Loading...
ग्लोबल टेण्डर आह्वान गरेपछि भारत झस्किएको बिश्लेषण
नेपालमाथि अघोषित नाकाबन्दी लगाएर जनजीवन अस्तव्यस्त बनाएको भारतले एकाएक आएर तेल लिनका लागि ट्याङ्कर पठाउन आग्रह गरेको छ । भारतीय आयल निगम (आइओसी)का अधिकारीहरुले नेपाल आयल निगमलाई टेलिफोन गरेर तेल लिन आउनका लागि आग्रह गरेका हुन् ।
आायल निगमका प्रवक्ता दिपक बरालले आइओसीका अधिकारीले शनिबार राती टेलिफोन गरेर तेल लिनका लागि ट्याङ्कर पठाउन आग्रह गरेको बताएका छन् । टेलिफोनमा आइओसीका अधिकारीले पहिलेको भन्दा बढी लोड गरेर पठाइदिने आश्वासन पनि दिएको प्रवक्ता बरालले जनाएका छन् ।
तर, एकाएक आइओसीले यसरी टेलिफोन गरेर आइओसीले किन तेल लिन आउन भन्यो भन्ने कुरामा भने नेपाल आयल निगम (एनओसी)का अधिकारीहरु चकित परेका छन् । भारतले फेरि झुक्याउनका लागि यस्तो गरेको होे कि भन्ने आशंका एनओसीका अधिकारीहरुले गरेका छन् । यसअघि अघिल्लो हप्ता पनि आइओसीले तेल दिने भन्दै बोलाएको थियो । तर, एनओसीका ट्याङ्करहरु आइओसीका डिपोमा पुगेपछि थोरै मात्रामा तेल दिएर झुक्याएको थियो । सामान्य अवस्थाको दिने भन्दा ९० प्रतिशत तेल कम दिएपछि एनओसी त्यतिबेला निराश बनेको थियो ।
भारतबाट इन्धन लामो समय नआउने भएपछि एनओसीले इन्धनको आयात गर्न ग्लोेबल टेण्डर नै निकालेको थियो । नेपालमा इन्धन आयात गर्नका लागि ग्लोबल टेण्डर नै आह्वान गरिएपछि आइओसी केही झस्किएको हो कि भन्ने विश्लेषण पनि गरिएको छ ।
आइओसीका अधिकारीले टेलिफोन नै गरेर ट्याङ्कर पठाउन आग्रह गरेपछि एनओसीका अधिकारीहरुले सोमबारसम्म विचार गरेर केही ट्याङ्कर पठाउने बताएका छन् । यताबाट ट्याङ्कर पठाएर फेरि भारतको बोली फेरिने हो कि भन्ने डर एनओसीलाई छ । यसअघि त्यतिकै ट्याङ्कर फर्काउनु परेको पीडा एनओसीको छ । त्यसैले आइओसीसँग फेरि थप कुरा गरेर केही प्रतिबद्धता आएपछि मात्र ट्याङ्कर पठाउने तयारी एनओसीले गरेको प्रवक्ता बरालले जनाएका छन् ।
आइओसीका भारतको गोन्डा, बेतालपुर, बरौनी र सिलगुढीमा रहेका डिपोहरुबाट एनओसीले इन्धन ल्याउने गरेको छ ।
Loading...
Social Buttons