Latest News

यसकारण आजित छन् गगन, बदनाम गराउन बने यस्ता ‘स्क्यान्डल’

काठमाडौं, जेठ ८ । सार्वजनिक रुपमा अभिव्यक्ति दिएर होस या नदिएर नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापालाई एक पछि अर्को ‘भ्रामक समाचार’बाट आजित बनाउने काम भएको थापाकै सामाजिक सञ्जालबाट देखिएको छ ।

लोकतान्त्रिक जनआन्दोलन ताका सडकमा गणतन्त्रको नारा लगाउँदै सडक नेतृत्व गर्दै प्रखर भाषणकला मार्फत चिनिएका थापालाई पछिल्लो समयमा अनलाईन संचारमाध्यममा आएका अपुष्ट समाचार मार्फत चर्चामा छन् ।

केही दिन अघि मात्र नेपाल सन्देश डटकमले २०७३ वैशाख २८ गते मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा व्यक्त भनाइ भन्दै नेपाल–भारत सम्वन्धका बारेमा नेपाली जनतालाई होच्याउने र भारतीय पक्षपोषण गर्ने गरि प्रकाशन भएको समाचारमा कुनै सत्यता नभएको आफ्नो अनुसन्धानबाट पुष्टी भएको भन्दै थापा समक्ष माफि नै माग्यो ।

समाचारको स्रोतमाथि भर परेर प्रकाशन भएको समाचारका कारण नेपाली काँग्रेसका नेता थापामाथि परेको अपुरणीय क्षतिका लागि नेपाल सन्देश डटकमले दुःख समेत व्यक्त गरेको छ ।

पछिल्लो समयमा खुलेका अनलाइन संचारमाध्यमहरुमा गगनले दिएका अभिब्यक्ति मात्र नभइ चियागफमा बोलेका कतिपय कुराहरु ‘ब्यानर’ बन्छन् र  समाचारहरु ब्यापक हेरिने गर्छ  । तर अक्सर समाचारहरु तोडमोड गर्ने र बङयाउने गरिएकाले संचारमाध्यमको विश्वसनीयतामाथि प्रश्न तेर्सिन थालेको छ ।

सामाजिक संजाल र अनलाईन संचारमाध्यमबाट पीडित हुने गगन थापा एक प्रतिनिधि पात्र मात्र हुन् । कतिपय पूर्वाग्राही समचारहरुबाट अन्य दलका नेताहरुलाई टाउको दुखाई बनेको छ । ‘बोल्दै नबोलेका कुरा’ एउटा अनलाईनमा पोष्ट हुने बित्तिकै आफ्नो स्रोत नै नखुलाई अन्य अनलाईनले पोष्ट गर्ने प्रबृत्तिले राष्ट्रपति देखि प्रधानमन्त्री समेत आजित छन् ।

नयाँ शक्ति काण्ड

यति मात्र होइन नेपाली कांग्रेसको १३ औं महाधिवेशन अघि ‘गगन थापा नयाँ शक्तिमा’ भन्ने किसिमका अपुष्ट समाचारले थापालाई फेरि टाउको दुखाइ भयो । त्यसैबेला प्यूठानमा नेपाल प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा स्पष्टिकरण नै दिनुपर्‍यो ।

पत्रकारको प्रश्नमा थापाले सो कुरा निराधार भएको बताउँदै हल्लाको पछि नलाग्न आग्रह गरे । उनले भने, ‘त्यो केवल दिवा सपना मात्र हो । म यस्ता कुराको पछि लाग्दिन । पार्टीको महाधिवेशनमा केन्द्रीत छु ।’नेता थापाको समाचार विकाउन र अनलाईनलाई चर्चामा ल्याउन अपुष्ट समाचारको पछि लागेर नेपाली पत्रकारिता बदनाम भइरहेको उनकै शुभेच्छुकहरुले बताउँदै आइरहेका छन् ।

घैंटेको हत्या हुँदा गगनको चर्चा

गत भदौंमा ‘गुन्डा नाइके’ भनेर चिनिएका कुमार श्रेष्ठ ‘घैंटे’लाई प्रहरीले हत्या ग¥यो । हत्या मानवअधिकारको चरम उल्लघंन भयो भनेर गगनलगायत नेताहरु जगदिश्वर नरसिहं केसी, भीमसेनदास प्रधान मानवअधिकार आयोगमा गएर कुरा उठाए । तर मानवअधिकारको विषय उठाएकै नाममा अनलाईन संचारमाध्यमहरुमा गगनका विरुद्ध अनर्गल समाचारहरु प्रकाशित भए जसले गगनलाई हैरानी बनायो ।

‘जो सुकै नागरिकलाई पनि इन्काउन्टर  हत्या गरिनु मानवअधिकारको चरम उलंघन’ भनेर अभिव्यक्ति दिंदा गगनलाई अपराधीलाई संरक्षण गरेको आरोप लाग्यो । अनलाईन संचारमाध्यम र सामाजिक संजालहरु उनी विरुद्ध खनिए तर ‘समाचार विकाउ’का नाममा आफूविरुद्ध भएको प्रचारबाजीका कारण गगन दुःखी बने । उनले फेसबुकमा लेखेका छन्, ‘क्षमा गर्नुहोला ःराजनीतिक अपराधिकरण र गैरन्यायिक हत्या दुवैसँग असमत छु ।’

जसको नाम उसको बदनाम

कुशल भाषणकला मार्फत युवाहरुमाझ लोकप्रिय बनेका गगनको चर्चा जति छ उतिनै आलोचना पनि भइरहेको छ । ‘बंशवाद’को विरुद्धमा भन्दै कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेद्वार बनेका उनलाई ‘समय नपुगेको’ र ‘महत्वाकांक्षी’ भएको भनेर चर्को आलोचना भयो ।

‘मेरो नशामा बीपीको रगत बगेको छैन तर बीपीको विचार बगेको छ । जसले मोहन शम्शेरलाई पुर्पुरोमा लेखेर शासन गर्ने दिन गए भन्ने साहस राख्थे, म तिनै बीपीको सच्चा अनुयायी हुँ ।’ साथै ‘हामीसँग उमेर छ तर समय छैन् ।’ भन्ने जस्ता सुन्दर अभिव्यक्ति दिएर चुनावी मैदानमा उत्रिएका गगनले ५ सय ८० मत पार गर्दा उनको साहसमाथि ताली बर्षीयो ।

गगनले राखेका विचार तथा अभिव्यक्तिहरु युवाहरुलाई मन परयो तर प्रतिस्पर्धीहरुलाई टाउको दुखाई बन्यो । सामाजिक जागरण र युवालाई प्रोत्साहित गर्ने उनका नमुना कामहरुको सर्वत्र प्रसंसा भइरहँदा उनलाई बदनाम गराउनेहरु सक्रिय देखिएको उनकै सहयोगीहरु बताउँछन् ।

गगन निकटका एक सहयोगी भन्छन, ‘कतिपय पात्रहरु यस्ता छन् जो गगनको नामलाई जोडेर ‘समाचारको खेती’ गर्छन ।’ अपुष्ट समाचारकै विषयलाई लिएर गगनले पछिल्लो फेसबुक स्टाटस लेखे ‘ बदनियतका साथ एउटा समाचार छाप्छ, प्रश्न गर्न साथ दुख व्यक्त गर्छ, केही बेर आफ्नो पोर्टलमा राखेर हटाइहाल्छ । अनि जवाफ मैले दिंदै हिड्नु पर्छ । वाह !!’

Loading...