Latest News

बढुवा गर्छु भन्दै सशस्त्रका डिआइजीले यौनसम्पर्क राखेको खुलासा

काठमाडौँ, २२ असोज ।
सशस्त्र प्रहरीका एक डिआइजीको यौनकाण्डका कारण महानिरीक्षक कोषराज वन्त यतिखेर निकै तनावमा छन् । क्षेत्रीय प्रहरी कार्यालय पोखराका डिआइजी जानकीराम भट्टराईले त्यहीँ कार्यरत एक महिला प्रहरीसँग यौन सम्पर्क राखेको तथ्य खुलेसँगै उनीमाथि कारबाहीका लागि दबाब परेपछि वन्त तनावमा परेका हुन् ।
पोखरा गएको एक वर्ष पनि नभईकन उनले महिला प्रहरीमाथि यौनसम्पर्क गरेको र प्रहरी कार्यालय कास्कीमा उजुरीसमेत परेपछि भट्टराईलाई कारबाही गर्ने कि स्पष्टिकरणमात्र सोध्न भन्ने दोधारमा वन्त परेका छन् । पूर्वमहानिरीक्षक वासुदेव ओलीको समयमा पनि भट्टराई यौनकाण्डमा मुछिएका थिए । त्यतिबेला उनी एसपी थिए ।

सशस्त्र प्रहरीमा सबैभन्दा मुढी स्वभावका भट्टराईले पोखरामा रहेका बेला महिला प्रहरीलाई बढुवा तथा राम्रा स्थानमा पोस्टिङ गराइदिन्छु भन्दै यौनशोषण गर्दै आएको स्रोतले जनाएको छ । नेपाल प्रहरीको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख पंकज श्रेष्ठलाई यो विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराइसकेको छ । उनीविरुद्धको उजुरीलाई त्यहाँ दर्ता नगरी सशस्त्र प्रहरी मुख्यालय हल्चोक पठाइदिएको छ । हल्चोकले यस विषयमा अध्धयन गर्न भन्दै मुल्तवीमा राखेको छ ।
समाचार स्रोतका अनुसार उनलाई मुख्यालय तानेर कारबाही गर्ने सोचमा महानिरीक्षक वन्त छन् । ऋषभदेव भट्टराई, नारायणबाबु थापा, जानकीराम भट्टराई, दुर्गा कुँवरलगायतको एउटा ग्याङ सशस्त्र प्रहरीमा अराजक समूहका रूपमा प्रचारित छ । कुँवरले अमेरिकाको पिआर लिएकाले जागिर छाडिसकेका छन् ।
चार वर्षअघि हल्चोकमै प्रहरी निरीक्षकलाई कुटपिट गरेका उनलाई सशस्त्रका तत्कालीन एआइजी सनत बस्नेतले स्पष्टिकरण सोधे पनि महानिरीक्षक बासुदेव ओलीले बचाएका थिए ।
एक वर्षअघि पोखरामै रहेका एआइजी नारायणबाबु थापाविरुद्ध एक लेखापालकी श्रीमतीले आफूलाई एसएमएसमार्फत यौनप्रस्ताव राखेको भन्दै सशस्त्र प्रहरी मुख्यालयमा उजुरी दिएपछि उनलाई मुख्यालयमा तानेर नापतौल विभागको जिम्मेवारी दिइएको समाचार छ ।
यो समाचार तरुण साप्ताहिकबाट लिएका हौँ । समाचारमा ऋषभदेव भट्टराईका विषयमा छापिएको वाक्य पूर्णतः गलत रहेकाले हामीले सम्पादन गरेका छौँ ।
Loading...