Loading...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजनीति कम षड्यन्त्र धेरै भइरहेको बताएका छन् । तर, उनले संविधान कार्यान्वयन नगर्ने र देशलाई प्रतिगमनतिर लैजाने प्रयासलाई एमालेले कुनै हालतमा सफल हुन नदिने बताए ।
तुलसीलाल अमात्यको स्मृती दिवसका अबसरमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘देशमा अहिले जे भइरहेको, राजनीतिलाई षड्यन्त्रले थिच्ने काम र स्वाभाविक होइन, अस्वाभाविक भइरहेको छ ।’
सरकारको नेतृत्व गर्ने तयारीमा रहेको प्रचण्ड माओवादीतर्फ संकेत गर्दै उनले ‘नावाकाद’हरुको विगविगी रहेको बताए । उनले अघि भने, ‘नामका वामपन्थी कामका दक्षिणपन्थीको विगविगी बढेको छ आजभोलि । त्यसैगरी नामका लोकतन्त्रवादी, काम त अर्थोकै… ।’
एमाले अध्यक्षसमेत रहेका प्रधानमत्री ओलीले सरकार परिर्वतनलाई संविधान कार्यान्वयन हुने नदिने र देशलाई फेरि प्रतिगमनतिर लैजाने षड्यन्त्रको संज्ञा दिएका छन् । ००७ पछि संविधानसभा चुनाव नभएकोदेखि दरवार हत्याकाण्ड र माघ १९ अघि यस्तै बाटो लिइएको भन्दै उनले भने, ‘कहिले लोकेन्द्रबहादुर चन्द कहिले सूर्यबहादुर थापा प्रधानमन्त्री । अहिले पनि त्यो सुरु भइसक्यो ।’
संविधान कार्यान्वयन गर्ने जिम्मा सरकारको भएको भन्दै उनले भने, ‘सरकारमा को आउँदैछन् भने संविधान च्यातेका, पुनर्लेखन गर्नुपर्छ र षड्यन्त्रकारी भनेकाहरु ।’
‘अधिकार होइन, निहुँ खोजे’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले मधेस केन्दि्रत दलहरुको चर्को आलोचना गरेका छन् ।
संविधानमा केही कमिकमजोरी भए पनि तराईबासीको अधिकार नखोसिएको भन्दै उनले भने, ‘सम्बोधन भएन भनेको छ । सम्बोधन केही होइन, नेपालविरुद्ध निहुँ खोजेको हो ।’
मधेस केन्दि्रत दलहरुको कुनै माग नभएको उनले बताए । एमालेविरुद्ध भोट दिन पाउने भए माग छाडेर कुदेर आउने गरेको भन्दै उनले भने, ‘अब के हो माग ? माग त पुरा भइसक्यो । आइसक्नु भो । सरकारमा जान लाइन लाग्नु भएको छ ।’
-अर्को देशबाट) आउने वित्तिकै नागरिकता लिने र नागरिकता पाउनासाथ राष्ट्रपति/प्रधानमन्त्री किन नपाउने ? भनेको भन्दै उनले भने, ‘अर्को देशमा जन्मेकोले पाउँदैन । सकियो ।’
मञ्चमा रहेका एमाले नेता माधव नेपालको नाम लिँदै उनले भने, ‘माधव नेपालजी रौतहटमा हुनुहुन्छ । म ५५ वर्षमा मधेसमा छु । पारीपट्टीबाट आएर फाइफुई गरेर नागरिकता लिएर हामीलाई नै उल्टै… म चाहिँ तराईको नहुने, अस्ती आएर नागरिकता लिने चाहिँ हुने ?’
प्रधानमन्त्री ओलीले आफ्नो सरकारले वास्तै गरेन भन्ने मोर्चाको आरोप अस्वीकार गरे । उनले अघि भने, ‘तमसुकभन्दा लामो पत्र लेखेको छु । आउनुस्-आउनुस् वार्ता गरौं भनेर लखेको छु तर, सरकार परिवर्तन पर्खेर बसे ।’
शेरबहादुर देउवा र प्रचण्डलाई पनि व्यंग्य गर्दै उनले कसैलाईर् जस्तो म प्रधानमन्त्री भएपछि सबै माग पूरा गरिदिन्छु भनेर आफूलाई भन्नु नरहेको बताए । ओलीले भने, ‘के पूरा गर्नुहुन्छ हेरौंला । मधेस तपाईहरुको हो भनेर सही छाप गरिदिने ?’
‘मुलुकलाई ब्याक गियरमा ल्याउने प्रयास’
एमाले अध्यक्ष ओलीले संविधान कार्यान्वयन नगर्ने षड्यन्त्रलाई कुनै हालतमा सफल हुन नदिने बताए ।
आफ्नो सरकारले मंसिर, वैशाख र अर्को वैशाखमा गरेर तीन वटा चुनाव गर्ने योजना बनाएको र संविधान कार्यान्वयनका लागि ऐन कानुन संशोधन गर्ने लागेको बेला कांग्रेस र माओवादीले ‘सरकारले काम गर्न पाउँदैन’ भनेर रोकेको उनको आरोप छ । ‘ब्युरोक्रेसीमा फोन गरेर केही नगर्नु भनेर आदेश जारी गर्नुभो,’ उनले भने, ‘यो सरकारका लागि होइन, संविधान कार्यान्वयन नगर्ने षड्यन्त्र हो ।’
कांग्रेस र माओवादीले चैतमा चुनाव गर्ने भने पनि त्यो हुनेमा ओलीले शंका व्यक्त गरेका छन् । चैत वैशाखमै सरकार फेर्ने सहमति भएको भन्दै उनले भने, ‘बैठकमा हेलमेट लगाएर बस्नु पर्ने अवस्था छ को मन्त्री हुने भनेर, अनि चुनाव हुन्छ ?’
कांग्रेस र माओवादी वैशाखमा सरकार फेर्न लाग्ने र अर्को मंसिरमा पुगेर चुनाव त गर्न सकिएन भनेर मुलुकलाई संवैधानिक संकटमा लैजान उद्दत रहेको उनको आरोप छ ।
उनले भने, ‘एमाले अध्यक्षको हैसियतले भन्न चाहन्छु । संविधान कार्यान्वयन नगर्ने र मुलुकलाई फेरि ब्याक गियरमा ल्याउने प्रयास भएको हामीले बुझेका छौं । त्यो सफल हुन दिँदैनौं ।’
उनले अघि भने, एमाले भनेको बाख्राका घाँटीको लुर्का होइन । एमाले जस्तो पार्टी छँदाछँदै कसैले प्रतिगमनतिर लान्छु भनेर सोच्छ भने नेपाली जनताको आक्रोश त्यसले थाम्न सक्दैन । संविधान कार्यान्वयनमा एमाले दृढ संकल्पित छ ।’
सरकार गठनसँगै भएको ध्रुविकरणलाई उनले चुम्बक चार्जबाट ‘एक्टिभ’ भएपछि फलामको टुक्रा तानेजस्तै भएको बताए । उनले अघि भने, ‘म्याग्नेटले केही गर्न नसक्नेहरु बाँकी छन् । एमाले छ । एमाले नै काफी छ र सहयोगीहरु पनि छन् ।’
कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीले हतार गरेको र एमाले नेतृत्व गम्भिर नहुँदा माओवादी-एमाले गठवन्धन टुटेको बताएका छन् ।
अनलाइनखबरबाट
Loading...
Social Buttons