Latest News

राजनीतिक संयन्त्रमा मोर्चाको कडा शर्त, नमाने ओलीको भ्रमण असफल गरिदिने धम्की

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण शुरू गर्नु भन्दा पहिले सीमांकन लगायत विषयमा समाधान खोज्न राजनीतिक संयन्त्र बनाउने प्रयास शुरू गरेका छन् ।
मंगलबार संसदमा भने बमोजिम प्रधानमन्त्री ओलीले आज राजनीतिक संयन्त्र बनाउनको लागि बैठक पनि आह्वान गरेका छन् ।madesi-morcha-638x330
राजनीतिक संयन्त्र बनाउनको लागि आजै दिउँसो तीन बजे बालुवाटारमा मधेशी मोर्चाको कार्यदल र तीन दलको कार्यदलको संयुक्त बैठक बोलाएका छन् ।
यो बैठक भन्दा पहिले आज दिउँसो १ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि डाकेका छन् । मधेशी मोर्चाको सीमांकन लगायत विषयलाई सम्बोधन हुनेगरि आपसी सहमतिको आधारमा राजनीतिक संयन्त्र बनाउने प्रयास गरिने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
मधेशी मोर्चाले भने राजनीतिक संयन्त्र बनाउनु अघि प्रधानमन्त्री सामु कडा शर्तहरू राख्ने योजनामा रहेको बुझिएको छ । मोर्चाले सीमांकनमा मधेशमा दुई प्रदेश हुने गरि टीओआर राख्न दबाब दिने बताईएको छ ।
मोर्चाका एक प्रमुख घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजनीतिक संयन्त्र बनाउनु भन्दा पहिले केही आवश्यक शर्त पूरा गरिए मात्र संयन्त्रमा मोर्चा बस्ने बताए । मोर्चाको आयोजित एक कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका सदभावना अध्यक्ष महतोले विमानस्थलमा पत्रकारहरूसंग कुरा गर्दै मोर्चाको शर्त बारे खुलासा गरेका छन् ।
राजनीतिक संयन्त्र बनाउनु भन्दा पहिले शहीद परिवारको लागि घोषणा गरिएको १० लाख दिनु पर्ने, घाईतेहरूको उपचारको सम्पूर्ण खर्च सरकारले उपलब्ध गराउनुपर्ने र आन्दोलनको क्रममा भएका घटनाहरूमा संलग्न मोर्चाका कार्यकर्ताहरूको तत्काल रिहाई हुनुपर्ने महतोले बताएका छन् ।
उनले सीमांकनलाई मोर्चाको बटमलाईन बताउंदै प्रस्तावित राजनीतिक संयन्त्रको टीओआरमा दुई प्रदेश उल्लेख गर्नैपर्ने बताए । राजेन्द्र महतोले दुई प्रदेशको स्पष्ट अवधारणा नआए मोर्चाले राजनीतिक संयन्त्रमा हस्ताक्षर नगर्ने चेतावनी दिएका छन् ।
महतोले प्रधानमन्त्रीको भारत भ्रमणको सफलता मधेशीको मांग सम्बोधनमा भरपर्ने बताएका छन् । उनले मधेशी मोर्चाको मांग पूरा गरेर भारत भ्रमणमा मात्रै जान सुझाव दिएका छन् । महतोले मधेशीको मांग पूरा गरे बिना भारत भ्रमणमा गए भ्रमण पूर्णतः असफल हुने चेतावनी दिए ।
Loading...