Latest News

संसदमा नाकाबन्दीको विरोध, भारतीय राजदूत रे लाई फिर्ता पठाउन माग गर्दै नाराबाजी

काठमाडौ, १५ मंसिर । भारतको सहयोगमा मधेसमा आन्दोलन गरिरहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरुकै अगाडि व्यवस्थापिका संसद बैठकमा नाकाबन्दीको विरोध भएको छ ।
सत्तासमर्थक दलका सांसदहरुले उठेर भारतले नेपालको अन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै संसदमा नाराबाजी गरेपछि मोर्चाका सांसद छक्क परेका छन् । जबकी मोर्चाका सांसदहरु भारतको मागजस्तो माग पुरा गर्न माग गर्दै संसद बैठकमा निरन्तर नाराबाजी गरिरहेका छन् र अवरुद्ध गरिरहेका छन् ।
संसदको बैठक सुरु हुनेवित्तिकै रोष्टम घेराउ गरेका मोर्चाका सांसदको मागविरुद्ध सत्तासमर्थक दल नेपाल मजदुर किसान पार्टीका सांसदले भारतको विरोध गर्दै नाराबाजी गरेका थिए । नेमकिपाका सांसदहरु प्रेम सुवाल र अनुराधा थापा लगायतले ‘आत्मसर्मपण गर्दैनौं, नेपालको संविधानमा हस्तक्षेप गर्ने भारत को हो ? सुनसरीमा गोली हान्ने भारतीय प्रहरीलाई कारबाही गर’ जस्ता नारा लगाएका थिए ।
उनीहरुले भारतीय राजदूत रञ्जित रेलाई तत्काल फिर्ता पठाउनसमेत सरकारसँग माग गरे । ‘नेपालविरुद्ध बोल्ने भारतको दूतलाई तुरुन्त फिर्ता पठाउनुपर्छ,’ उनीहरुले भने ।
यसैबीच मधेसी मोर्चाको लामो नाराबाजीका बीच संसद बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ । मोर्चाका सांसदले मात्रै संसदमा आधा घण्टासम्म नाराबाजी गरेका थिए । नाराबाजी नरोकिएपछि सभामुख ओनसरी घर्तीले २० गते आइतबार १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरिन् ।
Loading...