवाले टेकेको भन्दै जानकी मन्दिर ‘चोख्याउने’ को हुन् ? राष्ट्रपतिमाथि मोर्चा कार्यकर्ताको जंगली व्यवहार

चिरन्जीवी पौडेल

३ पुस, काठमाडौं
विधवाले टेकेको भन्दै जानकी मन्दिर ‘चोख्याउने’ को हुन् ?
 राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जनकपुरको जानकी मन्दिर दर्शन गर्ने क्रममा मधेसी मोर्चाका कार्यकर्ताले देखाएको ‘ताण्डव नृत्य’को सर्वत्र निन्दा गरियो । तर, त्यो भन्दा असैह्य हर्कत भोलीपल्ट भएको छ, जसलाई निन्दा मात्रै गरेर पुग्दैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जनकपुरको जानकी मन्दिर दर्शन गर्ने क्रममा मधेसी मोर्चाका कार्यकर्ताले देखाएको ‘ताण्डव नृत्य’को सर्वत्र निन्दा गरियो । तर, त्यो भन्दा असैह्य हर्कत भोलीपल्ट भएको छ, जसलाई निन्दा मात्रै गरेर पुग्दैन ।

 राष्ट्रपति भण्डारी फर्केको भोलीपल्ट बिहिबार मधेसी मोर्चाका कार्यकर्ताले विधवाले मन्दिर टेकेर अपवित्र तुल्याएको भन्दै ‘गंगाजल’ ले मन्दिर पखाले । भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सले यसलाई ठूलै समाचार बनाएर छापेको छ । उक्त अखबारलाई प्रतिक्रिया दिँदै घटनाका अगूवा सरोज मिश्रले भनेका छन्-‘मन्दिरमा विधवालाई पुजा गर्न दिइदैन । राष्ट्रपतिले जानकी मन्दिरमा प्रवेश गरेर हिन्दूहरुको आस्थामा चोट पुर्‍याएकी छिन् ।

 त्यहि भएर उनले मन्दिरमा पाइला टेक्नासाथै मानिसहरु आन्दोलित भएका हुन् ।’ स्थानीय पत्रिका जनकपुर टुडेको शुक्रबारको अंकमा प्रकाशित समाचारमा मिश्रले दिएको प्रतिक्रिया झनै असैह्य छ । उनले यतिसम्म भनेका छन्, ‘पापी, हत्यारिणी, राक्षसनी, राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिरमा आफ्नो पापले भरिएको खुट्टा राख्दा मन्दिर अपवित्र भएको भन्दै श्रद्धालूहरुले दिएको पवित्र गंगाजल छर्केर मन्दिरलाई पूर्ण पवित्र बनाइएको हो ।

’ तमलोपकाका जिल्ला परमेश्वर शाहले स्थानीय रेडियोमा बिहीबार ठ्याक्कै यस्तै बयान दिएका थिए । उनले भनेका थिए, ‘विधवाले टेक्दा मन्दिरको लच्छिन गएकाले गंगाजलले चोख्याएका हौं ।’ आफ्नो भनाइलाई लिएर तीव्र आलोचना भएपछि मिश्रले आफ्नो बयान सच्याएका छन् । अनलाइनखबरसितको कुराकानीमा उनले नयाँ कथा सिर्जना गर्दै सुरक्षाकर्मीले ल्याएको कुकुरले मन्दिरको भूईं चाटेर फोहर बनाएकाले पखालेको दावी गरे । 

यता, तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेषचन्द्र लालले बुधबार र बिहिबारका घटनामा मधेसी मोर्चालाई कुनै ग्लानी नभएको बताएका छन् । उनले ‘मधेसविरोधी’ राष्ट्रपतिको प्रवेशले मन्दिर असुद्ध भएकाले चोख्याएको बताए । राष्ट्रपति भण्डारी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन बुधबार जानकी मन्दिरमा पुगेकी थिइन् । उनी पुग्दा सयौंको संख्यामा तैनाथ सेना, प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीले सुरक्षित रुपमा मन्दिर दर्शन गराएका थिए ।

 उनी मन्दिर प्रवेश गर्दा आन्दोलनकारी ढिम्किन पाएनन् । तर, बाहिरिने क्रममा सुरक्षाकर्मीको घेरा तोडेर आन्दोलनकारीले हुलहुज्जत र आक्रमण सुरु गरे । उनीहरुले राष्ट्रपतिको कारगेडमा ताकेर पेट्रोल बम समेत प्रहार गरेका थिए । उनीहरु कालोझण्डा बोकेर मन्दिरको भित्री भागसम्म पुगे भने मुर्तिहरुमा तोडफोड प्रयाससमेत गरे । राष्ट्रपति फर्केपछि दिनभरीजसो प्रहरी र प्रदर्शनकारीबीच झडपहरु भएका थिए।  


 त्यसको भोलीपल्ट मोर्चाका कार्यकर्ताले मन्दिर चोख्याएका हुन् । 

सरकारी शिक्षकलाई कानून लाग्दैन ?

प्रदिप झा नामका एक सरकारी शिक्षकले फेसबुकमा राष्ट्रपति भण्डारीलाई आपत्तिजनक शब्दहरु प्रयोग गर्दा तथानाम गाली गरेका छन् । यो समाचार लेख्दासम्म उनलाई प्रहरीले उनलाई पक्राउ गरेको छैन । सामाजिक सञ्जालमा फैलिएको उनको टिप्पणी यस्तो छ, 

यसपालीको विवाह पञ्चमीको रौनक अलच्छिन विधवा देवी भण्डारीले समाप्त पारिन् । ठिकै भनिन्छ कि शुभ कार्यमा अलच्छिन र विधवालाई उपस्थिति हुनु हुँदैन । यहाँ त एउटै महिलामा दुवै गुण थियो ।

’जनताले तिरेको करबाट तलव खाने शिक्षक हुन् प्रदिप झा । यस्तो फोहोरी मस्तिष्क बोकेर हिँडिरहेका ‘गुरु’ ले बालबालिकालाई कस्तो शिक्षा दिइरहेका होलान् ? एउटा सरकारी शिक्षकले सार्वजनिक रुपमा देशको सम्मानित संस्थालाई विषाक्त शब्दहरु प्रयोग गरेर निकृष्ट टिप्पणी गर्दा कुनै कानून लाग्दैन ?

 नेपालमा ‘साइबर कानून’ नामको कानून क्रियाशील छ । यो कानून के ठूलाबडाले आफूलाई मन नपरेका व्यक्तिहरुलाई फसाउनका लागि मात्रै बनाइएको हो ?

   म लज्जित छुः सभासद यादव

 जनकपुरमा राष्ट्रपतिको भ्रमणका क्रममा भएको परिस्थितिलाई आफू लज्जित बनेको प्रतिक्रिया दिइन् जनकपुरकी चेली महोत्तरीबाट निर्बाचित कांग्रेस सभासद किरण यादवले ।

 राष्ट्रपतिको भ्रमणका क्रममा उनी पनि साथै थिइन् । विधवाले टेकेको भन्दै मन्दिर ‘चोख्याइएको’ विषयमा यादवले अनलाइनखबरसित भनिन्, ‘यो मानसिक सन्तुलन गुमाएकाहरुको क्रियाकलाप हो । यसलाई जति निन्दा गरे पनि कम हुन्छ । 

आजको जमानामा विधवाले मन्दिर प्रवेश गर्नुहुँदैन भन्नेहरुलाई मेरो कुनै जवाफ छैन् ।’ ‘यसअघि राष्ट्रपति मधेसी हुनुहुन्थ्यो । उहाँले पहाडमा पनि त्यत्तिकै सम्मान पाउनुभयो जति मधेसमा । यसपटक राष्ट्रले पहिलो महिला राष्ट्रपति पाएको छ । उहाँमाथि भएको यस्तो व्यवहारले मलाई व्यक्तिगत रुपमा अत्यन्त लज्जित बनाएको छ,’ यादवले भनिन् ।

 मिथिलाको संस्कृतिमा अतिथिलाई भगवानसरह मानिने भन्दै उनले यो घटनाले जनकपुरवासीको शिर झुकाएको समेत बताइन् ।
Loading...