Latest News

नेपाल–भारत सम्बन्धमा चोट पुग्नसक्छ : भारतीय दूतावास -

काठमाडौं— भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन (डिसीएम) विनयकुमारले सप्तरी जिल्लाका मधेसवादी दलका नेताहरुलाई आन्दोलन चर्काउन आग्रह गरेको भन्ने समाचारप्रति दूतावासले गम्भीर आपत्ति जनाएको छ।

दूतावासका डिसीएम विनयकुमारले सबै पार्टीका जिल्ला नेतासँग भेटगरेको दूतावासले दाबी गरेको छ। 'डिसिएमले सबै दलका नेतासँग छलफल गरेका हुन्', भारतीय दूतावासकी प्रवक्ता रुबी जस्पृत शर्माले नागरिकन्युजसँग भनिन्, 'त्यो छलफल वास्तवमा भारत सरकारको लगानीमा सञ्चालित विकास योजना केन्द्रित थियो।'

जिल्ला तहका नेतासँगको भेटमा विकास योजनाबारे मात्र कुराकानी भएको उनले बताइन्। 'भेटमा कुनै राजनीतिक विषयमा कुराकानी भएको छैन। हाम्रा डिसिएम भारतीय लगानीका विकास योजनाबारे कुराकानी गर्न तथा स्वास्थ्य शिविरका लागि त्यहाँ पुग्नुभएको हो।'

मधेस आन्दोलन चर्काउन उक्साएको भन्ने समाचार तथ्यहीन भएको भन्दै उनले त्यस्ता समाचारले नेपाल—भारत सम्बन्धलाई अप्ठ्यारो पार्न सक्ने उल्लेख गरिन्। 'केही मिडियामा जुन किसिमले समाचार आएको छ त्यसमा कुनै सत्यता छैन। यस्तो पीत पत्रकारिताले नेपाल—भारत सम्बन्धमा चोट पुग्न सक्छ।'

मंगलबार साँझ सप्तरीको राजविराज पुगेका भारतीय दूतावासका डिसीएम विनयकुमारले जिल्ला तथा केन्द्रीय स्तरका मधेसी नेतासँग राति सामूहिक एवं एक–एक नेतासँग भेटगरी घोषित आन्दोलनलाई चर्काउन उक्साएको समाचारहरु अाएका थिए।

सप्तरीमा भारतीय दूतावास लगानीका पाँच योजना दश वर्षदेखि अलपत्र छन्। ती योजनाको प्रगतिबारे भारतीय दूतावासले चासो राख्दै आएको प्रवक्ता शर्माले उल्लेख गरिन्।

Loading...