Latest News

यी हुन् खाने तेलमा कालोबजारी गर्ने उद्योगी नरेश राठी

naresh rathiविराटनगर, २१ कात्तिक– विराटनगरमा उद्योगले नै एउटै ब्याच नम्बरमा दोहोरो मूल्य राखेर खाने तेलको कालोबजारी गर्ने गरेको खुलासा भएको छ । स्थानीय चन्द्रशिव राइस एन्ड आयल मिलले उत्पादन गर्ने घैला छाप तोरीको तेलमा यस्तो कालोबजारी हुने गरेको पाइएको हो ।
प्याकेटको ब्याच नम्बर एउटै राखी मूल्य भने फरकफरक राखेर कालोबजारी गर्ने गरिएको छ । सरकारी टोलीले बजार अनुगमनको क्रममा उद्योगबाट बाहिर पठाउने भन्दै प्रतिलिटर २ सय २० रुपैयाँ मूल्य अंकित गरेको फेला पारेको छ । उद्योगले ब्याच नम्बर ३० अक्टोबर २०१५ को मूल्य एक सय १६ राखेको छ ।
सोही ब्याच नम्बरमा नोभेम्बर २०१५ को मूल्य दुई सय २० रुपैयाँ अंकित गरेको छ । यसरी एउटै ब्याच राखेर दोहोरो मूल्य राख्न पाइँदैन । उद्योगले ब्याच नम्बर एउटै राखेर स्थानीय बजारका लागि भने एक सय १८ रुपैयाँ मूल्य तोकेको छ । राइस मिलका व्यवस्थापक नरेश राठीले भने, ‘हामीले काठमाण्डुका लागि मूल्य बढाएका हौँ । काठमाण्डुका व्यापारीले मूल्य बढाएर पठाउनू भनेकाले बढाइएको हो ।’
उनले विराटनगरमा पनि दुई सय २० रुपैयाँ मूल्यकै तेल बिक्री गरिने बताए । तोरी तेलको मूल्य दुई साताअघिसम्म एक सय ७० रुपैयाँमात्र थियो । –अन्नपूर्ण पोस्टबाट
Loading...