Latest News

भारतीय नाकाबन्दीबारे प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराए

काठमाडौँ, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नर्वे र स्विट्जरल्याण्डसहित युरोपेली सङ्घमा आबद्ध मुलुकका राजदूतहरूले आज प्रधानमन्त्रीको कार्यालयमा सामूहिकरुपमा भेटवार्ता गर्नुभयो ।
यहाँस्थित युरोपेली प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङ नेतृत्वको राजदूतहरूको टोलीले नयाँ संविधान जारीसँगै प्रधानमन्त्रीको उच्च पद सम्हाल्नुभएकामा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक बधाई एवम् शुभकामना व्यक्त ग¥यो ।
युरोपेली मुलुकका राजदूतहरूले भूकम्पपछिको पुनःनिर्माण तथा श्री ओली नेतृत्वको सरकारका कामकारबाहीमा आ–आफ्ना सरकारकातर्फबाट पूण सहयोग एवम् समर्थनको प्रतिबद्धता व्यक्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै उहाँहरूले बिग्रँदै गएको आपूर्तिको अवस्था र त्यसले सिर्जना गर्ने सम्भावित मानवीय पक्षप्रति चासो व्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले युरोपेली सङ्घ र अन्य युरोपेली राष्ट्रका राजदूतहरूले आफ्ना सरकार र संस्थाहरूबाट नेपाललाई निरन्तर सहयोग एवम् समर्थन हुने प्रतिबद्धता व्यक्त भएकामा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
यसैबीच प्रधानमन्त्री ओलीलाई संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुन र रुसी महासङ्घको मन्त्रिपरिषद्का अध्यक्ष दिमित्री मेडेभडेभले बेग्लाबेग्लै बधाई तथा शुभकामना सन्देश पठाएर प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्नुभएको पनि उक्त मन्त्रालयले जनाएको छ । रासस
Loading...