Latest News

नाकाबन्दीको विरोधमा पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोले, जनताले दुःख पाउन भएन

काठमाडौं, २ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले विधि निर्माण र व्यवस्थापनको महत्वपूर्ण घडीमा देशका जिम्मेवार सुरक्षा पात्र र होनहार नागरिकहरूको जिउ ज्यान नै जोखिममा परेको भन्दै गम्भीर चिन्ता जनाउनुभएको छ ।
विजया दशमी २०७२ का अवसरमा आज (सोमबार) शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले सबै वर्ग, समुदाय र भू–क्षेत्र तथा अधिकत र जनताले अङ्गिकार गरेको प्रचलित परिपाटी एवं सनातनी संस्कृति र गतिविधिलाई नसमेटिँदा स्वभावतः त्यसले विग्रह, विवाद र विरोध उत्पन्न गर्ने बताउनुभएको छ ।
‘लामो समयको अनिश्चितता र कठिन संक्रमणकालीन अवस्थापछि, राष्ट्रको मुल कानुनबाट मुलुकमा शान्ति, प्रजातन्त्र, स्थायित्व र आर्थिक समृद्धिसँगै आपसी सद्भाव स्थापित हुनेछ भन्ने चाहना र धैर्य नेपालीहरूले राख्दै आएका हुन्’, उहाँले सन्देशमा भन्नुभएको छ, ‘जनताद्वारा जनताका निम्ति बन्नु बनाईनुपर्ने विधि व्यवस्था आमजनताबाटै अनुमोदित हुनुपर्ने हुन्छ ।’
पूर्वराजा शाहले अगाडि भन्नुभएको छ, ‘मैले जाने बुझेसम्म राष्ट्रको मुल कानुनमा राष्ट्रका सबै वर्ण, सबै वर्ग, सबै समुदाय र सबै भू–क्षेत्र तथा अधिकत र जनताले अङ्गिकार गरेको प्रचलित परिपाटी एवं सनातनी संस्कृति र गतिविधिलाई नसमेटिँदा स्वभावत त्यसले विग्रह, विवाद र विरोध उत्पन्न गर्दछ । विधि निर्माण र व्यवस्थापनको महत्वपूर्ण घडीमा देशका जिम्मेवार सुरक्षा पात्र र होनहार नागरिकहरूको जिउ ज्यान नै जोखिममा पर्नु अझ गम्भीर चिन्ताको विषय हो ।’
उहाँले परस्पर मिलिजुली एकताका साथ रहिआएकोे हाम्रो नेपाली समाजमा हाल देखापरेको परिस्थिति नेपाल र नेपालीको अहित हुनेतर्फअघि नबढोस् भन्ने आफूले चाहेको बताउनुभएको छ । ‘समग्र सहभागिता, समस्त सामञ्जस्य र सम्पूर्णको समावेशी समर्थन नै हाम्रो राज्य व्यवस्थाको आधार बन्नु पर्दछ’, पूर्वराजा शाहले भन्नुभएको छ ।
‘नेपाली समाजको मौलिक पहिचान, गौरव र गरिमा प्रस्तुत गर्ने वडा दसैँको यो महान् धार्मिक, सांस्कृतिक एवं सामाजिक पर्वका उपलक्ष्यमा म देश भित्र र देश बाहिर रहेबसेका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुःख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु’, शुभकामना सन्देशमा पूर्वराजा शाहले भन्नुभएको छ ।
‘हिमाल, पहाड र तराईमा देखा परेको विध्यमान द्वन्द्व, विग्रह, कचिङ्गल, अन्योल, असन्तोष र दैनिक जीवनमा आइपरेको कठिन अवस्था एवं अभावको स्थितिमा, मेरो चासो र चिन्ता रहनु स्वाभाविकै हो’, पूर्वराजा शाहले अगाडि भन्नुभएको छ, ‘आमनागरिकले सधैँ नै निर्धारित सुलभ बजार व्यवस्था तथा नियमित आवागमनको सुचारु सुविधा पाउनु पर्दछ । तर दसैँ, तिहार र छठ जस्ता नेपालीहरूको विशेष चाढपर्वमा समेत बजारमा इन्धन, औषधि एवं खाध्यानलगायतका दैनिक उपभोग्य बस्तु कै अभाव हुनुको साथै नेपाली नागरिकहरूले सहज ढंगले आवागमन गर्न समेत पाइरहेका छैनन् । यसबाट न्यून आयस्रोत भएकाहरूले त झनै मार खप्नु परेको तितो तथ्य हाम्रा अघिल्तिर देखा परेको छ ।’
उहाँले भूकम्पको प्राकृतिक कम्पन एवं अन्योल र अलमलको राजनीतिक उल्झनबाट पीडित नेपाल र नेपाली जनजीवनको यो कठोर कालखण्ड अब धेरै लम्विनु हुँदैन भन्ने आफ्नो चाहना रहेको बताउनुभएको छ ।
पूर्वराजा शाहले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘राष्ट्रिय स्वार्थ, राष्ट्रियता र राष्ट्रिय समस्याको समाधान गर्न नेपाली मनको सक्रियताबाट अघि बढ्न श्री नवदुर्गा भवानीवाट हामी सवैलाई सत् प्रेरणा प्राप्त होस् । यहि मेरो कामना छ ।’
Loading...