Loading...
तपाईको नयाँ शक्ति कहिलेसम्म बन्न सक्छ ?
अब व्यापक छलफल पछि उपयुक्त समयमा यसले आकार लिन्छ र त्यसपछि बन्न सक्छ ।
अब बन्ने नयाँ शक्तिको नेतृत्व तपाई आँफै गर्नुहुन्छ कि अरुलाई नै नेतृत्व गर्न लगाउनुहुन्छ ?
नयाँ शक्ति निर्माणको प्रक्रिया पनि नयाँ हुनुपर्छ भन्ने मेरो मान्यता छ । विगतको हाम्रो पाटी, दोस्रो विश्वयुद्ध पछि एउटा राष्ट्रिमुक्ति आन्दोलनको क्रममा र त्यसपछि लोकतान्त्रिक आन्दोलन तथा अन्य आन्दोलनको क्रममा विद्रोहात्मक संघर्षको परिणाम स्वरुप बने । विद्रोहात्मक संघर्षबाट बनेका पाटी केन्द्रियतामुखी हुन्छन् । त्यहाँ कमाण्ड र कन्ट्रोलको रुपमा काम गर्नुपर्ने हुन्छन् । त्यहि कारणले गर्दा माथिबाट नै सबै कुरा लागु हुने भयो । अबको नयाँ चरणमा तल जनताबाट, आम कार्यकर्ताबाट राय सल्लाह लिएर नै एउटा निश्कर्षमा पुग्नुपर्छ जस्तो लाग्छ ।
अनि नेतृत्व चाहिँ तपाईले नै गर्ने हो ?
त्यस क्रममा नै सबै कुराको विचार, राजनितिक संगठन, नेतृत्व सबै एउटा सहभागितामुलक संगठनात्मक रुपमा सामुहिक ढंगले कार्यान्वयन गर्नुपर्छ भन्ने मान्यता म राख्छु ।
तर नेतृत्व नगरिकन त तपाईलाई नि चित्त बुझ्दैन होला नि ?
नेतृत्व नगरी त चित्त बुझ्छ । म ४० वर्ष देखी एउटा ठुलो लोकतान्त्रिक क्रान्तिकारी आन्दोलनमा छु । तर कुनै पनि पाटीको नेतृत्वमा बसिन। संगठनको सहायक नेतृत्वमा बसको थिए तर पार्टिको नेतृत्वमा आज सम्म म बसेको छैन ।
नेतृत्व गर्न पाउनु भएन नि त ?
होईन, कतिपय यस्ता पाटीहरु छन् मैले निमार्ण गरेर सानातिना एउटा दुईटा सभासद भएका पनि पाटीहरु बनेका छन् । भने मैले पनि नेतृत्व गर्न सक्थे तर मैले चाहिन ।
तपाईलाई अहिले मुलरुपमा कसले सहयोग गर्दै आएका छन् ?
मैले विविध पक्षका साथिहरुसँग कुरा गरिरहेको छु । एउटा त माओवादी आन्दोलन नै अहिले एक ढंगको टुटफुट, विघटन र बिर्सजन जस्तो अवस्थामा पुगेको छ । त्यसै भित्रका थुप्रै साथीहरु हुनुहुन्छ । त्यस बाहेक कांगे्रस, एमाले, मधेसबादी दल, जनजाती आन्दोलनसँग सम्बन्धित साथीहरुसँग पनि कुरा भईराखेको छ । कुनै पनि पाटीमा नलागेका स्वतन्त्र र निष्पक्ष, निश्कलंक छवि भएका व्यक्तिहरुसँग कुरा भईराखेको छ ।
तपाईले अब ४०/४५ वर्ष राजनीतिमा बिताउनु भयो, देशको प्रमुख पार्टिको प्रमुख नेता हुनुभयो, अर्थमन्त्री भएर एकदम महत्वपूर्ण मन्त्रालय सम्हाल्नु भयो, प्रधानमन्त्री बन्नुभयो, तर देशको परिवर्तन गर्न सक्नुभएन । अब नयाँ शक्तिबाट
परिवर्तन गर्न सक्नुहुन्छ भन्ने कुरा तपाईबाट कसरी विश्वास गर्ने ?
मैले नै गर्नुपर्छ भन्ने छैन । त्यो प्रक्रियामा सहयोग गर्छु । हिजो पनि मैले सहयोग गर्ने प्रयत्न गरे तर हिजोको परिस्थिती फरक थियो । हिजोको त आन्दोलनबाट, संघर्षबाट प्राप्त उपलब्धिलाई संविधानसभाबाट एउटा संस्थागत लक्ष्य थियो । जुन हामीले असोज ३ गते संविधान मार्फत पुरा गरौँ ।
त्यो त राजनीतिक लक्ष्य थियो । राजनितिक पाटीहरुको लक्ष्य थियो । तर तपाई त सरकारको कार्यकारी ओहोदामा बसेर प्रधानमन्त्री, अर्थमन्त्री हुनुभयो । के गर्नुभयो त ?
त्यती बेला धेरै नै गर्न नसकिएको होला तर सापेक्ष ढंगले भन्ने हो भने म अर्थमन्त्री हुदाँ गरेका कामहरुको तुलना मान्छेले अहिले पनि गर्छन । त्यति बेला एउटा सुशासनको प्रत्याभुति गरेर राजस्व एकै वर्षमा ४२ अर्व रुपैँया सम्म हामीले बढायौँ । त्यो नेपालको इतिहासकै रेर्कड मानिन्छ । काठमान्डौंको सडक विस्तारका कुराहरु भए । कतिपय राष्ट्रिय गौरबका योजनाहरुलाई तिव्रता दिने विषयहरु भए । यस्ता जुन केहि कुराहरु मैले गरे जसलाई मान्छेहरुले सम्झना गर्छन् तर त्यो पर्याप्त होईन ।
तपाईले जुन नयाँ शक्तिको कुरा गरिराख्नुभएको छ, कति पक्षले के भन्छन भने एमाओवादीको अध्यक्ष भएदेखि बाबुरामजीले यो कुरा त्यहि छोड्नु हुन्थ्यो । त्यो बन्न सक्नुभएन संसदमा ४० प्रतिशत सदस्यहरु नभएपछि पाटी फुटाउनुको सट्टा नयाँ शक्ति बनाउने भनेर लागेका हुन भन्छन् नी ?
मैले के भन्दै आएको छु भने मैले नयाँ शक्ति निमार्ण गर्ने हो भने हाम्रो सोच पनि सकारात्मक हुनुपर्छ । हामी प्रतिक्रियात्मक रियाक्टीभ होइन प्रोयाक्टिभ भएर दिशाबोध गराउने काम गर्नुपर्छ । त्यो भयो भने मात्र नयाँ शक्ति बन्छ भन्ने मान्यता मैले नै बनाएको हुनाले यस विषयमा टिप्पणी गर्न चाहान्न । यतिमात्र भन्नु चाँही सत्य होइन् ।
तपाईले रियाक्टिभ हुनुहुन्न भन्नुभयो, तपाइ त द्धन्दकाल देखिनै एकदमै रियाक्टिभ मान्छे होइन र भन्या ?
द्धन्दकाल भनेको लडाईको नै प्रक्रिया हो । जसमा दुईवटा वर्ग, दुईवटा शक्ति बिचको टकराब वा लडाई हुन्छ ।
तर होइन पछिपनि कोही व्यक्तिको चित्त बुझेन कि तपाईको टिप्पणी कस्तो कडाकडा आउँछ ?
अब त्यो कडा हुँदो रहेछ भने मेरो स्वभावजन्य चाँही होइन तर मलाई अलिकति आइएसी पढ्ने क्रममा हाम्रो तारानाथ शर्माको झर्रोबाद भन्ने साहित्यको केही प्रभाव भएको थियो । जसले गर्दा मेरो लेखमा पछि केही झर्रोवादी हुनुपुग्यो । तर मेरो स्वभाव त्यस्तो होइन ।
तपाईले नयाँशक्तिमा सदाचारमा खुब जोड दिनुभएको छ । तपाई बेलाबेला जिल्ला जानुहुन्छ, पाँचतारे होटलहरुमा अन्तक्र्रिया गर्नुहुन्छ । तपाई काठमाडौंमा ठूलो घर भाडामा लिएर बस्नुभएको छ । तपाईलाई ठुलो समुहमा सहयोगीहरुले सहयोग गरिराखेका छन । तपाईको आम्दानीको स्रोत छैन् पैसा कहाँबाट आएको छ ?
यो सबै कुरा पादर्शी बनाउनुपर्छ भन्ने मान्यता म राख्छु, । अब अहिलेसम्म मैले प्रत्यक वर्षको आम्दानीको सबै हिसाव–किताव बुझाउने गरेको छु । जुन कुरा संसदमा सचिवालयमा दर्ता छ । अहिलेसम्म त मेरा आय–स्रोतहरु पनि थिए र त्यसैबाट नै म चल्दै आएको हुँ । अब त म सभासद पनि छैन् ।
तर त्यसले त पुग्दैन । तपाई अर्थमन्त्रि, प्रधानमन्त्री हुनुभयो, सभासद हुनुभयो, त्यो सबै तपाईले कमाएको रकम राख्यो भने पनि अहिले तपाई जुन किसिमको जीवनशैली जसरी विताइ राख्नुभएको छ । त्यो खर्च चाँहिदैन भनेपछि तपाईमा पार्दशिता नै नभइकन तपाइले सदाचारी समाज अथवा सदाचारी प्रशासन कसरी निमार्ण गनुहुन्छ ?
हो । अब यी सबै विषयको पनि विश्लेषण गर्नुपर्दछ । जब कि त्यस बाहेक परिवार, साथी–भाइबाट, चन्दाबाट र शुभचिन्तकहरुबाट पनि सहयोग हुँदै आएकै हो । ती सबै कुरा हामीले सार्वजनिक गरेका छैनौ । तपाइले एकदिन ठिक ठाउँमा प्रश्न उठाउनु भएको छ कि नयाँशक्ति निमार्ण गर्ने अभियानका क्रममा सबै कुरा सार्वजानिक गरिनु पर्छ ।
तपाइको यो लामो त्यो किसिमको इतिहासलाई हेर्दा नैतिक धरातल र सदाचारको कुरा गर्ने नैतिकवल आफुमा भएको जस्तो लाग्छ तपाइलाई ?
यो सापेक्षतामा नै हो । यसमा किन लाग्छ भने म आफै एउटा नक्सा कोरेर र हिसिला यमी पनि आर्किटेक ईञ्जिनियर हो र हामीले यहि व्यवसाय गरेर नै आफ्नो जीवन सम्मानजनक तरिकाले यापन गर्न सक्थियौं । त्यसलाई छोडेर हामी यो बाटोमा लाग्यौं । त्यसले गर्दा थोरै मानिसहरुलाई अब कसरी बाच्लान भन्ने लागेका होला । तर अब उप्रान्त हामी फरक ढङगबाट आफ्नो जीवन यापनको निम्ति श्रम गर्न सक्छौं । साथीभाइहरुको कन्सलटेन्सीमा हामीले पढाएर र हाम्रो छोरीले गाउँमा बाख्रा पालनको प्रयत्न पनि गरेकी छिन् । यसबाट पनि हाम्रो जिवन पारदर्शी बन्न सक्छ ।
तपाईको खर्च त हरेक दिन भैरहेको छ । खर्चको रकम ठूलो छ, भनेपछि तपाइले तुरुन्तै आय आर्जनको काम गर्नु भएन भने तपाईलाई कसरी विश्वास गर्ने जनताले ?
म मेरो आफ्नो पेट पाल्ने आर्जन गर्न सक्छु । आफ्नो घरभाडा, अफिस सञ्चालनको कुरा होस् । ऐस–आरामका लागि मैले नकमाउन सक्छु तर सामूहिक ढङ्गले गर्ने भएपछि त संगठनको निम्ती साथीभईहरुबाट खुल्ला र पारदर्शि ढंगले गर्ने छौं । त्यो हिसाबकितावलाई अहिलेको प्रबिधीको युगमा सार्वजानिक ढङ्गले पारदर्शी गराउने छौं ।
अहिलेसम्म तपाईहरुले जे गर्नुभयो त्यसमा पारदर्शिता थिएन । त्यसमा इमान्दारिता थिएन भन्ने नै बुझ्न सकिन्छ । तपाईहरुले हिसाब–किताब निर्वाचनमा आयोगमा बुझाएको भएपनि त्यो वास्तविक सत्य बुझाएको होइन क्यारे ?
होइन, त्यो सबैलाई थाहा छ । १० लाखले चुनाव लड्न सकिदैन् । हुन त पहिलो पटक गोर्खाको निर्वाचन गर्दा ६ लाख मात्रै खर्च भएको हो । तर दोस्रो पटक गर्दा त्यसको कर्यौ गुणा खर्च भएको थियो । साथि–भाईहरुले धेरै सहयोग गर्दा पनि खर्च पुर्याउन गाह्रो भएको थियो । भने अरु मान्छेको जुन ढङगबाट खर्च भयो त्यसले त छेउ पनि भेट्न सकिदैन् । तर हामीले त आफैलाई ढाँटी राखेका छौं । यस्तो काम गर्न हुँदैन ।
फेरीपनि नयाँ शक्ति कै विषयमा कुरा गर्दा, नयाँ शक्तिको मूल एजेण्डा के हो र यो कसरी फरक हुन्छ ?
मैले त्यसलाई ३ वटा असन्तुलन वा अन्तरविरोधका रुपमा अथवा ‘५ वटा स’को कार्यक्रमको रुपमा प्राविधिक प्रस्ताव अघि सारेको छु । त्यो ३ वटा असन्तुलन भनेको राजनीतिक अधिकार बढि प्राप्त गरौं । आर्थिक आधार त्यस अनुरुप बनेको छैन् । आर्थिक विकास र संवृद्धि भएन भने यसलाई कार्यान्वयन गर्न सकिदैन् । यो हो अन्तरविरोध । दोस्रो नेपाल विभिन्न, भाषा, जातजाति भएको देश हो । ती मध्यमा पनि ३ वटा मूख्य क्लस्टर आदिवासी, जनजाती, मधेषी र थारु । यी ३ क्लस्टरहरु बराबर भएको देश हो । यी तीनैको राज्यस्तरमा बराबरी सहभागिता भएन भने देशको आन्तरिक राष्ट्रियता बलियो हुँदैन । यसको सन्तुलन मिलाउन सक्नुपर्छ । तेस्रोमा हामी भारत र चीनको बिचमा अवस्थित छौं, यी ठूला देशको बिचको सम्बन्धलाई सन्तुलन राख्न सकिएन भने पनि आगामी दिनमा सोचे जस्तो गर्न सक्दैनौं । यसलाई सन्तुलन मिलाउने गरी हामीले कार्यक्रम ल्याउनपर्छ भनेर मैले ‘५ स’ जस्मा स्वाधिनता, सार्वजनिकता, समावेशी, समानुपातिक सहभागिता मूलक लोकतन्त्र, समतामूलक समृद्धि, समृद्ध समाजवाद, सदाचार, सुसासन, सुसंस्कृत भनेर प्रस्तुत गरेको छु ।
तपाइले ४० वर्षमा गर्न नसकेको काम अहिले ६५ वर्ष हुनुभयो अब बाँकि जीवनमा गर्न सक्छु जस्तो लाग्छ ?
सक्नुपर्छ मेरै जीवन कालमा नहोला तर यो समाज परिवर्तनको प्रक्रिया भनेको निरन्तर बग्ने कुरा हो । अगुवाले बाटो देखाउनु पर्छ र पछि लाग्ने मान्छेहरुले त्यसलाई निमार्ण गर्दै जानुपर्छ । नयाँ शक्ति निमार्ण भनेको भोलिको नयाँ समृद्ध नेपाल बनाउने अभियान हो । त्यसको सुरुवात गर्नुपर्छ ।
यो माओवादी छोडेको परिप्रेक्षमा, यो ४० वर्ष राजनीतिमा विताएको तपाइले फर्केर हेर्दा जीवनलाई हेरेर प्रश्चताप गर्नुपर्यो भने के के कुरामा गर्नुहुन्छ ?
मूल रुपमा मैले प्रश्चाताप गर्न परेको जस्तो लाग्दैन, किनकी यो पूरानो निरकुंश व्यवस्थाका विरुद्ध रहेको हो । समाज परिवर्तनको क्रममा जुन परिवर्तन भए, गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्र र संविधानसभाबाट संविधान, यो ७० वर्ष देखिको उपलब्धी सबै हाम्रो आन्दोलनको पक्षमा भएको हो । त्यो सकारात्मक पाटो हो । तर त्यसक्रममा तपाइले संकेत गरेजस्तो कति अवाञ्चित प्रकृतिका घट्नाहरु भए, मानिसहरुले ज्यान गुमाए, अंग–भंग भए, ती सबै दुखद पक्ष थिए ।
६० वर्ष नाघि सक्नुभयो कपाल फुलिसक्यो, तपाइले हिंसाको जुन बाटो पकड्नु भयो, त्यो गल्ति भयो जस्तो लाग्दैन् ?
हिंसा, अहिंसा, शान्ति भनेका यी सापेक्ष शब्दहरु हुन । निरपेक्षरुपमा हिंसाको पक्षमा कोही पनि हुँदैन् तर समाजमा कसैले चाहेरमात्र हुँदैन् । जुन समाज विकासको नियम अन्तरगत हुन्छन् । अर्को पक्षले हिंसा गरिदियो भने रक्षात्मक पक्षमा हिंसा गर्नुपर्ने हुन्छ । त्यसैले म हिंसा चाहान्न र वास्तवमा भन्नुपर्दा आजसम्म मैले नीजिरुपमा हिंसा गरेको पनि छैन् । तर राज्यसत्ता भनेको एउटा बलमा टिकेको र त्यसले अर्को पक्षमाथि दमन, उत्पीडन, हिंसा गरेको अवस्थामा उत्पिडीत पक्षले त्यस प्रति हिंसा गर्नलाई अन्यथा भन्न पनि गाह्रो हुन्छ ।
भनेपछि तपाईलाई इतिहासप्रति कुनै पश्चाताप छैन् ?
द्धन्द्धको क्रममा कतिपय अप्रिय घटनाहरु भए त्यसमा दुःख छ त्यो हामीले पहिले पनि व्यक्त गरेका छौं । आजपनि व्यक्त गर्न चाहान्छु । क्रान्ति र परिवर्तनको क्रममा जुन क्रान्ति, विद्रोह भए ती चाँही इतिहासका नियम हुन् । त्यसमा चाही हामीले नीजि रुपमा लिएर अन्यथा टिप्पणी गर्न हुँदैन् ।
अन्त्यमा तपाई अर्थमन्त्री हुँदा तपाइको लोकप्रियता बढि थियो । प्रधानमन्त्री हुँदा अलि घटेको देखियो र त्यसपछि विस्तारै झन् घट्दै गएको धेरैले महसुस गरेका छन् । तपाइलाई ‘मैले कतै गल्ति गरी राखेको त छैन ?’ भन्ने लागेको छ कि छैन् ?
मान्छे जोसँग बढि अपेक्षा गर्छ त्योसँग नै बढि दुःख व्यक्त गर्दछ र आलोचना पनि गर्छ । जनताले मेरो बारेमा टिप्पणी गर्नुभएको छ म प्रतिको माया र अपेक्षा धेरै राखेर नै गरेको हो । म जनताको अपेक्षा अनुरुप आफुलाई सुधार्ने र उपलब्धीमुलक ढङ्गले सेवा गर्ने प्रयत्न गर्छु । म आफु एउटा मान्छे हुँ, भगवान होइन, भन्ने कुराको बोध गराउँदछु ।
Loading...
Social Buttons