Loading...
सबैका आँखा बेहुली झै सजिएको संविधानसभा भवनतिर छ । बाटो हिड्ने बटुवादेखि लिएर सवारीसाधनमा गुड्ने चालक र यात्रुसमेतले त्यतैतिर आँखा लगाइरहेका छन् । मानिसहरुको अनुहारमा चासो र उत्साह देखिएको छ । यो दृश्य हो संविधानसभा भवन नयाँ वानेश्वर वरिपरको । हो बेहुली झै सिंहारिएको संविधानसभा भवनबाट आज साँझ संविधान जारी हुँदैछ । त्यसैले पनि यो ऐतिहासिक दिनको प्रमुख स्थल संविधानसभा भवनमा सबैको ध्यान जानु स्वभाविक हो ।
जतिजति समय बितिरहेको छ त्यतिनै मानिसको धड्कन बढीरहेको छ । कतिबेला साँझको ५ बन्छ भन्ने सबैको मनमा लागिरहेको छ । वानेश्वर आसपासमा बृद्ध, युवा, महिला, बालबालिका राष्ट्रिय झन्डा बोकेर हिडिरहेका छन् । मानिसहरुको धैर्यता रोकिएको छैन । सबैजना नेपालको नयाँ संविधान जारी हुने समय कुरेर बसिरहेका छन् ।
वानेश्वर आसपासका क्षेत्रमा सुरक्षा ब्यवस्था पनि निकै कडा पारिएको छ । प्रहरीहरु बिहानै देखि अग्ला घरको छत र सडकमा बसेर सुरक्षा दिइरहेका छन् । केही समूहले संविधानलाई स्वागत गर्दै र्याली निकालेका छन् । निकै रमाईलो र हेर्न लाएक छ आज वानेश्वरको दृश्य ।
-
Loading...
Social Buttons