Latest News

अन्ततः चीनबाट यसरी आउने भयो ग्यास

China-gasकाठमाडौं,  कात्तिक । भारतको अघोषित नाकाबन्दीकाबीच अन्ततः छिमेकी देश चीनबाट नेपालमा ग्यास आउने भएको छ ।
प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनबाट इन्धन ल्याउने निर्णय गरेपछि नेपाली अधिकारीहरु बुधबार ग्यास ल्याउन चीन पुगेका छन् ।
चीनबाट ग्यास ल्याउन नेपाल आयल निगमका उच्च अधिकारीसहितको टोली तिब्बतको सिगात्से पुगेको हो । त्यहाँ नेपाली टोलीले चिनियाँ पेट्रोलियम कम्पनीका डिलरसँग वार्ता सुरु गरेको छ । ग्यास आपूर्तिका लागि नेपालसँग रहेका विकल्प (नेपालको सिलिन्डर चीन पु¥याएर त्यसमा ग्यास भरिदिने हो वा स्थल मार्गबाटै आफ्नै सिलिन्डर नेपाल पठाउने)मा छलफल हुने बताइएको छ ।
नेपाली टोलीको नेतृत्व नेपाल आयल निगमका निमित्त उपमहाप्रबन्धक सुशील भट्टराईले गरेका छन् । टोलीमा निगमकै उच्च अधिकारीसहित ग्यास विक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्याल र नेपाल ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे र गोकुल भण्डारीसमेत सहभागी छन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणले नाका अवरोध समस्या समाधान नभएपछि सरकारले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन पहल सुरु गरेको हो । चीनबाट इन्धन ल्याउन प्रधानमन्त्री ओलीले समेत निगमका उच्च अधिकारीहरुलाई निर्देशन दिइसकेका छन् ।
उपप्रधानमन्त्री पठाउँदा समेत भारतले नाका खोल्न नमानेपछि नेपालको विकल्प चीन बनेको हो । यसैबीच चीनबाट ग्यास ल्याउन आयल निगमले केही कम्पनीलाई आयातको लागि अनुमति दिइसकेको छ ।
Loading...