Latest News

नेपाली सेनाद्वारा धार्मिक क्षेत्र सरसफाइ

रामपुर (पाल्पा), २३ साउन । पाल्पामा नेपाली सेनाको चन्डी प्रसाद गणले सामाजिक एवम् धार्मिक काममा सक्रियता बढाउँदै आएको छ । जिल्लामा रहेका विभिन्न मठमन्दिरको रथयात्रा निकाल्ने क्रमसँगै नेपाली सेनाले मठमन्दिरको सरसफाइ अभियान चलाएको हो ।


मन्दिर व्यवस्थापनको आय स्रोत नभएका कारण कतिपय मन्दिर फोहर र जीर्ण बन्दै गएपछि सेनाको सहयोगले सरसफाइ र जीर्णाेद्धार गरिएको छ ।

यहाँ रहेका ऐतिहासिक मन्दिरहरू रण उजिरेश्वरी, भगवती, अमरनारायण, गणेशका साथै ऐतिहासिक पोखरीको समेत सेनाले सरसफाइ गरेको हो । दैनिक रूपमा नेपाली सेना र राष्ट्रिय सेवा दलका विद्यार्थी गरी करिब २०० जना यो अभियानमा लागिरहेका छन् ।

मन्दिरको आय स्रोत नहुनु र तानसेन नगरपालिका कार्यालयको जनशक्ति कम भएका कारण पनि पाल्पामा हुने सामाजिक कामका लागि नेपाली सेनाको प्रयोग हुँदै आएको छ । चन्डीप्रसाद गणका मेजर नैना बस्नेतले स्थानीयवासीको समन्वयमा गणले सामाजिक, धार्मिक र रचनात्मक कार्य गर्दै आएको बताउनुभयो ।

सवारी कारबाहीबाट राजस्व सङ्कलन

पाल्पामा सवारी कारबाहीबाट आर्थिक वर्ष २०७२÷७३ मा रु ६१ लाख ६० हजार ७०० बराबरको राजस्व सङ्कलन भएको छ ।

नियम विपरीत सवारी चलाउने एक हजार ४८० ट्रक र टिपरबाट रु पाँच लाख ३७ हजार ३००, तीन हजार ९३९ बसबाट रु १४ लाख ४६ हजार २००, एक हजार ५०३ ट्र्याक्टरबाट रु पाँच लाख ४४ हजार ८००, चार हजार कार, जिप र भ्यानबाट रु १२ लाख १४ हजार २०० र पाँच हजार २६९ मोटरसाइकलबाट रु २४ लाख १७ हजार ९०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय, पाल्पाका प्रमुख प्रविण आचार्यले जानकारी दिनुभयो ।

यस्तै मापसेबाट आव २०७२÷७३ मा १३७ सवारी चालकबाट रु एक लाख ३७ हजार राजस्व सङ्कलन भएको छ ।

ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम चलाएका कारण जिल्लामा अघिल्लो वर्षको तुलनामा राजस्व सङ्कलनमा कमी आएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

Loading...