Loading...
काठमाडौं, १० चैत । विदेशबाट स्वदेश फर्कने व्यक्तिले के–के सामानमा छुट पाउँछन् भनेर चासो रहन सक्छ । विशेष गरे खाडी मुलुकमा गएका नेपाली कामदारहरूलाई के-के सामाउन निशुल्क स्वदेश ल्याउन पाइने हो भनेर जानकारी नहुन सक्छ । भन्सार विभागले त्यसका लागि समय समयमा जानकारी दिने गरेको छ ।
पछिल्लो पटक विभागले भन्सारसम्बन्धी केही नियममा परिवर्तन गरेको जनाएको छ ।
लुगाफाटा, बिछ्यौनादेखि गृर्हस्थीका पूराना सामान र औषधि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर नलाग्ने विभागले जनाएको छ ।
शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल ल्याउन पाइन्छ । घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ, ट्याबलेट वा ल्यापटप वा कम्प्युटर पनि एक–एक थान ल्याउन पाइने विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र १ लाख रुपैयाँ मूल्यसम्मको जडित साथमा ल्याएको गहना र पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थानमा पूर्ण भन्सार छुट रहेको छ।
विदेशमा ६ महिनाभन्दा बढी बसेर फर्किने यात्रुलाई पाँचसय ग्रामसम्म सुन तथा सुनका गहना र एक किलो ग्रामसम्म चाँदी तथा चाँदीका गहना प्रतिग्राम ४ सय २० रुपैयाँ महसुल तिर्ने गरी ल्याउन पाउने अवसर पनि रहेको छ ।
६ महिनाभन्दा कम समय बसेर फर्किने यात्रुलाई ४ सय ग्रामसम्मका सुनका गरगहना र ५ सय ग्रामसम्म चाँदीका गरगहना प्रतिग्राम ६ सय ३० रुपैयाँ महसुल तिर्ने गरी ल्याउन पाउने भन्सार कार्यालयले जनाएको छ ।
एनआरएनको हकमा भने ४ सय ग्राम मात्र सुनको गरगहना ल्याउन पाउने र प्रति ग्राम ६ सय ३० रुपैयाँ कर तिर्न पर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै चाँदीको हकमा भने ६ महिनाभन्दा बढी समय विदेशमा बसेर आउनेको लागि १ हजार ग्रामसम्म र ६ महिना भन्दा कम अवधि बसेर नेपाल आउनेको लागि ५ सय ग्राममा क्रमशः प्रति ग्राम ४ सय २० रुपैयाँ र ६ सय ३० रुपैयाँका दरले शुल्क लाग्ने भन्सार कार्यालयले जनाएको छ ।
त्यस्तै शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान,घरायसी प्रयोगका सामान्य किसिममा उपकरण जस्तै मिक्सर, जुसर, सिलाई मेसिन, ग्यास टेबुल इस्त्री (आइरन), राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट हुनेछ ।
डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सक्ने व्यवस्था कार्यालयले गरेको छ ।
सात किलोग्रामसम्म खाद्य परिकार, १.१५ लिटरसम्म मदिरा ल्याउन पाउने छन् । नेपाल सरकारले दिएको सुविधाभन्दा बढी मदिरा ल्याएमा भने कब्जा हुनेछ ।
सामानमा यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखेर भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति पनि दिन सक्ने छन् । विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई ३ सय ५० अमेरिकी डलरसम्मको सामान पठाएमा प्रमाण हेरेर समदर भन्सार शुल्क मात्र लाग्ने छ ।
सौगातको रुपमा नेपाली नागरिकले विदेश जाँदा नेपालमा उत्पादित पचास हजार मूल्यसम्मका मालसामानमा महसुल लाग्दैन । कुनै नेपाली नागरिकको विदेशमा बसोबास गरिरहेको समयमा मृत्यु भएको हो भनी प्रमाणित भएमा पनि निज र निजको परिवारले निजी प्रयोग गरेको पुराना सामानहरु स्वदेशमा फिर्ता ल्याउँदा पनि सम्पूर्ण महसुल छुट हुने भन्सार कार्यालयले जानकारी दिएको छ।
उल्लेखित सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई–दुई थान सम्ममा महसुल पूर्ण छुट हुनेछ । नेपाल सरकारले दिएको सुविधाभन्दा बढी सामान ल्याउँदा भने तोके बमोजिमको महसुल तिर्नुपर्ने भन्सार ऐन नियममा व्यवस्था गरिएको छ ।
मलेसिया तथा खाडी मुलुकको हकमा एक वर्ष भन्दा बढी काम गरी नेपाल फर्केका कामदारलाई भने ३२ इन्च भन्दा कम इन्चको एलइडीमा भन्सार महसुल लाग्ने छैन । यो नियम नेपाल सरकारबाट श्रम स्वीकृत लिएर गएका कामदारको हकमा मात्र लागू हुनेछ ।
विदेश गएको समय र आउँदाको समय हेरेर अवधि मूल्याङ्कन गर्ने गरिन्छ ।
त्यस्तै ६ महिनासम्म विदेश बसी नेपाल फर्केकाहरुको लागि २२ देखि २९, ३० देखि ३२, ३३ देखि ३९, ४० देखि ४९ र ५० इन्च भन्दा माथिका एलईडीमा क्रमशः प्रति इन्च २ सय, ३ सय, ४ सय ५०, ५ सय ५०, ६ सय र १२ सय ५० रुपैयाँ कर लाग्नेछ ।
६ महिनाभन्दा बढी विदेश बसेर नेपाल फर्केकाहरुको लागि क्रमशः २२, २३ देखि २९, ३० देखि ३२, ३३ देखि ३९, ४० देखि ४९ र ५० इन्च भन्दा माथिमा क्रमशः प्रति इन्च १ सय ५०, २ सय ५०, ४ सय, ५ सय, ५ सय ५० र १२ सय रुपैयाँ कर लाग्नेछ ।
ल्यापटप, फ्रिज र अन्य सामानको भने मूल्याङ्कन हेरी महसुल लिइने कार्यालयले जानकारी दिएको छ । नेपाली कामदारले मलेसिया तथा खाडी मुलुकबाट फर्कदाँ तीनवटा ब्ल्याङ्केट ल्याएमा दुईवटासम्मको सम्पूर्ण भन्सार महसुुल छुट दिइने र अर्को एउटामा भने १ सय ५० रुपैयाँ लिइने पनि भन्सार कार्यालयले जानकारी दिए ।
Loading...
Social Buttons