Loading...
काठमाडौं, २४ भदौ ,
प्रहरी इन्काउन्टरमा मारिएका गुन्डागर्दीका नाइके कुमार घैँटेका सहयोगीले प्रतिशोध लिने योजना बनाएको प्रहरीले दावी गरेको छ । आक्रमण गर्ने योजनाबारे फोन रेकर्ड र एसएमसमेत फेलापारेको प्रहरीको भनाइ छ । आक्रमणको योजनामा संलग्न रहेको आरोपमा साजन गुरुङ र उनका सहयोगी कारजोन गुरुङलाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पक्राउ गरेको छ । उनीहरू प्रहरी इन्काउन्टरमा मारिएका डन घैँटको समूहका हुन् । साजन हत्या अभियोगमा मोष्ट वान्टेडसमेत हुन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले प्रहरीमाथि आक्रमण गर्ने योजना उनीहरूले बनाएको टेलिफोन रेकर्ड तथा एसएमएसहरू फेलापरेको बताए । ‘आक्रमणका लागि विदेशबाट समेत मान्छे बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ एसएसपी खनालले भने, ‘थप अनुसन्धान हुँदै छ ।’ प्रहरी स्रोतका अनुसार घैँटेका सहयोगी समीरमान बस्नेतले साजन गुरुङमार्फत काठमाडौंमा प्रहरीमाथि आक्रमण योजना बनाएका थिए । पक्राउ परेका कारजोन गुरुङले बस्नेत र गुरुङबीच मध्यस्तकर्ताको काम गरेको प्रहरीको भनाइ छ । यसका लागि १० लाख रुपैयाँको डिल भएकोसमेत अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घैँटे मारिएकै दिन बस्नेत उपत्यकाबाट भागेका थिए । उनले घैँटेको प्रमुख सहयोगीका रूपमा काम गर्दै आएका थिए । केही भारतीयलाई सो समूहले केही दिन कीर्तिपुरमा ल्याएर राखेको र सूचना चुहिएपछि उनीहरू भागेको प्रहरी अनुसन्धानमा खुलेको पनि प्रहरीले दाबी गरेको छ । केही बलिया आधार भेटिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरूले बताएका छन् । कपुरधारास्थित आफ्नै घरनजिकै ३ भदौमा घैँटे प्रहरीसँगको मुठभेडमा मारिएका थिए । घटनापछि घैँटेको सम्पत्तिबारे छानबिन थालेपछि उनका सहयोगीहरू आत्तिएको प्रहरीले जनाएको छ । प्रहरी आक्रामक भएपछि गुन्डाका नाइकेहरू सबैजसोले काठमाडौं छाडिसकेका छन् । केहीले भाडामा व्यक्तिहरू प्रयोग गरेर आक्रमणको योजना बनाएको प्रहरी स्रोत बताउँछ ।
साजन न्युरोडमा अन्डरग्राउन्ड
पहलमान तामाङ ‘पवन’को हत्या आरोपमा मोस्टवान्टेड रहेका साजन गुरुङ न्युरोडको एक घरमा निकै गोप्य रूपमा बस्दै आएको सूचनाका आधारमा प्रहरी मंगलबार सर्चमा गयो । प्रहरीले घर पत्ता लगायो । तर, घरमा कोही थिएनन् । सबै कोठामा ताला लगाइएको थियो । प्रहरीसँग भने गुरुङ त्यही घरभित्र गोप्य रूपमा लुक्दै आएको सूचना थियो । चारपटक घर सर्च गर्दा मात्र प्रहरीले गुरुङ बस्ने कोठा पत्ता लगायो । बाहिरबाट ताला लगाएर गोप्य रूपमा सुरुङजस्तो बनाएर गुरुङ लुकेका थिए । लामो समयदेखि उनी त्यसरी सो घरभित्र लुक्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी गरिरहेकाले उनी एक्लै सो घरमा बस्दै आएका थिए । केही आफ्ना सहयोगीलाई कहिलेकाहीँ मात्र उनले भेट्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही घरभित्र बसेर गुरुङले सहयोगीहरू परिचालन गरी धम्क्याएर असुली धन्दा चलाउँदै आएका थिए । गुरुङसँग प्रहरीले भारतीय निर्वाचन आयोगले हेमन्त गुरुङको नाममा जारी गरेको परिचयपत्रसमेत फेलापारेको छ ।
ठेक्काको कमिसन विवादमा हत्या
सडकको ठेक्का कमिसन विवादमा दुई समूहबीचको झगडामा साजनको समूहले पहलमान तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । २४ माघ ०७० मा गुरुङसहितका व्यक्तिले तामाङको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । गुरुङ फरार थिए । नुवाकोटको सामरी घर भएका तामाङको धादिङको सेमजोम गाविसमा हत्या भएको थियो । धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको थियो । हत्यामा संलग्न राजकुमार तामाङलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । मध्यपहाडी राजमार्गअन्तर्गत नुवाकोट–पोखरा सडकखण्डको २७ करोड रुपैयाँको ठेक्का ठेकेदार टंकबहादुर गजुरेलले पाएका थिए । तामाङको समूहले गजुरेललाई सहयोग गरेको थियो । तर, राज तामाङ तथा साजन गुरुङको समूहले २० लाख रुपैयाँ मागेको थियो । सोही विषयमा काठमाडौंमा पनि उनीहरूबीच झगडा भएको थियो । हत्या भएको केही दिनअघि मात्र तामाङ धादिङ गएका थिए । आफूमाथि आक्रमण हुने सूचना पाएपछि उनी धादिङबेसीबाट सेमजोममा गएका थिए । त्यहीँ पुगेर गुरुङको समूहले धारिलो हतियारले छातीमा रोपेर तामाङको हत्या गरेको थियो ।
नयाँ पत्रिकाबाट
Loading...
Social Buttons