Loading...
सदरमुकाम जलेश्वरमा बुधबार प्रहरीको गोली लागेर चार प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी चारैतिरबाट ढुंगामुढा गरेपछि गोली चलाउनुपरेको महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले बताए । प्रहरीको गोली लागेर महोत्तरी गाविस–५ का रामविवेक यादव, जलेश्वर–७ का रोहन चौधरी, जलेश्वरकै बखरी घर भएका मुसवा कापर र एकजारा गाविसका शंकर पासवानको मृत्यु भएको छ । प्रहरीकै गोली लागेर घाइते सातमध्ये जलेश्वरका वीरेन्द्र बिठासहित तीनजनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । अन्यको अञ्चल अस्पताल जनकपुर र जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । प्रहरीसँगको झडपमा २० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले हानेको ढुंगा लागेर १५ प्रहरी पनि घाइते भएको प्रहरी उपरीक्षक राणाले जानकारी दिए । यसरी भयो घटना संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा २५ दिनदेखि जारी अनिश्चितकालीन आमहडतालले जलेश्वर ठप्प थियो । दैनिकजसो प्रदर्शनकारी र प्रहरीबीच झडप हुने गरेको छ । बुधबार भने स्थिति तनावपूर्ण बन्यो । बिहानैदेखि गाउँगाउँबाट प्रदर्शनकारी जलेश्वरमा जम्मा भएका थिए । दिउँसो २ बजे महेन्द्र चोकबाट जिल्ला प्रहरी कार्यालयतर्फ अघि बढेको जुलुसलाई सुरुमा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेर रोक्न खोज्यो । जुलुस ठूलो थियो । दिउँसो १२ बजेदेखि नै हातहातमा लाठी, कुटो, कोदालोजस्ता घरेलु हतियार बोकेका आन्दोलनकारी महेन्द्र चोक, जलेश्वर नगरपालिका जाने सडक र जिल्ला अस्पताल जाने सडकबाट जिल्ला प्रहरी कार्यालयतर्फ अघि बढ्न खोजिरहेका थिए । प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेर जुलुस रोक्ने प्रयत्न गर्दागर्दै दिउँसो ४ बजे प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालयको गेटसम्म पुगेपछि प्रहरीले गोली चलाएको हो । साँघुरो गल्लीमा चारैतिरबाट आन्दोलनकारीले प्रहरीलाई ढुंगामुढा गरेपछि गोली चलाउनुपरेको महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले बताए । प्रदर्शनकारीले महोत्तरी जिल्ला अदालतका एक नं. न्यायाधीश किरण पोखरेलको डेरामा पनि आगजनी गरेका छन् । प्रदर्शनकारीले बुधबार दिउँसो बलबा प्रहरीचौकीमा पनि आगजनी गरेका छन् । जलेश्वरमा कफ्र्यु स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले बुधबार साँझदेखि जलेश्वरमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि जलेश्वरका सडकमा सेना परिचालन गर्ने गरी तयारी अवस्थामा रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले बताए । स्थानीय प्रशासनले सशस्त्रको बेसक्याम्प बनौटादेखि उत्तर, पूर्वमा धमौरा जाने सडक, दक्षिणमा तिलगढ जाने सडक र पश्चिममा पडौलसम्मको क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको हो । रामनारायण विश्वास/नयाँ पत्रिका सप्तरी, २४ भदौ प्रदेश विभाजनको विरोध र समग्र मधेस स्वायत्त प्रदेशको माग राख्दै भएको मधेसी मोर्चाको आन्दोलनमा सप्तरीमा एकजनाको मृत्यु भएको छ । सप्तरीको भारदहमा भएको झडपका क्रममा बुधबार प्रहरीको गोली छातीमा लागेर पोर्ताहाका ६३ वर्षीय रामकिसुन राउतको मृत्यु भएको हो । प्रहरीको गोली लागेर १ भदौमा सप्तरी भारदहका २४ वर्षीय राजीव भनिने राजेन्द्रकुमार राउतको मृत्यु भएको थियो । सो दिन पनि प्रहरीको गोली लागेर १२ जनाभन्दा बढी घाइते भएका थिए । भारदह र पोर्ताहा गाविसको सिमानामा बुधबार बिहान ९ बजेदेखि प्रदर्शनकारी तथा प्रहरीबीच झडप भएको थियो । मोर्चा कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गकेन्द्रित आन्दोलन बढाउने क्रममा मंगलबार रातभर भारदह र पोर्ताहा क्षेत्रमा रूख ढालेर सडक अवरुद्ध गरेका थिए । प्रहरीले भारदह–पोर्ताहा खण्डमा अवरुद्ध सडक खाली गराउने क्रममा झडप भएको हो । राजमार्ग अवरुद्ध हुँदा भारतको जोगबनी नाका हुँदै विराटनगरबाट काठमाडौंका लागि मालबाहक सवारीसाधन प्रहरीको स्कर्टिङमा निस्किए पनि गन्तव्यसम्म पुग्न सकेनन् । सयौँ सवारीसाधन मंगलबार रातिदेखि नै सुनसरीमै थन्किएका थिए । ती सवारीसाधन गन्तव्यसम्म पुर्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवरुद्ध सडक बुधबार बिहानदेखि खाली गराउन प्रयास गरेका थिए । तर, प्रदर्शनकारीले अवरुद्ध राजमार्ग सुचारु हुन नदिन प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि झडप भएको थियो । स्थिति तनावग्रस्त हुन थालेपछि प्रहरीले डेढ सयभन्दा बढी राउन्ड अश्रुग्यास र गोली प्रहार गरेको थियो । झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर राउतको घटनास्थलमै मृत्यु भएको हो । पूर्व–पश्चिम सडकको उत्तरतर्फ प्रदर्शनकारी र दक्षिणतर्फ प्रहरी रहेको अवस्थामा झडप भइरहेको थियो । तर, पछाडि फर्केर सशस्त्र प्रहरीले ताकेर गोली चलाउँदा सय मिटर दक्षिण आफन्तको घरअगाडि गफ गरिरहेका राउतको छातीमै गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीको भनाइ छ । मृतक राउत भारत सरकारमातहत रहेको कोसी योजनाअन्तर्गत विराटनगरस्थित सम्पर्क तथा भूआर्जन कार्यालयका अवकाशप्राप्त कर्मचारी हुन् । प्रहरीको गोली लागेर पोर्ताहाका विजय खिडहरी, अनिल ठाकुर, भारदहका बन्सी खड्गासहित १२ जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । खिडहरीको छातीमा र ठाकुरको खुट्टामा गोली लागेको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसैबीच सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ राउन्ड अश्रुग्यास, रबर गोली र बुलेट गोली प्रहार गरे पनि स्थिति झन् बिग्रिँदै गएपछि स्थानीय प्रशासनले सप्तरीको भारदह क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । बुधबार दिउँसो २ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि उत्तरमा पोर्ताहा गाविस भवनदेखि पाँच सय मिटर उत्तरसम्म, पश्चिममा ट्याम्पो स्ट्यान्डदेखि पाँच सय मिटर दक्षिणसम्म, पूर्वमा कंकालिनी मन्दिरदेखि पाँच सय मिटर पूर्वसम्म र दक्षिणमा सकरदहीको पुलदेखि तीन सय मिटर दक्षिणसम्मको क्षेत्रमा कफ्र्यु लगाइएको सप्तरीका प्रजिअ वीरेन्द्रकुमार यादवले जानकारी दिए ।
Loading...
Social Buttons