Latest News

नेपालगञ्जबाट धमाधम पेट्रोलियम पदार्थ भित्रिन् थाल्यो, नाकामा एसएसबीको अवरोध हट्यो

Oilनेपालगन्ज, २५ असोज । पछिल्लो समय नेपालगन्ज नाकाबाट पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर सहज रुपमा नेपाल भित्रिन थालेका छन् ।
भारतीय आयल निगमले आफूसँग भएको इन्धन नेपाललाई उपलब्ध गराउन थालेको छ । भने, सीमा नाकामा कडाई गर्दै आएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध नगरेपछि पेट्रोलियम पदार्थका गाडी सहज रुपमा नेपाल भित्रिन थालेका हुन् ।
अहिलेसम्म १६ ट्यांकर डिजेल नेपालगन्ज आइसकेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार, ४६४ किलो लिटर लोड भइसकेकोमा १६ ट्यांकर अर्थात २६४ किलो लिटर डिजल नेपाल भित्रिएको छ ।
कागज नमिलेका कारण बाँकी २ सय किलो लिटर डिजल सोमबार आउन नसकेको बताउँदै उनले सोमबार राति वा मंगलबार विहानसम्म उक्त डिजल पनि नेपाल आइपुग्ने बताए । ‘कागज नमिलेका कारण लोड भइसकेका ट्याङ्कर आउन सकेनन्,’ श्रेष्ठले भने, ‘ढिलो भए मंगलबार विहानसम्म ति ट्याङ्कर पनि नेपाल आइपुग्ने छन् ।’
शनिबारदेखि केहि खुकुलो गरेको भारतले आइतबारदेखि पूर्ण रुपमा खुल्ला गरेपछि नाकामा आउजाउ र पेट्रोलियम पदार्थका गाडी सहज रुपमा नेपाल भित्रिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र कुमार हमालले जानकारी दिए । उनले भने, ‘पेट्रोलियम पदार्थका गाडीमा समेत कुनै रोकतोक छैन । सहज रुपमा नेपाल आइरहेका छन् ।’
पछिल्लो समय भारतले कुनै अवरोध र आनाकानी नगरेको नेपाल आयल निगमले जनाएको छ । आफूसँग मौज्दात रहेको इन्धन भारत आयल निगमले दिन थालेको निगम प्रमुख श्रेष्ठले बताए । ‘भएका इन्धन दिन भारतीय आयल निगमले कुनै कन्जुस्याई गरेको छैन,’ उनले भने ।
डिजल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यास नेपाल आउने क्रम बढेपनि पेट्रोल भने तीन दिनदेखि ठप्प छ । शनिबारदेखि नेपालगन्ज नाका हुँदै पेट्रोल नभित्रिएको आयल निगमले जनाएको छ ।
भारतको गोण्डा डिपोमा पेट्रोल नभएका कारण ल्याउन ढिलाई भएको निगमले जनाएको छ । आयल निगमका अनुसार, बुधबारदेखि पेट्रोल नेपाल आउने भएको छ । आयल निगम प्रमुख श्रेष्ठले भने, ‘भारतीय डिपोमा पेट्रोल आउनासाथ ल्याउन तयारी गरेका छौँ ।’
भारतले इन्धन सहज रुपमा उपलब्ध गराउन थालेपछि मध्यपश्चिम क्षेत्रमा डिजलको समस्या कम हुन थालेको छ । यहि अनुपातमा डिजल आए एकदुई दिनभित्र मध्यपश्चिममा डिजलको समस्या समाधान हुने निगम प्रमुख श्रेष्ठले बताए । उनले भने, ‘दसैँका कारण डिजल माग बढि भएमात्र नत्र एकदुई दिनभित्र डिजल समस्या समाधान हुनेछ ।’
आयाल निगम क्षेत्रीय कार्यालय नेपालगन्जले मध्यपश्चिम लगायत काठमाडौँका लागि समेत इन्धन पठाउँदै आएको छ । ‘काठमाडौँका लागि आउने नाकाबाट इन्धन नआएपछि नेपालगन्जबाट इन्धन पठाउने गरेका छौँ,’ आयल निगम नेपालगन्जका प्रमुख श्रेष्ठले भने ।
- See more at: http://dainiknepal.com/2015/96380.html#sthash.s4VtNOQE.dpuf
Loading...