Latest News

आज संसद बैठक बस्दै, मधेसी मोर्चाले चल्न नदिने, कार्य व्यवस्था पनि बस्दै

काठमाडौं, २२ कात्तिक । व्यवस्थापिका संसदको बैठक झण्डै एकसाताको स्थगनपछि आज बस्दैछ ।
बिहान ११ बजेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्ने बैठकमा महिला बालबालिका समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।
उहाँले बालबालिका समितिले आफ्नो वार्षिक प्रतिवेदन सभामुखलाई पेश गरिसकेकाले आजको बैठकमा प्रतिवेदन पेश हुने बताउनुभयो ।
संसदको बैठक बस्नुअघि दश बजे कार्यव्यवस्था समितिको बैठक बस्ने कार्यक्रम छ । कार्यव्यवस्थाले आजको संसद बैठकको कार्य सूची तयार पार्नेछ ।
यद्यपि, प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेपालको संविधान २०७२ मा आफूले राखेको संशोधन प्रस्ताव सरकारले अगाडि नबढाए अबरोध गर्ने मनस्थितिमा छ ।
उता, नाकाबन्दी र आमहड्ताल गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि संसद बैठक अबरोध गर्ने तयारी गरेको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूले संघीय राज्यको सिमाङ्कनमा राखेको मागका विषयमा विचार नगरिए सदन चल्न नदिने बताउनुभएको छ ।
Loading...