Latest News

कम्ता थिएनन् महात्मा गान्धी ! आफ्नै भतिजीसँग निर्वस्त्र भएर सुत्थे

काठमाडौं । भारतका महान् नेता मोहनदास करमचन्द गान्धीले भारतलाई बेलायती उपनिवेशबाट मात्र मुक्त बनाएनन्, विश्वलाई शान्ति र अहिंसाको पाठ पनि सिकाए । त्यसैले, उनलाई भारतले बापु, सन्त, राष्ट्रपिता तथा महात्मा गान्धीजस्ता उपनाम दियो । तर, गान्धीको जीवनबारे अनेक विवाद पनि बाहिर आएका छन् ।
आजको नयाँ पत्रिकामा खबर छ–उनीमाथि लेखिएका अधिकांश पुस्तकले महात्मा गान्धीको कैयौँ स्त्रीसँग सम्बन्ध रहेको दाबी गरेका छन् । तीमध्ये गान्धी र सरलादेवीको सम्बन्धलाई लिएर सबैभन्दा बढी चर्चा भएको छ । रवीन्द्रनाथ टेगोरकी ठूली बहिनीकी छोरी सरला र गान्धी विवाह गर्न चाहन्थे भन्ने पनि चर्चा चल्यो ।

गान्धीका ७१ वर्षीय छोरा राजमोहन गान्धीले लेखेका छन्– विवाहित र चार सन्तानका पिता भए पनि गान्धी सरलादेवीसँगको प्रेममा थिए । त्यति मात्र होइन, उनी सरलादेवीसँग विवाह गर्न पनि तयार थिए । सरला गान्धीकी श्रीमती कस्तुरबाभन्दा निकै प्रतिभाशाली र बुद्धिमानी थिइन् । उनी स्वतन्त्रता संग्राममा सक्रिय पनि थिइन् । तर, सरलाले यस विषयमा आफ्नो आत्मकथामा भने केही लेखेकी छैनन् ।
उता, जेड एडम्सले सन् २०१० मा लेखेको पुस्तकमा उल्लेख छ– गान्धी युवतीहरूसँग नुहाउने र सुत्ने गर्थे । उनी आफ्नो आश्रममा रहेका विवाहित व्यक्तिहरूलाई अलग–अलग रहन निर्देशन दिन्थे । यौनइच्छा हुनेबित्तिकै गान्धीले चिसो पानीले नुहाउन निर्देशन दिन्थे ।
जति अहिंसा र शान्तिको कुरा गरे पनि गान्धीले आफ्नी पत्नीलाई भने बारम्बार पिट्ने गरेको पनि जेड एडम्सको पुस्तक ‘गान्धी नेकेड एम्बिसन’मा समावेश गरिएको छ । इतिहासकार जेड एडम्सले कैयौँ वर्ष श्रीमतीसँग यौन सम्पर्क नगरेका गान्धीले बारम्बार आफ्नी श्रीमतीलाई पिट्ने गरेको उल्लेख गरेका छन् ।
एडम्सकै किताबमा गान्धीले आफ्ना पितालाई सम्मान नगर्ने पनि उल्लेख छ । एडम्सले किताबमा दाबी गरेका छन्– जब गान्धीका पिता जीवनको अन्तिम सास लिइरहेका थिए, त्यतिवेला गान्धी सेक्समा भुलिरहेका थिए । उनले दुई बेलायती महिलासँग आध्यात्मिक विवाह गरेका थिए । यी दुवै महिला गान्धीकै आश्रममा बस्थे ।
गान्धी आफ्नी १२ वर्षीया भतिजी र एक अर्की महिलासँग निर्वस्त्र सुत्थे । आफ्नो इच्छा नियन्त्रित गर्न यसो गरेको गान्धीले आफ्नो आत्मकथामा पनि लेखेका छन्, तर एडम्सले यसको विरोध गरेका छन् ।
गान्धीले नवविवाहितालाई आफ्नो आत्मा पवित्र बनाएर राख्न, ब्रह्मचार्य पालना गर्न निर्देशन दिन्थे । त्यतिवेला नै उनको यो विचारको विरोध भएको थियो । जवाहरलाल नेहरूले यसको विरोध गर्दै भनेका थिए– यो असामान्य तथा अप्राकृतिक कुरा हो । यस्तो हुनै सक्दैन ।
गान्धीका छोराले उनलाई छोडिदिएका थिए । गान्धीलाई छाडेपछि उनका छोराले इस्लाम धर्म मानेका थिए ।
जेड एडम्सले गान्धी बेलायती सेनामा संलग्न भएको पनि जनाएका छन् । उनी बेलायती सेनामा सर्जेन्ट मेजर भएको र युद्धमा राम्रो गरेकाले सरकारबाट सम्मानित पनि भएको पुस्तकमा उल्लेख छ ।
अहिंसा र शान्तिका लागि सधैँ प्रेरणा दिने भनेर चिनिएका गान्धीले हिटलरलाई बारम्बार पत्र लेख्ने गरेको र हिटलरको प्रशंसा गर्दै सफलताको कामना गर्ने गरेको पनि एडम्सले लेखेको पुस्तकमा उल्लेख छ ।
केही समयअघि बाहिर आएका चिठीले गान्धी समलिंगी थिए कि भन्ने आशंका जन्माइदिएको छ । दक्षिण अफ्रिकाका बडिबिल्डर हर्मन कालेनबाक र गान्धीले एक–अर्कालाई पठाएका चिठीमा यी दुईबीच भएको शारीरिक सम्पर्कबारे उल्लेख छ ।
गान्धीले यहुदीलाई सामूहिक आत्महत्याको संकल्प लिने खतरानक सल्लाह दिएका थिए । इतिहासकार एडम्सका अनुसार गान्धीले हिटलरलाई भनेका थिए, ‘मलाई तपाईंको बहादुरी या देशभक्तिबारे कुनै सन्देह छैन, न त म तपाईंका विरोधीले प्रचार गरेका झुटा कुरामा विश्वास गर्छु ।’

Loading...